काठमाडौं । अस्ति भर्खरै पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत वीरगन्जले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटको मुद्दामा सफाइ दियो । जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ गते दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
जिल्ला अदालतको उक्त फैसला बदर गर्दै आलमलाई उच्च अदालतले सफाइ दिएको थियो । उच्च अदालतको यस फैसलालाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध समेत भएको थियो । यही विषयलाई केन्द्रमा राखेर कमेडियन प्रभात लामाले कमेडी नाइट विथ च्याम्पियनको पछिल्लो एपिसोडमा दिएको प्रस्तुति अहिले चर्चामा छ ।
आलमको पात्रमा देखिएका लामा आलमकै सिग्नेचर हाउभाउ र बोल्ने शैली कपी गर्दै स्टेजमा प्रवेश गरेका थिए । उनले आलमले ज्युँदै मान्छे इँटाभट्टामा जलाएको र वकिललाई गरगहना दिएको गम्भीर विषयलाई कमेडीको माध्यमबाट उठान गरेका थिए ।
आलमको पात्रबारे लामाले भने, ‘आलमको विषय आफैमा गम्भीर अपराधको विषय थियो । यस्तो गम्भीर विषयलाई हास्यरसको माध्यमबाट जनचेतनासहित प्रस्तुति गर्नु चुनौतीपूर्ण थियो । मैले त्यही चुनौती मोल्ने आँट गरेको हुँ ।’
आफूले लामो रिसर्च र अध्ययनपश्चात आलमको पात्रमा प्रस्तुति दिएको पनि बताए ।
कार्यक्रममा रास्वपाका सांसदहरू डा. तोसिमा कार्की, सुमना श्रेष्ठ, निशा डाँगी र असिम शाह अतिथिको रुपमा थिए । उनी लामाको अभिनय र व्यंग्य गर्ने शैलीबाट प्रभावित भएका देखिन्थे ।
लामाले यसअघि पनि पूर्वमेयर केशव स्थापित, वैज्ञानिक महावीर पुन, अभिनेता राजेन्द्र खड्गी र राजेश हमालको क्यारिकेचर गरिसकेका छन्।

Leave a Reply