पद्मकन्याको छात्रावासको विषयमा पूर्वगाउँपालिका अध्यक्ष र तरुण दलका नेताबीच विवाद भएको खुलासा (भिडिओ)

काठमाडौं । राजधानीको बागबजारस्थित पद्मकन्या क्याम्पसमा पूर्वगाउँपालिका अध्यक्ष र नेपाली कांग्रेस निकट तरुण दलका एक नेताबीच छात्रावासमा विद्यार्थी भर्नासम्बन्धी विषयलाई लिएर विवाद भएको खुलेको छ ।

 

शुक्रबार दिउँसो डडेल्धुराको भागेश्वर गाउँपालिकाका पूर्वअध्यक्ष कौशिला भट्ट र नेपाल तरुण दलका केन्द्रीय सदस्य खीलाकुमारी दाहाल (लक्ष्मी)बीचमा विवाद भएको थियो । उनीहरु दुबै पद्मकन्यामा नेविसंघ इकाइ सभापति भइसकेका हुन् । भट्ट अहिले पद्मकन्यामा राजनीतिशास्त्र विषय लिएर स्नातकोत्तर अध्ययनरत छिन् ।

छात्रावासमा विद्यार्थी छनोटको विषयलाई लिएर विवाद भएको भए पनि शुक्रबार लक्ष्मीले भने भट्टले मादकपदार्थ सेवन गरेर आफूलाई गाली बेइज्जती गरेको आरोप लगाउँदै महानगरीय प्रहरी वृत्त मालीगाउँमा उजुरी दर्ता गरिसकेकी छन् ।

उनले आरोप लगाएको दोस्रो दिन शनिबार नेपाल प्रेसले उक्त भिडियो प्राप्त गरेको छ । उक्त भिडियोमा दुबैले बाझाबाझ गरेको देखिन्छ ।

उजुरी दर्ता गरेकी लक्ष्मीले आफूलाई भट्टले मापसे गरेर गाली बेइज्जती तथा हातपात गरेको नेपाल प्रेससँग बताइन् ।

तर भट्टले भने आफूले मापसे नगरेको र छात्रावासमा विद्यार्थी भर्ना छनोटमा स्ववियु सभापति भूपेश्वरी ऐर (भूपी)ले पक्षपात गरेको भन्दै क्याम्पस प्रशासनसँग आपत्ति जनाएको दाबी गरेकी छन् । उनले भूपी निकटका विद्यार्थीलाई मात्रै छात्रावासमा भर्ना छनोट गरेको भन्दै क्याम्पस प्रमुख प्राध्यापक डा.जयालक्ष्मी प्रधानलाई भेटेर आपत्ति जनाएको जानकारी दिइन् ।

उनले विशेषगरी क्याम्पसका विद्यार्थी एवम् भूपीसँग स्ववियु अध्यक्ष प्रतिस्पर्धा गरेकी पूर्णिमाया परियार र स्मृति सुवेदीलगायतका छात्रावासको जरुरी देखिएका विद्यार्थीलाई किन छात्रावासमा भर्नामा छनोट नगरेको भन्दै आपत्ति जनाएकी थिइन् ।

क्याम्पस इकाइ अध्यक्ष पूर्णिमायाले क्याम्पस प्रमुखसँग स्ववियु अध्यक्षको उम्मेदवार भएकै कारण आफू र नेविसंघ निकट रहेका विद्यार्थीको नाम छनोट नगरिएको भन्दै उक्त सूचीमा पुनर्विचार गर्न शुक्रबार बिहानै आग्रह गरेको बताइन् । दिउँसो भट्टसँगै केही विद्यार्थीले क्याम्पस प्रमुखको पुनः ध्यानाकर्षण गराएका थिए । उनीहरुको ध्यानाकर्षणपछि क्याम्पस प्रमुखले यसमा पुनर्विचार गर्ने प्रतिबद्धता पनि जनाएको भट्टले जानकारी दिइन् ।

क्याम्पस प्रशासनले बिहीबार छात्राबास भर्नाका लागि छनोट भएका ७१ जनाको नामावली सार्वजनिक गरेको थियो । उक्त सूचीमा परियार र सुवेदीको नाम थिएन ।

नेविसंघ क्यापस इकाइ अध्यक्ष परियारले बिहीबार क्याम्पस प्रशासनले सार्वजनिक गरेको छात्रावास भर्ना छनोट भएका ७१ जना विद्यार्थीको सूचीमा स्ववियु अध्यक्ष र व्यवस्थापन नजिक रहेकाको नाममात्रै समेटिएका बताइन् । उपप्रधाध्याक एवम् सहायक क्याम्पस प्रमुख विमला नेपालको संयोजकत्वमा रहेको छनोट समितिले छात्रावास भर्नाको सूची छनोट गरेको हो । आवेदन दिएका १८० मध्ये ७१ जनाको नाम छनोट भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *