काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीले एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभिभारामा अग्रणी भूमिका खेल्नुपर्ने बताएका छन् ।
विद्यार्थी आन्दोलन र खासगरी अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमत संग्रह घोषणा गर्न बाध्य बनाउने संगठन भएको उनले स्मरण गरे ।
गणतन्त्रको रक्षा, सुदृढ र गतिशील तुल्याउन विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुका लागि छुट नहुने ओलीले बताए ।
‘बाटोमा हिँड्दा तपाईँहरूको मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट नै अनेरास्ववियु हो भनेर अरुले चिनुन् । म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनु हुँदैन’, ओलीले भने, ‘एमालेप्रति पनि भ्रम फैलाउने र अँध्यारो देखाउने प्रवृत्ति छन् । पार्टीभित्र एकता हुनु हुँदैन । चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन् । मेरो आग्रह के हो भने हामी एकता, फेरि एकता र सुदृढ एकतामा जान सकेमा हामी हाम्रो लक्ष्यमा प्रभावकारीरुपमा अघि बढ्न सक्छौँ । मिल्नै नसक्ने भएमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार त छँदैछ । पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति नहुँदा लोकतन्त्र नहुने खालको भावनामा बग्ने काम हामीले गर्नु हुँदैन ।’

Leave a Reply