काठमाडौं । लागुऔषध ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा दिउँसो टोखास्थित ग्रयान्डी सडकमा प्रहरीले सात राउन्ड गोली खर्च गर्नुपर्यो ।
उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले शुरुमा चार राउन्ड हवाई फायर खोल्यो । अपरेशनमा संलग्न एक प्रहरीका अनुसार बन्दुक पड्किएको आवाजले अपराधीलाई हतोत्साहित पार्ने मनोवैज्ञानिक विधिअनुसार चार राउन्ड हवाई फायर खोलियो, तर उनीहरु नियन्त्रणमा आएनन्, हतोत्साही नभई भागिरहे ।
त्यसपछि मान्छेलाई ताकेर तीन राउन्ड गोली हानियो । पहिलो एक राउन्डको निशाना लागेन, तर त्यसपछिको फायरले लगालग दुई जनालाई ढाल्यो ।
भारतको पश्चिम बंगाल राज्यस्थित इस्लामपुर घर भएका ४० वर्षीय शशिक आलम र २२ वर्षीय मोहम्मद मज्जरलाई प्रहरीले घाइते बनाएर नियन्त्रणमा लिएको हो । घुँडामुनि गोली लागेका कारण उनीहरु खतरामुक्त छन् ।
उनीहरुबाट २०० ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ । उनीहरुले लाउड स्पिकरणको भित्रपट्टि हेरोइन लुकाएका थिए ।
नियन्त्रणलगत्तै प्रहरीले उनीहरुलाई उपचारका लागि शुरुमा महाराजगञ्जस्थित प्रहरी अस्पताल लग्यो । पछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए ।
घाइतेमध्ये शशिक आलम यसअघि पनि लागुऔषध कारोबारकै क्रममा पक्राउ परेका व्यक्ति हुन् । उनी सजाय भुक्तान गरी हिरासतमुक्त भएपछि फेरि उही कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विशेष सूचनाका आधारमा मंगलबार बिहान सुन्धाराबाट दानापुर भारतका १८ वर्षीय सुमितकुमार र २५ वर्षीय चन्दनकुमारलाई नियन्त्रणमा लिएको थियो, तर उनीहरुबाट प्रतिबन्धित लागुऔषध बरामद भएन ।
पक्राउ परेका ती दुईको सूचनाका आधारमा सामानसहित मान्छे टोखामा बसेको थाहा पाएपछि प्रहरी टोली त्यसतर्फ लागेको थियो । खोजीका क्रममा उनीहरु ग्रयान्डी अस्पतालभन्दा केही पर मूल सडकबाट केही भित्री भागमा फेला परे ।
प्रहरी सादा पोशाकमा थिए, तर उनीहरुले प्रहरी नै हो भन्ठाने । देख्नासाथ भागे । त्यसपछि प्रहरीले फायर खोलेको अपरेशनमा संलग्न ती प्रहरीले बताए ।

Leave a Reply