काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथिको छानबिनमा ब्याक भएर माओवादी केन्द्रले दुई बुँदे ड्राफ्ट अघि सारेको छ । माओवादीको यो प्रस्तावमा सत्तारुढ दलहरू पनि सहमत रहेको एमालेका सचिव योगेश भट्टराईले बताए ।
उनले रास्वपाले अघि सारेको पाँच बुँदे प्रस्तावमा छलफल नै गर्न नसकिने बताए ।
उनले भने, ‘माओवादीले हामीसँग गरेको दुई बुँदे सहमतिको प्रयासमा रास्वपाको असहमति छ । रास्वपाले पठाएको पाँच बुँदे प्रस्तावमा छलफल नै हुँदैन । त्यसमा जान सकिँदैन, हामी माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ ।’
यद्यपि, रास्वपाको पाँच बुँदे प्रस्तावमा विपक्षीको एकमत रहेको दाबी नेताहरूले छाडेका छैनन् । तर, माओवादीका नेताहरूले रास्वपाको प्रस्तावमा आफूहरूको समर्थन नरहेको भन्दै दुई बुँदेमै सहमत बनाउने प्रयास गर्ने आफूहरूसँग भनेको सचिव भट्टराईले बताए ।
उनले माओवादीको प्रस्तावमा नै भोलि ३ बजेसम्मका लागि सदन स्थगित गरेको बताए । माओवादीसँग सत्तापक्षसँग सदन खुलाउन राखेको दुई बुँदे प्रस्तावको पहिलो बुँदामा अख्तियारले गरेको छानबिनमा सरकारले पूर्ण सहयोग गर्ने र दोस्रोमा भिजिट भिसा अध्यागमनहरूमा देखिएको विभिन्न समस्याको सन्दर्भमा संरचनात्मक सुधारको निम्ति काम गर्ने रहेको एक नेताले बताए ।
तर, माओवादीका उपमहासचिव वर्षमान पुन भने संसद् सुचारु गर्न सरकारले चासो नदेखाएको आरोप लगाउँछन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘हामीले बजेट पेश गर्न दियौँ। अब छलफल हुनुपर्छ, तर यो भिजिट भिसा प्रकरण आमजनताको इस्यु भइसक्यो। कि प्रतिपक्षले उठाएको इस्यु बेठीक छ भन्नुपर्यो । सही छ भने उहाँहरू तयार हुनुपर्यो ।’
सांसद पुनले आफूहरूले उठाएको मागमा सत्तापक्ष सकारात्मक रहेको विश्वास व्यक्त गरे । तर उनले आफूहरू मागबाट पछि नहटेको दाबी गरे ।

Leave a Reply