विदेशी प्राविधिकमार्फत लाइसेन्स प्रिन्टर मर्मत, अहिलेसम्म कति छापियाे स्मार्ट कार्ड ? (भिडिओ)

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स-स्मार्ट कार्ड) प्रिन्ट गर्ने मेसिन मर्मत थालेको छ । सन् २०१९ मा आयात गरेको मद्रास सिस्टमको प्रिन्टर पहिलो पटक मर्मत थालिएको हो ।

मास प्रिन्टर मद्रास सिस्टमको इटालीको माटिका कम्पनीले निर्माण गरेको हो । यसअघि विक्रेता कम्पनीले नै मास प्रिन्टर मर्मत गर्दै आएको थियो ।

प्रिन्टर किनेको कम्पनीको सर्भिसको सम्झौता सकिएपछि विभागले नेपाली कम्पनी बारकोर्डलाई सर्भिसको जिम्मा दिएको थियो । सोहीअनुसार त्यस कम्पनीले २ जना विषयविज्ञ विदेशी ल्याएर मंगलबार मर्मत सुरु गरेको हो ।

विभागले ३ दिन लाइसेन्स प्रिन्ट गर्ने मेसिनको मर्मत गर्ने र सो समयमा नयाँ वा नवीकरण गर्न दिएको लाइसेन्स प्रिन्ट नहुने सूचना यसअघि नै निकालिसकेको छ ।

बारकोडसँग १ वर्षको लागि ९ लाखमा प्रिन्टर मर्मतको लागि सम्झौता गरिएको छ । सो कम्पनीले प्रिन्टर निर्माता कम्पनी मद्रासका २ जना कर्मचारी ल्याएर मर्मत भइरहेको जनाएको छ । भोलिसम्ममा मर्मत सकिने गरी काम गरिरहेको विभागले बताएको छ ।

विभागका आईटी डाइरेक्टर केशव खतिवडाले भने, ‘विभागले ३ दिन नयाँ र नवीकरण गर्न दिएको लाइसेन्स प्रिन्ट नै बन्द गरेर मर्मत गरिरहेको छ । यसभन्दा पहिले प्रिन्टर बिक्री गर्ने कम्पनीले नै वारेन्टीअनुसार मर्मत गरिदिने गरेको थियो । अहिले वारेन्टी सकिएपछि प्रिन्टर बिक्री गर्ने कम्पनीले मर्मत गर्दैन । त्यसपछि विभागले नेपाली कम्पनीसँग सम्झौता गरेर मर्मत गरिरहेको हो ।’

उनका अनुसार नेपाली कम्पनीले प्रिन्टर विक्रेता कम्पनी मद्रासका कर्मचारी बोलाएर प्रिन्टर मर्मत गरिरहेको छ । नेपाली विज्ञ टोलीले प्रिन्टर मर्मत गर्न आवश्यक पार्टसु ८ लाखको किनेको छ । प्रिन्टर बिग्रिँदा मर्मत गर्न विभागले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आईटी डाइरेक्टर खतिवडाका अनुसार प्रिन्टरमा प्रयोग हुने चेन, सकेट, लेजर बिमलगागत खरिद गरिएको छ । प्रिन्टरमा लेजर बिम दुई वटा हुन्छ । पहिले नै एउटा लेजर बिममा समस्या आएपछि अर्को लेजर बिमबाट लाइसेन्स प्रिन्ट हुँदै आएको थियो ।

उनका अनुसार मेसिनमा भएका दुईमध्ये एउटा लेरज बिमले काम नगरे अर्कोमार्फत प्रिन्ट गर्ने सिस्टम रहेको छ ।

प्रिन्टरले कति चाप्यो स्मार्ट लाइसेन्स ?

नेपालमा स्मार्ट लाइसेन्स छाप्न प्रयोग भइरहेको प्रिन्टर सन् २०१९ देखि २०२५ को हालसम्म १ लाख घण्टा सञ्चालन भएको छ । प्रिन्टर १ लाख घण्टा सञ्चालन भएपछि मर्मत गर्नुपर्ने हुन्छ ।

प्रिन्टर नेपालमा ल्याएपछि ४० लाख स्मार्ट लाइसेन्स छापिइसकेको विभागले जनाएको छ । विभागका अनुसार अझै ३० लाख स्मार्ट कार्ड छाप्न बाँकी रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *