लुम्बिनीमा स्रोतविनै बजेट बढाउने लबिङमा अर्थमन्त्री, मन्त्रीहरू नै असन्तुष्ट

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आन्तरिक स्रोत कम भएको भन्दै विभिन्न मन्त्रालय र सांसदहरूलाई ३० देखि ३२ अर्बभित्रकै सिलिङका आधारमा बजेट बनाउन गरेको प्रतिवद्धताविपरीत आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले मुख्यमन्त्री चेतनारायण आचार्य र नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई रिझाएर बजेट बढाउन थालेपछि मन्त्रीहरूले नै असन्तुष्टि जनाएका छन् ।

मुख्यमन्त्री आचार्यले यसअघि बजेटको पूर्वतयारीका विषयमा गतवर्ष घाटा बजेट ल्याउँदा कार्यसंचालनमा समस्या आएकाले अहिले ३० अर्ब सेरोफेरोको बजेट आउने बताइरहेका छन् । आर्थिक मामिला मन्त्री कार्कीसहितका मन्त्रीहरुले पनि ३० अर्बभन्दा बजेट माथि जाने आधार नभएको बताएका थिए ।

तर, अहिले कार्कीले बजेट बढाउने तयारी गरेपछि मन्त्रीहरू नै असन्तुष्ट बनेका हुन् ।

‘हामीलाई ३० अर्बभन्दा बजेट नबढ्ने भनेर सिलिङ तोक्ने तर विभागीय मन्त्रीले आफूखुसी बजेट बढाउने तयारी भएको सुनिएको छ, यो राम्रो विषय होइन, यसमा मुख्यमन्त्री र कांग्रेस दलको नेतासमेतले साथ दिएको सूचना पाइएको छ, आन्तरिक स्रोत नभई बनाउने बजेट र एकपक्षीय बजेटले कसैलाई हित गर्दैन, कार्यान्वयन गर्न नसक्ने बजेट ल्याउनु सरकारलाई नै घाटा हो’ एक मन्त्रीले नेपाल प्रेससँग भने ।

३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजारको बजेट आएको थियो त्यतिबेला अहिलेका मुख्यमन्त्री आचार्य नै अर्थमन्त्री रहेका थिए । तत्कालीन समयमा पनि आचार्यले बजेट ठूलो आकार नबन्ने बताएपनि अन्तिममा सबै क्षेत्रको दवावमा बजेट बढाएर ल्याएका थिए । अहिले आफै मुख्यमन्त्री भएको बेला त्यो दवाव थेग्न सक्नुपर्ने र प्रदेशको वास्तविकता भन्न सक्नुपर्ने असन्तुष्ट मन्त्रीहरुको भनाइ छ ।

आन्तरिक मन्त्रालयका प्रवक्ता अमित पौडेलले अहिलेसम्म आफूहरुले ३० अर्ब हाराहारीकै बजेट बनाउने पूर्वसूचनाका आधारमा अघि बढेको तर बजेट बढाउने विषय मन्त्री र सचिवहरुको समन्वयमा अघि बढ्ने कुरा भएपनि अहिलेसम्म कुनै जानकारी नभएको बताए ।

अहिले आफूले बजेट वक्तव्यको तयारीमा लागिरहेको उनले सुनाए । असार १ गते बजेट ल्याउने भएपनि बुधबार अबेरसम्म असन्तुष्ट तीन मन्त्रीले आफ्नो सिलिङ अर्थ मन्त्रालयलाई नबुझाएको स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *