बालेनले नयाँ पार्टी खोल्न लागेको अमेरिकाबाट भगवान भण्डारीको दाबी, सत्यको नजिक कि भ्रामक ?

काठमाडौं । लामो समयदेखि अमेरिकामा बस्दै आएका लोकगायक भगवान भण्डारीले लेखेको एउटा फेसबुक स्टाटसले राजनीतिक गसिपको बजार तताइदिएको छ ।

उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साहसहित भर्चुअल बैठक बसेर नयाँ पार्टी खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भएको दाबी गरेका छन् ।

करिब ६५ मिनेट लामो छलफलमा पार्टीको नयाँ नाम राख्ने र सुमना श्रेष्ठ संयोजक हुनेमा सहमति जुटेको भण्डारीले उल्लेख गरेका छन् ।

स्टाटस यस्तो छः

आज फेसबुक ग्रुपमा जोडिएर नेपालको राजनीतिको बारेमा निकै गम्भीर विषयमा कुराकानी भयो । राजनीतिलाई एकदमै नयाँ शिराबाट उठाएर पुराना भ्रष्टाचारीलाई विस्थापित गर्ने कुरामा सबै सहमत भए पनि हर्कजीको जिद्दी पन अलि बढी नै थियो । बालेन जी सोह्रै आना सहमत हुँदा सबैको समर्थन रह्यो । एक जना संयोजक र सबै सहसंयोजक रहने कुरामा पनि सबैको ताली बज्यो । सुमना श्रेष्ठ संयोजक हुने कुरामा केही असहमति देखिए पनि समग्रमा सबैको समर्थन रहेको पाइयो । पार्टीको नयाँ नाम राख्ने कुरामा सबै एकमत भएको पाएँ ! २० जना जोडिएर गरेको लगभग ६५ मिनेटको बहस पूर्ण सकारात्मक रहेको महसुस गरेको छु !’

यो स्टाटसमा अहिलेसम्म ८ सय ४० भन्दा बढी प्रतिक्रियाहरू आएका छन् । भण्डारीको दाबी कसैले पत्याएका छन् त कसैले छैनन् । कतिपयले चाहिँ रास्वपामा विखण्डन ल्याउने उद्देश्यले भ्रामक प्रचार गरेको आरोपसमेत लगाएका छन् ।

भण्डारीको स्टाटसलाई पत्याउने र नपत्याउने दुवै आधारहरू देखिन्छन् ।

बालेनले काठमाडौं महानगरपालिकामा २०७९ सालको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । यस्तै हर्क साम्पाङ पनि स्वतन्त्ररुपमा विजयी मेयर हुन् । बालेन र हर्क दुवैको चुनाव चिन्ह लौरो थियो । हर्क बालेनसँग मिलेर नयाँ पार्टी खोल्न चाहन्छन् भन्ने कुरा छिपेको छैन । उनले फेसबुकमा बारम्बार यस्तो आशय व्यक्त गर्ने गरेका छन् ।

२०८० सालको मंसिरमा नै हर्कले ‘नयाँ शक्तिको निर्माण हुनेछ’ भनेर स्टाटस लेखेका थिए । काठमाडौंमा आएर बालेनसँग भेटघाट गरेलगत्तै उनले सो स्टाटस लेखेका हुन् । तर, बालेन निकटस्थहरूले भने राजनीतिक सहकार्यका विषयमा साम्पाङसँग कुनै योजना नबनेको बताउँदै आएका छन् ।

गत फागुनमा पनि साम्पाङले नयाँ पार्टी खोल्ने इच्छा फेसबुकबाटै व्यक्त गरेका थिए । उनले लखेको स्टाटस थियो- म बुझ्न चाहन्छु, यदि ८४ मा बहुमत दिने भए म पार्टी खोल्छु । पार्टीको एजेन्डा एउटै हुने छ, भ्रष्टाचार गरेर ठगी गरेर खर्बौँ रुपैयाँ विदेशमा लगानी गर्नेहरू सबैलाई छानिछानी घोक्रे ठ्याक लगाएर जेल कोच्ने । पलायन भएको पैसा फिर्ता गर्ने । दिने हो साथ ?’

यता बालेनले भने अहिलेसम्म आफ्नो मिसन ०८४ के हो भन्ने कुनै पनि संकेत सार्वजनिकरुपमा गरेका छैनन् । उनले फेरि मेयरमै स्वतन्त्र उम्मेदवारी दिनेदेखि पार्टी खोलेर ठूला दलहरूलाई पाखा लगाइदिनेसम्मका सार्वजनिक चर्चा परिचर्चाहरू हुने गरेका छन् ।

बालेनले नयाँ पार्टी खोले हुन्थ्यो भनेर पर्खाइमा बसेकाहरूलाई भगवान भण्डारीको स्टाटसले उत्साहित तुल्याइदिएको छ ।
बालेनले पार्टी खोल्ने चर्चाले सबैभन्दा बढी तरंगित बनेको छ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी । भण्डारीले नयाँ पार्टीको संयोजक भनेर दाबी गरेकी सुमना अहिलेसम्म रास्वपामै छिन् ।

सहमहामन्त्री पद त्यागे पनि उनी पार्टीको जिम्मेवार केन्द्रीय सदस्य र समानुपातिक सांसद हुन् । उनले सार्वजनिक रूपमा कतै पनि रास्वपा छोड्ने कुरा गरेकी छैनन् । यद्यपि, सहमहामन्त्री पदबाट राजीनामा दिँदा नै ०८४ मा बालेनसँग मिल्ने उनको सम्भावित रोडम्यापबारे नेपाल प्रेसमा रिपोर्ट प्रकाशित भएको थियो ।

यदि बालेनले पार्टी खोले भने सबैभन्दा ठूलो क्षति रास्वपालाई हुन सक्ने आँकलन हुने गरेको छ । रास्वपाका कतिपय चर्चित नेताहरू नै रविको काँधबाट ओर्लेर बालेनतिर लाग्न सक्ने स्थिति पनि देखिन्छ । साथै, रास्वपाको भोट बैंक पनि पूर्णरुपमा बिथोलिने खतरा छ ।

भगवान भण्डारीले लेखेको स्टाटसबारे नेपाल प्रेसले बुझ्न खोज्दा बालेन निकट स्रोतहरूबाट पुष्टि हुन सकेन । बालेनको कोर टिमका एक सदस्यले यो हुन नसक्ने दाबी गरे ।

‘मलाई चाहिँ यो शतप्रतिशत असत्य हो भन्ने लाग्छ । हिजो रातिसम्म हामी सँगै थियौँ । कुनै राजनीतिक योजनाका विषयमा कुराकानी भएकै छैन,’ उनले भने ।

बालेनले ८४ मा के गर्ने भनेर अहिलेसम्म कुनै सोच नै नबनाएको समेत उनको दाबी छ ।

‘अहिल्यै घेराबन्दीमा पारेर काम गर्न दिइरहेका छैनन्, ८४ को योजना बनाएर बस्ने फुर्सद उहाँलाई के होला र ?’ उनले थपे ।
तर, अर्को स्रोतले चाहिँ बालेनले पार्टी खोल्ने मानसिकता बनाएको बतायो ।

‘स्वतन्त्र मेयर जितेर एक्लै काम गर्न गाह्रो भएको महसुस गर्नुभएको छ । आफूले राम्रो गर्न खोज्दाखोज्दै पनि सबैतिरबाट पेल्न खोजिएपछि अलिकति प्रेसरमा पनि हुनुहुन्छ । उहाँको ८४ को मिसन भनेको पार्टी खोल्ने नै हो,’ स्रोतले भन्यो ।

हिजो बसेको भनिएको भर्चुअल बैठकका विषयमा भने दोस्रो स्रोतले केही पनि बताउन चाहेन ।

यता सुमना निकट स्रोतले भने भण्डारीको दाबीलाई ठाडै अस्वीकार गरेको छ ।

‘कसैले स्वैरकल्पना गरेर लेखेको हुन सक्छ, उहाँ (सुमना श्रेष्ठ) त्यस्तो कुनै पनि बैठकमा सहभागी हुनुभएको छैन,’ सुमनासँग निकट रास्वपाका एक नेताले भने ।

को हुन् भगवान भण्डारी ?

कुनै जमानाका लोकप्रिय लोकस्रष्टा हुन् भगवान भण्डारी ।

स्याङ्जाको चापाकोटमा जन्मेका उनले थुप्रै चर्चित गीतहरूमा स्वर दिएका छन् । ‘बिग्रियौ चाल पनि’, ‘खैरनीमा गेट’, ‘फुलमा भमरा’ आदि भण्डारीका हिट गीतमा पर्छन् । लोकगायक बद्री पंगेनीको सर्वाधिक प्रख्यात गीत ‘ससुरालीमा.. ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा…’ भण्डारीकै सिर्जना हो ।

नेपालको लोकसंगीतमा जमिरहेकै अवस्थामा भण्डारी परिवारसहित विदेश पलायन भएका थिए । उनी केही समय बेल्जियम बसेका थिए । त्यसपछि अमेरिकामा सेटल भएका हुन् ।

Comments

One response to “बालेनले नयाँ पार्टी खोल्न लागेको अमेरिकाबाट भगवान भण्डारीको दाबी, सत्यको नजिक कि भ्रामक ?”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    Good idea.

Leave a Reply

Your email address will not be published. Required fields are marked *