काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नेतृत्व चयनका जारी मतदानकैबीच यो वा त्यो भन्दै आफैँभित्र कृत्रिम बैरी खडा नगर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीकामुख्य सल्लाहकारसमेत रहेका रिमालले अनेरास्ववियुमा पहिलो पटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुनु अखिलको इतिहासमा महत्त्वपूर्ण मोड भएको बताएका छन् ।
नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा हुँदैछ । संस्थापन पक्षले यसअघि नै कडरियाको नाममा सहमति जुटाउने प्रयास गरेको थियो । तर, पौडेल पक्षले असहमति जनाएपछि निर्वाचनमा धकेलिएको थियो ।
नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन हुँदै गर्दा प्यानल नै बनाएर दुई समूह गएको चर्चाबारे रिमालले भनेका छन्, ‘यो वा त्यो, यो पक्ष वा त्यो पक्ष’ भन्दै आफैँभित्र कृत्रिम बैरी खडा गरी अस्वस्थता र कटुता सिर्जना गर्ने हैन, ‘सहमत हुँदा सर्वसम्मत नहुँदा स्वस्थ प्रतिस्पर्धा गर्ने’ पार्टीले अपनाउँदै आएको विधिमा हामीले हाम्रा युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ ।’

Leave a Reply