अनेरास्ववियुको निष्कर्ष- ‘जेन जी’ पुस्तालाई संगठनमा जोड्ने प्रतिबद्धताले औपचारिक मान्यता पायो

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठक आज बसेको छ ।

तुलसीलाल स्मृति भवन च्यासलमा बसेको बैठकले यो महाधिवेशन सङ्गठनको इतिहासमै नीतिगत, वैचारिक र साङ्गठनिक दृष्टिले विशेष महत्त्व बोकेको कोसेढुंगाका रूपमा रहेको निष्कर्ष निकालेको अध्यक्ष डा. सुजन कडरियाले बताए ।

उनले भने, ‘३२ वर्षमुनिका युवाहरूमात्र नेतृत्वमा रहने निर्णयले ‘कक्षाकोठासँग जोडिएको वास्तविक विद्यार्थी नेतृत्व’ र ‘जेन जी’ पुस्तासँग सङ्गठनलाई जोड्ने हाम्रो प्रतिबद्धतालाई औपचारिक मान्यता प्रदान गरेको छ । सङ्गठनबाट उमेरका आधारमा अलग हुँदै गर्दा पार्टीभित्र समुचित जिम्मेवारी पाउनुपर्ने मागलाई पनि स्पष्ट पारेको छ ।’

महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखापरेका केही अवाञ्छित प्रवृत्तिहरूलाई दृढतापूर्वक अस्वीकार र खारेजी गर्दै सम्पूर्ण जनवादी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भई प्रतिगमनको विरुद्ध आफ्ना अभियानहरूलाई तीव्रताका साथ अगाडि बढाउनुपर्ने जिम्मेवारीलाई स्मरण गराएको अध्यक्ष कडरियाले बताए ।

उनले भने, ‘लोकतान्त्रिक प्रणाली र मूल्यमा अडिग शक्तिहरूलाई झूटको प्रचार र अराजनीतिक कुचेष्टाबाट बदनाम गर्ने खेलप्रति गम्भीर चिन्ता व्यक्त गर्दै हामी भन्न चाहन्छौँ ‘इतिहासको गति सधैँ प्रगतिशील र भविष्यमुखी हुन्छ, भूतमुखी होइन ।’

अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेको शक्ति सन्तुलनको पुनर्संरचना, तीव्र फेरबदल र नयाँ शक्तिकेन्द्रहरूको उदयले नेपाल जस्तो मुलुकमा परनिर्भरता र अस्थिरता बढाउने प्रयत्न भइरहेको बैठकले निष्कर्ष निकालेको छ ।

बैठकले केन्द्रीय कमिटीमा निर्वाचित सचिवहरूको कार्यविभाजन पनि गरेको छ । आर्थिकमा आकाश घर्तीमगर, संगठनमा अधिवक्ता गोपाल नेपाल, प्रचारमा समिमबाबु खान र विदेश सचिवमा इ. रचना सापकोटालाई जिम्मेवारी दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *