बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष हुन्, उपेन्द्र पौड्याल । तीन दशक लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहेका पौड्याल हाल नबिल बैंकको अध्यक्ष समेत रहेका छन् । डेढ दशक बढी एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरेका पौड्यालसंग स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल व्यवस्थापक संघ, होटल लगायत क्षेत्रमा काम गरेको अनुभव छ । नेपाली बैंकिङ क्षेत्रमा उनले पृथक छाप बसाएका छन् । उनै पौड्यालसँग नेपालको बैंक तथा वित्तीय संस्था वर्तमान अवस्था, बैंकिङ क्षेत्रमा देखिएका चुनौती र भावी योजनाबारे नेपालप्रेसकर्मी रिता राउतले कुराकानी गरेकी छिन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंशः
–तपाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नबिल बैंकको अध्यक्ष पनि हुनुहुन्छ । अहिले नेपाली बैंकिङ क्षेत्रको वर्तमान अवस्था कस्तो छ ?
नेपालको बैंकिङ क्षेत्र बाहिर हल्ला गरे जसरी संकटको अवस्थामा छैन । मेरो अनुभवमा नेपालको बैंकिङ क्षेत्र अहिलेसम्मकै अप्ठ्यारो परिस्थितिमा भने छ ।
हाम्रा बाह्य क्षेत्रहरू बलिया नै छन् । हामीसँग पैसा छ । अरू फन्डामेन्टलहरुमा त्यति ज्यादै ठूलो अप्ठ्यारो अवस्था छैन । यसलाई माथि ल्याउन सकिन्छ । एक–दुई वर्षको समय लाग्ला । कुनै बैंकका एक वर्षको, दुई वर्षको नाफा जाला । के फरक पर्छ ? एक/दुई वर्ष नाफा नकमाउनु, लाभांश नदिनु त्यो संकट होइन । अप्ठ्यारो अवस्था हो ।
अहिले लगानी बढ्न सकेको छैन । लगानी नबढ्दैमा र केही समस्याहरू देखिँदैमा बैंकिङ क्षेत्र भोलि कोल्याप्स नै हुन्छ कि भन्ने होइन । तर, हामी एकदमै ढुक्क हिसाबले बस्न भने हुँदैन ।
कतिपय बैंकले केही वर्षदेखि लाभांश दिएका छैनन् । ४–५ वटाले त ५–६ वर्षदेखि दिन सकेका छैनन् । यो सबैले बुझ्नुपर्ने कुरा छ । अब हामीले एउटै न्यारेटिभ बोकेर हिँड्न त भएन । ब्याड प्लेयरहरू छन् । कतिले बदमासी गरेका पनि छन् । त्यस्तोलाई तह लगाउन त सेन्ट्रल बैंक छ नि ।
फेरि बैंकहरुलाई पनि नाफामुखी भए, यिनीहरू त नाफाखोर भए भनेर आरोप लगाइन्छ । विश्वमै हेर्ने हो भने बैंकहरुको नाफा राम्रै हुन्छ । किनकि अर्थतन्त्रका अन्य सूचकहरू नबिग्रिकन बैंक बिग्रिँदैन । अब अहिले बैंकको नाफा छैन । अर्थतन्त्रका अरू कुराहरू विस्तारै बिग्रिँदै गयो । त्यसले गर्दा अहिले बैंकहरुमा अप्ठ्यारो अवस्था छ ।
अमेरिकाका बैंकहरुमा समस्या आए जसरी नेपालमा आउने सम्भावना कतिको छ ?
त्यहाँ र यहाँको अवस्था फरक छ । हाम्रोमा कोल्याप्स हुने खालको समस्याहरू छैनन् । त्यस कारणले गर्दा अमेरिकाका बैंकहरुमा देखिएको समस्या जस्तो नेपालमा आउँदैन ।
बैंकिङ क्षेत्र ‘च्यालेन्जिङ पिरियड’ छ । हामी पहिलाकै स्थितिमा छैनाैँ । त्यो स्थितिमा ल्याउन हामीले कोसिस गर्नुपर्छ । सतर्क भएर काम गर्नुपर्छ ।
बैंकिङ क्षेत्र राष्ट्र बैंकको सूक्ष्म निगरानीमा छ । राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाइ नजिकबाट नियालिरहेको छ । केही सामान्य समस्या आयो भने राष्ट्र बैंकले त्यसमा सुधारका लागि कलम चालिहाल्छ ।
–अहिले बैंकहरुमा तरलता थुप्रिएको छ । बैंकहरुले लगानी बढाउन सकेका छैनन् । लगानी बढाउनका लागि कस्तो योजना आवश्यक छ ?
अब लगानी बढाउनको लागि हामीले देशका तुलनात्मक लाभ भएका एरियाहरूलाई विस्तारै बढवा दिनुपर्छ । तत्कालदेखि लामो समयका लागि आवश्यक देखिएका छन् । ती एरियाहरू विस्तारै विकास गर्दै जानुपर्छ ।
हाइड्रोपावरमा आज जसरी लगानी गरिएको छ तर भोलि भारतले किन्दिएन अथवा मूल्य घटाऊ भनेर भन्यो भने हामी कहाँ लगेर जाने भन्ने कुराहरू छ । यसमा राजनीतिक नेतृत्वको धेरै ठूलो भूमिका हुन्छ । त्यसबारे पनि सोच्न आवश्यक छ ।
नेपालको तुलनात्मक लाभ पर्यटन क्षेत्रमा छ । पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नको लागि राज्यले यसलाई इन्फ्रास्ट्रक्चरमा इन्भेस्ट गर्दिनुपर्यो । हामीले यस क्षेत्रका लागि धेरै प्रमोट गर्न सकेका छैनौँ । इन्फ्रास्ट्रक्चर डेभलप गर्न सकेका छैनौँ ।
अन्तर्राष्ट्रिय एयरपोर्ट र ठूलो एयरपोर्ट बनाउने भनेको छ । कतिपय बनाएर सञ्चालनमा ल्याउन सकिएको छैन । यस्तो अवस्थामा निजगढमा एयरपोर्ट बनाउने भनिएको छ । अब कुन लेभलमा बनिरहेको छ र त्यसको उपभोग कसरी गर्ने भन्नेबारे राज्यले ध्यान दिनुपर्छ ।
पूर्वाधारमा लगानी बढाउने हो भने पर्यटन आगमनको संख्या थप बढ्नेछ । अहिले हाम्रोमा वार्षिक १०–१२ लाख पर्यटक आइरहेका छन् । वार्षिक ५० लाख पर्यटक पुर्याउन हामीलाई गाह्रो छैन । यसो गर्न सके नेपालको मुहार कहाँबाट कहाँ पुग्छ ।

भारतीय पर्यटक आगमनको संख्या उल्लेख्य नै रहेको छ । तर, चिनियाँ पर्यटक भने अपेक्षा अनुसार आउन सकेका छैनन् । हामीले चिनियाँ पर्यटकलाई व्यवस्थापन गर्नुपर्छ । चिनियाँ पर्यटकलाई नेपाल ल्याउनका लागि चीनमै गएर प्रचारप्रसार गरेर भएपनि हामीले पर्यटक ल्याउन सक्याैँ भने देशको मुहार फेरिन्छ ।
न हाम्रोमा पर्यटक ल्याउनका लागि ध्यान छ न त पूर्वाधार बनाउनमै जोड दिइएको छ । हाम्रोमा पर्यटकीय गन्तव्य स्थल पुग्ने राम्रा रोड बनेको खै ? काठमाडौंमा पैसा सिध्याउनलाई भएको कालोपत्रेमा कालोपत्रे थपेको छ, थपेको छ । आवश्यक परेको ठाउँमा पूर्वाधार नै बनाइएको छैन । निजी क्षेत्रलाई मात्र गाली गरेर हुन्छ ? निजी क्षेत्रलाई गाली होइन काम गर्नुपर्यो ।
–कुनै बेला सबैभन्दा आकर्षक क्षेत्रको रूपमा हेरिएको बैंकिङ क्षेत्र यतिखेर समस्याको भुमरीमा देखिन्छ । घट्दै गइरहेको नाफा, बढ्दै गइरहेको खराब कर्जा र जनशक्ति पलायनले बैंकिङ क्षेत्रलाई दिनप्रतिदिन कमजोर बनाइरहेको छ । यी सबै समस्याहरूलाई समाधान गर्न कसले कस्तो भूमिका खेल्नुपर्छ ?
बैंकिङ क्षेत्रमा अहिले ‘नन–पर्फर्मिङ लोन’को धेरै ठूलो समस्या छ । ‘नन–पर्फर्मिङ लोन’ बढिरहेको छ । त्यसमा सरकारको सहयोगको आवश्यक छ ।
त्यसबाहेक सरकारले पनि समस्यामा पारिरहेको छ । कन्स्ट्रक्सन सेक्टरमा सरकारले पैसाहरू भुक्तानी गरेको छैन । अनुदानको पैसा पनि सरकारले दिएको छैन ।
बैंकिङ क्षेत्रमा एनपीए लेभललाई घटाउनको लागि सरकारले दिन बाँकी भुक्तानीहरू सबै एक तलमा दिनुपर्छ । भुक्तानी गर्नुपर्छ । त्यसपछि सरकारले लामो समयका लागि हाम्रा युवाहरूलाई यहाँ रोक्ने योजनाहरू ल्याउनु पर्छ ।
बैंकिङ क्षेत्र सर्वसाधारण नागरिकमा सिधै ठोकिएको हुन्छ । यसमा दुइटा द्वन्द्व हुने गर्छ । एउटा कन्जुमरको राइटको कुरा छ । जसमा उनीहरूले बैंकबाट कस्तो सेवा पाइरहेका छन् भन्ने हो । अर्को डिपोजिटर, बैंकको र राज्यको तर्फबाट हेर्दा डिपोजिटरको इन्ट्रेस्ट चाहिँ बढी वेट दिनुपर्छ ।
अहिले नेपालमा ५ करोडभन्दा बढी खाताहरू छन् । ठूलो वित्तीय सेवा हाम्रो बैंकिङ क्षेत्रले दिएको छ । एक्सेस टु फाइनान्स, बैंकिङ एक्सेस धेरै हदमा हाम्रो इम्प्रुभ भएको छ । फाइनान्सियल लिटरेसीमा अझै काम गर्नुपर्ने होला तर वित्तीय पहुँच हाम्रोमा राम्रो छ ।
अहिले वित्तीय पहुँच धेरै बढेको छ । १९ लाख हाम्रो बरोअरहरु छन् । त्यो १९ लाख बरोअरहरुको एउटा इन्ट्रेस्ट छ । त्यो ५ करोडभन्दा बढी डिपोजिटरको अर्को इन्ट्रेस्ट छ । उनीहरूलाई बढी इन्ट्रेस्ट चाहिएको छ । यिनीहरूलाई कम इन्ट्रेस्ट चाहिएको छ । त्यसलाई हामीले मिलाएर लानुपर्ने अवस्था छ ।
हाम्रो कोसिस सधैँ नबिल बैंकलाई अझ राम्रो बैंक बनाउने भन्ने हुन्छ । त्यसका लागि हामी काम गर्छौँ । हामीले त्यस्तै खालका योजनाहरू पनि बनाएका छौँ । नबिल बैंकले केही वर्ष अगाडिदेखि सस्टेनेबल बैंकिङ भर्टिकल बनाउन सुरु गर्यो । यसमा सोसल इम्प्याक्ट र इन्भाइरोमेन्टल इम्प्याक्टलाई हेरेर बैंकिङ गर्नुपर्छ भनेर त्यही खालका प्रोडक्टहरु लिएर आएका छौँ ।
डिपोजिटरको इन्ट्रेस्टलाई हेरेर काम गर्नुको मतलब हामीले दिएको कर्जाको सेक्युरिटी स्योरिटी फिर्ता आउँछ भन्ने सेप्टीलाई इन्स्योर गर्नुपर्ने हुन्छ । त्यो इन्स्योर गर्ने क्रममा राष्ट्र बैंकको रेगुलेसनहरु, हाम्रो नेपालको कानुनहरू त्यसलाई इन्स्योर गर्ने खालको छन् । तर यता यो १९ लाखसँगको हामीले जुन डिल गर्छौँ, त्यहाँ कहिलेकाहीँ हामीले शक्तिको साथ डिल गर्नुपर्ने अवस्था हुन्छ ।
हामीले शुरु गर्दाको बैंकिङ क्षेत्र र आजको दिनको बैंकिङ सेक्टर धेरै परिवर्तन भइसकेको छ । अहिले बैंकहरु सबै कम्पिटिसनमा छन् । बैंकले मलाई फेवर गर्यो भनेको जस्तो खालको वातावरण छ । बैंकलाई त्यसरी हामीले ट्रान्सफर्म गर्यौँ ।
बैंकहरुले ५ करोड डिपोजिटरको इन्ट्रेस्ट प्रोटेक्ट गर्नु पर्छ । त्यो सिस्टम त फंक्सन गर्दिनुपर्यो । हाम्रोमा छैन । सर्ट टर्म, मिडि टर्म, लङ टर्ममा हामीले के के गर्ने भन्ने कुरा एकदम राम्रोसँग डेलिबरेट गरेर गर्नुपर्छ । यो क्रममा हरेक स्टेकहोल्डरले आफू एक कदम पछाडि हट्नुपर्छ भने पछाडि हटेर काम गर्न आवश्यक छ ।
सरकारमा धेरै कुराहरू निहित छन् । सरकारको खर्च घटाउनुपर्यो । हामी अहिले सोसल सेक्युरिटीमा यत्रो पैसाहरू पेमेन्ट गरिरहेका छौं । हेर्दाखेरि बुढाबुढीहरुलाई, एकल महिलाहरू जस्तोलाई पैसा दिइरहेको छ भन्ने देखिन्छ । तर, त्यो पैसा कसरी खर्च मात्रै भइरहेको छ, त्यसबाट प्रतिफल आएको छैन भन्ने पनि हेर्नुपर्छ ।
हामीले बुढाबुढीहरुलाई पनि काममा लगाउन सक्छौँ । उनीहरूको क्षमता अनुसारको काममा लगाउन सरकारले ध्यान दिनुपर्छ । उनीहरू पनि खुसी हुन्छन् काम गर्न पायो भने । हामीले यस्ता कुराहरूलाई अलि छुट्टै ढंगबाट सोच्नुपर्ने जरुरी भइसक्यो ।
–नबिल बैंक मर्जरमा जानका लागि पार्टनर खोजिरहेको छ भन्ने चर्चा छ । बैंकको ४० औँ वार्षिक साधारण सभाले पनि मर्जरको काम अगाडी बढाउन सञ्चालकलाई अख्तियारी दिने भनेर प्रस्ताव पारित गरिसकेको छ । यसअघि पनि ‘बिग मर्जर’ गएको नबिल बैंकलाई फेरि किन पार्टनर चाहियो ?
होइन, बाटो खुला राखेको मात्रै हो । भोलि आवश्यक परेमा जानुपर्यो भने त्यसका लागि बाटो खुल्ला राखिराखेको हो । अस्ति कर्णाली डेभलपमेन्ट बैंकमा ठूलो समस्या आयो । भोलि कुनै अर्को बैंक अप्ठ्यारोमा पर्ला र मैले मर्ज गर्नुपर्छ, मर्ज गर्दा मलाई धेरै ठूलो समस्या आउँदैन भने ‘आइ विल डु इट’ । यसरी सोचेर बाटो खुला गरिराखेको हो ।
साधारण सभाले प्रस्ताव पारित गरेको छ । मर्जरका लागि त्यस्तो कुनै प्रक्रिया अगाडी बढाएको छैनौँ । त्यस्तै किसिमका विषयहरू आयो भनेदेखि बाटो किन रोक्ने ? खोलिरहूँ भनेर हामीले पास गरेको हो ।
–लामो समयदेखि नबिल बैंकले ‘नम्बर वान’ बैंकको ताज पहिरिन सफल भइरहेको छ । यसलाई कायम राख्नका लागि तपाइका आगामी योजना के छन् ?
यसमा मेरो विचार अलि फरक छ । हामी हरेक दिन राम्रो बैंक बन्ने हो । ठूलो बन्नुपर्छ भन्ने छैन । ठूलो बैंक बन्ने हाम्रो लक्ष्य डेफिनेट्ली हुन्छ । त्यसमा हामीले गर्व गर्ने कुरा हुन्छन् । तर म ठूलो होइन की मेरो बैंक राम्रो बैंक छ भनेर गर्व गर्ने हो । ‘बेस्ट बैंक’ भनेर गर्व गर्ने हो, ‘नट अ बिग बैंक’ ।
हाम्रो कोसिस सधैँ नबिल बैंकलाई अझ राम्रो बैंक बनाउने भन्ने हुन्छ । त्यसका लागि हामी काम गर्छौँ । हामीले त्यस्तै खालका योजनाहरू पनि बनाएका छौँ । नबिल बैंकले केही वर्ष अगाडिदेखि सस्टेनेबल बैंकिङ भर्टिकल बनाउन सुरु गर्यो । यसमा सोसल इम्प्याक्ट र इन्भाइरोमेन्टल इम्प्याक्टलाई हेरेर बैंकिङ गर्नुपर्छ भनेर त्यही खालका प्रोडक्टहरु लिएर आएका छौँ ।
महिला उद्यमीहरूको लागि लिएर आएको छ । माइग्रेन्टहरुको लागि लिएर आएको छ । बाहिर विदेशमा गएर काम गरेर यहाँ आइसकेपछि फेरि के गर्ने भन्नेहरूको रिटर्नीको लागि काम गरिरहेको छ । अनि क्लाइमेट रेजिलेन्ट, क्लाइमेट इफेक्टिभ बिल्डिङको लागि घरमा त्यो पानीको सर्कुलेसन गराउने, एनर्जी एफिसियन्ट टेक्नोलोजीमा लगानी गर्नको लागि बैंकले इन्करेज गर्ने खालको प्रोडक्टहरु लिएर आएको छ ।
यति मात्रै नभएर नबिल स्कुल अफ सोसल अन्डरप्रेनरसिप भनेर तपाईँहरू जस्तो योङस्टरहरुलाई मैले यो काम गर्न चाहन्छु, मसँग यो ज्ञान छ, म यसरी काम गर्छु भन्नेलाई ६ महिनाको अन्डरप्रेनरसिप ट्रेनिङ दिइरहेका छौँ । यसमा एउटा कोर्टमा २० जना लिएर हामीले गरिरहेका छौँ । काठमाडौं बाहेक अरू ठाउँमा पनि लिएर गएर यो सबै प्रोभिन्सहरुमा हामीले गरिरहेका छौँ । अन्डरप्रेनरहरु जन्माउने हो ।
जुन पैसाहरू प्रयोग भइरहेको छैन नि अब हामीले माइक्रो एसएमई र एसएमईहरु जेनेरेट गर्नुपर्छ । त्यसको लागि सरकारले इनोभेसन हब स्थापना गर्नुपर्यो । स्टार्टअपको लागि धेरै काम गर्नुपर्यो । तर, हाम्रोमा काम भन्दा पनि पैसा बाँड्ने मात्र काम भएको छ ।
क्षमता अभिवृद्धिमा राज्यको ध्यान पुग्न सकेको छैन । स्टार्टअपको लागि भनेर पैसाहरू दिनु ठूलो कुरा होइन । पैसा त हामीले पनि दिन्छौँ नि । स्टार्टअपवालाहरु र अलिकति काम गरिसकेकाले आफ्नो क्षमता बढाउनको लागि कसरी काम गर्ने भन्ने ज्ञान आदानप्रदान गर्न आवश्यक छ ।

Leave a Reply