अनेरास्ववियुको महाधिवेशन स्थलमा नेतृले राखेको चटपटे स्टल, नाफा अनाथालयलाई दिइने

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको त्रिभुवन स्मृति भवनमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्वयवुको २४ औं महाधिवशेन चलिरहेको छ ।

नयाँ नेतृत्व छान्न नेता र प्रतिनिधिहरु कसरतमा छन् । तर उक्त महाधिवेशनमा उपस्थित विद्यार्थी नेताहरु केवल राजनीतिक सक्रियतामा मात्रै सहभागी छैनन् । केही फरक दृष्यहरु छन् जसले राजनीतिक गतिविधिमा नयाँ स्वाद दिन सक्छ ।

यस्तै उदाहरण हो अनेरास्ववियुकै नेता र कार्यकताहरुले सञ्चालन गर्ने स्टल । जसले उद्यमशलितालाई प्रवर्द्धन गर्न सहयाेग गर्छ । संगठनकी केन्द्रीय सदस्य मुना तिवारीको नेतृत्वमा केही विद्यार्थीहरुले महाधिवेशन स्थलमा चटपटेको स्टल राखेका छन् । उसाे त चटपटेसँगै उनीहरुलाई पानी, खरबुजा बेच्न पनि भ्याइनभ्याइ हुन्छ ।

उनीहरुले उद्घाटन सत्रकै दिनदेखि नै उक्त स्टल चलाइरहेका छन् । कतिपयले यसलाई चुनाव लड्ने काइदा बताइरहेका बेला तिवारीले भने राजनीतिले उद्यमशीला सिकाउनुपर्ने भनेर सुरु गरिएको बताइन् ।

उपाध्यक्षकी आकांक्षी तिवारीलाई भोट माग्न स्टल राख्नुभएको हो भन्ने नेपाल प्रेसकाे प्रश्नमा भन्छिन्, ‘भोट माग्न नभएर युवाहरुलाई उद्यमी बन्न प्रेरणा दिन सकियोस् भन्ने हो ।’

उद्यमशील सोचको विकास हुँदा समय र परिस्थितिअनुसार व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने देखाउन पनि स्टल राखिएको उनको भनाइ छ ।

उनलाई सघाउने अन्य पाँच जना विद्यार्थीहरुले विभिन्न परिकारका चटपटे सर्व गर्छन् । यसबाट आर्थिक उपार्जन त भयो नै साथै मौलिक परिकारको प्रवर्द्धन पनि हुने उनीहरुको भनाइ छ ।

अर्काे पक्ष भनेकाे उनीहरुले यसरी स्टल चलाएर बेचेर आएकाे नाफा अनाथालयमा सहयाेग गर्ने उद्देश्य रहेकाे पनि उनीहरुले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *