बाम्का आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकार र बुढीनन्दा नपाको आर्थिक सहयोग

कैलाली । बाजुराको बुढीगंगा नगरपालिका- ६ स्थित बाम्का बजारमा जेठ २३ गते नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर भएको भीषण आगलागीका प्रभावितहरूलाई राहतस्वरूप सुदूरपश्चिम प्रदेश सरकार र बुढीनन्दा नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बुढीगंगा नगरपालिकालाई आगलागी पीडितको राहत तथा पुनःस्थापनाका लागि प्रारम्भिक रूपमा ४० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रारम्भिक चरणमा राहतस्वरूप ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिँदै आगलागीबाट पीडित परिवार र व्यवसायीहरूलाई थप सहायता आवश्यक परेमा त्यसबारे थप निर्णय गरिने बताए ।

उनका अनुसार तत्काल राहतस्वरूप मौज्दातमा रहेका १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपालसमेत उपलब्ध गराइनेछ ।

यसैबीच बुढीनन्दा नगरपालिकाले पनि मानवीय सहायताको रूपमा १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बुढीनन्दाका मेयर जनक बोहराले उक्त रकम बुढीगंगाका मेयर रामबहादुर बानियाँमार्फत हस्तान्तरण गरेका थिए ।

‘दुःखमा सबैको साथ आवश्यक हुन्छ, हाम्रो सानो सहयोगले पीडितहरूलाई केही राहत मिलोस् भन्ने अपेक्षा गरेका छौं’, सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख बोहराले भने ।

आगलागी पीडित स्थानीय व्यापारी र बासिन्दा अहिले कठिन परिस्थितिमा छन् । संघीय सरकारले अझै राहत उपलब्ध नगराएको उनीहरुको गुनासो छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *