दोलखामा कांग्रेस पार्टी कार्यालय बनाउन बागमती प्रदेश सरकारको सवा दुई करोड बजेट !

चितवन । बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले दोलखामा नेपाली कांग्रेसको भवन निर्माण गर्न ठेक्का सम्झौता गरेको छ ।

तरुण दलको केन्द्रीय कार्यालय भवन बनाउन संघीय सहरी विकास मन्त्रालयले २ करोड बजेट छुट्याएको प्रकरण चलिरहेका बेला दोलखामा भने कांग्रेस जिल्ला पार्टी कार्यालय भवन सकारी बजेटमै ठेक्का लागेर सिलान्यास भएको छ ।

४ करोड बजेट विनियोजन भएकोमा २ करोड १४ लाखमा ठेक्का लागेको हो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन कार्यालय काभ्रेले यही जेठ ९ गते बीपी स्मृति भवनको नामबाट नेपाली कांग्रेस दोलखा जिल्लाको पार्टी कार्यालय बनाउन ठेक्का सम्झौता गरेको हो ।

शहरी विकास तथा भवन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले गत चैतको १५ गते भवन निर्माणको लागि टेन्डर आह्वान गरेको थियो । जेठ ९ गते पीआर/याङ्ग्रा/डाइनामेट जेभी कम्पनीसँग २ करोड १४ लाख ८९ हजार ७८० रुपैयाँ लागतमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको शहरी विकास तथा भवन कार्यालयका सूचना अधिकारी इन्जिनियर महेन्द्र सिंह डाँगाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार दोलखाको भीमेश्वर नगरपालिका- ६ मा बनाइने बीपी स्मृति भवन सम्झौता भएको मितिले १८ महिनाभित्र काम सम्पन्न गरिसक्नु पर्नेछ । जसको बेसमेन्टसहित पाँच तले भवन रहने उनले जानकारी दिए ।

ठेक्का सम्झौता गरिएको चालु आर्थिक वर्षको दुई महिनामा फ्रेम संरचना र बाहिरी पर्खालको काम गर्नुपर्ने उनले जानकारी दिए ।
प्रदेश सरकारको रातो किताबमा परेको आयोजनाको निर्माण सम्झौता भइसकेको भए पनि उक्त भवन नेपाली कांग्रेसको भवन भए नभएकोबारे भने उनले थाहा नभएको जानकारी दिए ।

ठेक्का सम्झौता भइसकेपछि कांग्रेस दोलखाले भवनको शिलान्यास गरिसकेको छ । यही जेठ १७ गते नेपाली कांग्रेस दोलखाले पार्टीका कार्यकर्ता भेलासहित भव्य कार्यक्रमको आयोजना गरेर भवनको शिलान्यास कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए ।

अर्थमन्त्री आफ्नै,बजेट आफ्नै जिल्ला पार्टीलाई
दोलखाबाटै निर्वाचित प्रदेश सरकारका अर्थमन्त्री कुन्दनराज काफ्लेले पार्टी कार्यालय भवनका लागि ४ करोड २० लाख बजेट हालेका थिए । टेण्डर पर्दा भने प्रतिस्पर्धाबाट सवा २ करोडमा परेको हो ।

काफ्लेले बजेट पारेका कारण भवन सिलान्यास कार्यक्रममा प्रमुख अतिथि पनि उनले आफ्नै गुटको नेता सिटौलालाई लगेका हुन् । काफ्ले सिटौला कोटाबाट केन्द्रीय सदस्य र मन्त्री भएका हुन् ।

पार्टी कार्यालय भवन सिलान्यास कार्यक्रममा जिल्ला उपसभापति समेत रहेका बैतेश्वर गाउँपालिका अध्यक्ष छबी लामाले पार्टी अफिसका लागि बजेट दिएकोमा मन्त्री काफ्लेलाई धन्यवाद दिँदै अब जिल्लाको अरु विकासमा पनि बजेट नहाले राजनीति सकिने चेतावनी पनि दिएका थिए ।

कांग्रेस दोलखाका सभापति बर्मा लामाले बीपी स्मृति भवन बनाउन १७ गते शिलान्यास गरेको बताए, तर उक्त भवनमा पार्टी कार्यालय राख्नेबारे भने स्पष्ट जवाफ दिएनन् ।

‘हामीले सबैतिरबाट सहयोग पाउने आश्वासनपछि भवन शिलान्यास गरेका हौँ’, उनले नेपाल प्रेससँग भने, ‘भवन बनेकै छैन । बनेपछि पार्टी कार्यालय राखे पनि भयो, नराखे पनि भयो ।’

सभापति लामाले बीपी स्मृति भवन चारैतिरबाट सहयोग आउने आश्वासन पाएको बताए पनि पाँच तले भवनको सबै लागत प्रदेश सरकारले व्यहोर्ने गरी भएकोबारे भने स्पष्ट जवाफ दिएनन् ।

उनले भने, ‘प्रदेश सरकारले पनि पैसा थपथाप गर्ने त भनेको छ, तर कति दिने हो, मलाई थाहा छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *