काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्वसञ्चारमन्त्री रेखा शर्माले अहिलेको चुनावी पद्धति खराब भएको बताएकी छन् । उनले भनिन्, ‘अहिलेको चुनावी प्रणालीमा निष्ठाको राजनीति गर्ने स्थान छैन ।’
महान्यायाधिवक्ताको कार्यालयको अडिटोरियम हलमा शनिबार भएको एक कार्यक्रममा बोल्दै उनले चुनाव खर्चिलो भएको र चुनावमा भन्ने एक र जितेर आएपछि गर्ने अर्को थोकको पेलान भएको बताइन् ।
‘जनतालाई चुनावमा धारापानी कबुल गरेर कानून बनाउनुपरेको छ’, शर्माले भनिन्, ‘शक्ति पृथकीकरणको सिद्धान्तले पनि व्यवस्थापिका र कार्यपालिका फरक छन् । सांसदले मन्त्री वा प्रधानमन्त्री बन्न नपाउनेमात्रै कानून बनाउनुपर्ने खालको चुनावी प्रणाली आवश्यक भएको छ ।’
उनले कार्यकारी प्रमुखदेखि मुख्यमन्त्रीसम्म प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । केन्द्रको गठबन्धन तलमाथि हुँदा प्रदेश ढल्ने हुन नहुने उनको भनाइ छ ।
शर्माले जस्तै रास्वपा सांसद सुमना श्रेष्ठले पनि नेपालमा जनप्रतिनिधिहरु धेरै भएको भन्दै चुनवी प्रणालीमा समस्या औंल्याइन् ।
उनभनिन्, ‘यति धेरै जनप्रतिनिधिहरु किन चाहियो ? बुथ कब्जा गरेको न्यायिक निरुपण तीन महिनामा हुने हो भने चुनावी समस्या समाधान हुन्छन् ।’

नेकपा एमालेका सांसद ठाकुर गैरेले भने फरक मत राखे । उनले चुनावी परिणाम प्रत्यक्ष वा समानुपातिक हुँदैमा सही नतिजा आउने प्रत्याभूति नहुने बताए ।
अहिले धेरै सांसद समानुपातिक भएको र सबै स्थानीय तहमा प्रत्यक्ष चुनाव भएको भन्दै दुईमा एकमात्रै लाएमा समस्याहरु समाधान गर्न सकिने कुरामा विश्वास नहुने उनको भनाइ छ ।
नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले पनि चुनावी प्रणाली फरक हुनुपर्ने भन्दै दलको आन्तरिक लोकतन्त्र बलियो बनाउने र एकै चुनाव क्षेत्रमा सीमान्तकृत समुदायलाई तान्न बहुसदस्य निर्वाचन हुनुपर्ने बताइन् ।
महान्यायाधिवक्ता रमेश बडालले चुनावी प्रणाली फेरेरमात्रै समस्याको समाधान नहुने भन्दै भएकै प्रणालीलाई सुधार गरेर जनताको हितमा काम गर्नुपर्ने बताए ।
पूर्वप्रमुख निर्वाचत आयुक्त नीलकण्ठ उप्रेतीले भने नेपालमा दक्षिण अफ्रिकाको जस्तै सात प्रदेश भएको भन्दै नेपालमा दक्षिण अफ्रिकाकै जस्तो पूर्ण समानुपातिक सांसदहरु चयन हुनुपर्ने बताए । त्यसो गरेमा अहिले ६-७ अर्बको राज्यको खर्च लाग्ने चुनाव आधा रकममै गर्न सकिने उप्रेतीले बताए ।
उन थपे, ‘अहिलेको चुनाव पूर्ण मिश्रित होइन । यो त समानान्तर मिश्रित हो ।’

Leave a Reply