काठमाडौं । अनिँदो थिए जनक घर्ती मगर । दुई दिनदेखि सुतेका थिएनन् । हातपाउ थाकेका थिए, फतक्कै गलेका थिए । थकान यस्तो थियो कि उभिएकै ठाउँमा स्वाइँस्वाइँ निदाइदिन सक्थे । न चिसो, न त तातो, भुईं भेट्टाए भुसुक्कै निदाउने तहको थकान थियो । बुवालाई बुटवलबाट बसको यात्रामार्फत दिल्ली पुर्याएका थिए । दिल्लीबाट अमेरिका पठाएपछि रातारात नेपाल फिरेका थिए ।
दुई दिनभित्र बुटवल-दिल्ली ओहोरदोहोर भएको थियो । दिल्लीबाट फर्कंदा चालकले बसलाई रूपेडिया नाका हुँदै नेपालगञ्जको बाटो ल्याए । सुनौली नाका हुँदै बुटवल ल्याएको भए चाँडै ल्याइपुर्याउने थिए । सुनौली-बुटवल नाकाको सडकमा कतै समस्या थियो सायद । नेपालगञ्जको बाटो भएर आउँदा थप समय लाग्यो, साँझमात्र गाडीले बुटवल ओराल्यो ।
बुटवलमा जनकका भाइ बस्थे । बीए एलएलबी पढ्दै थिए । भाइसँगै बुटवलमा रात बिताएर बिहान दाङ फिरेको भए पनि हुन्थ्यो । जनक बुटवलमै रोकिएनन्, रातारात दाङ हुइँकिने तयारीमा लागे ।
भोलिपल्ट दाङमा एउटा व्यावसायिक काम थियो । त्यही काम फत्ते गर्न दाङका लागि कस्सिए जनक । अनिँदा आँखा र थकानले फतक्क भएको ज्यानलाई कारभित्र हुले । हिटर चलाए । गाडीको सिसा बन्द गरे । गाडीभित्र बेग्लै न्यानो भयो । लोकदोहोरीका पारखी थिए । बजारमा भर्खरै आएको नयाँ लोकदोहरी गीत घन्काए । गाडी स्टार्ट गरे । हाइ-वेमा हुइँकाएँ ।
हातमा हाइ-वेमा द्रूत गतिमा गुडिरहेको गाडीको ह्यान्डिल, कानमा नयाँ लोकदोहोरी गीतको स्वाद, थाकेको शरीरमा हिटरको न्यानो ! दुई दिनसम्मको यात्राले थाकेका जनकलाई यति भए के चाहियो !
हुरुरु हुइँकिए… ।
दुर्भाग्य ! २०८१ मङ्सिर २३ को यही हतारपूर्ण यात्राले जनकको जीवनको कोर्स नै बदल्यो । उनलाई हेलिकोप्टरमा चढाएको अलिअलि धमिलो यादमात्रै छ । सपना हो कि जस्तोमात्रै सम्झना छ । व्युँझिँदा काठमाडौंको ट्रमा सेन्टरको आईसीयुमा थिए ।
दाङसम्मको यात्रामा निस्केका जनक कसरी अस्पतालको बेडमा आइपुगे ? सपना हो वा विपना ? एकछिन त अलमलमा परे ।
बुझ्दै जाँदा थाहा पाए- २३ गते राति दुर्घटना भएछ । कार कुदाएको ३०-३५ मिनेटमै दुर्घटना भएछ । कार सीधा गएर वरको ठूलो रुखमा झड्याम्म ठोक्किएछ । कार क्षतविक्षत भएछ । कारमात्रै होइन, जनक पनि कारभन्दा ज्यादा क्षतविक्षत भएछन् । उनको मेरुदण्डको टी-फोर र टी-फाइभमा कम्प्लिट इन्जुरी भएछ । मूल नशा नै चुँडिएछ । छातीदेखि ओरालो पूर्ण रूपमा प्यारालाइज भएछ । छातीदेखि ओरालो मृतप्रायः भइसकेछ, चिमोटेको समेत थाहा नपाउने भइसकेछ ।
‘मलाई त केही थाहै छैन । निदाएँ वा के भयो, केही पत्तो छैन । व्युँझँदा आईसीयुमा थिएँ’, मातातीर्थस्थित घरमा जनकले सुनाए, ‘जे जस्तो भए पनि ढिलोचाँडो निको होला भन्ने लागेको थियो, तर निको हुने सम्भावना एक प्रतिशत छ भन्नुभयो डाक्टरले । मिराकल नै हुनुपर्ने रैछ ।’
धेरैले मदिराको तालमा कार ठोक्काए भनेर शंका गरे पनि आफूले मदिरा नपिएको बताउँछन् जनक । के भयो, के भयो, आफूले कुनै मेसो नै नपाएको उनको भनाइ छ ।
‘घरज्वाइँ’ लिएर रुकुम जाँदा सग्ला थिए…
गत वर्ष असारमा चलचित्र ‘घरज्वाइँ’ रिलिज भएको थियो । दयाहाङ राई, मिरुना मगर स्टारर यस चलचित्रका निर्देशक थिए अनिल बुढामगर । एकल निर्माता थिए जनक घर्ती मगर । चलचित्रमा दुई करोड २६ लाख लगानी गरेका थिए ।
चलचित्रलाई दर्शकले खुबै रुचाए । बक्स अफिसमा हिट भयो । पाँच करोडमाथि ग्रस कलेक्सन गरेको रेकर्ड विकास बोर्डसँग छ । विकास बोर्डको सर्भरले काम नगरेका हलहरू पनि थिए । कतिपय हललाई वितरकले ठेक्कामै पनि चलचित्र दिएका थिए । विदेशको राइटस्को रकम अलग थियो । डिजिटल राइटस्को रकम अलग्गै थियो ।
चलचित्रले कतिपय हलमा ५१ औं दिन मनायो । चलचित्रलाई मगर समुदायको प्रेरणादायी साथ थियो । सुटिङ पनि रुकुमको तकसेरा, लुगुमतिर गरिएको थियो । स्थानीय जनताले पनि हार्दिकताका साथ सुटिङमा साथ दिएका थिए ।
स्थानीयले दिएको गुणको बदलामा गुण नै तिर्न ‘घरज्वाइँ’ टोलीले लुगुम र तकसेरामै चलचित्र देखाइदिए । स्थानीयले रमाउँदै चलचित्र हेरे । बुढापाका, बालबालिका सबैले हेरे । चलचित्रभित्र छिटफुट मात्रामा आफूलाई देख्दा रमाए । हुटिङ गरे । ३ हजार ५०० जतिले हेरे, सबै खुसी भए ।
यसपछि पनि पारिवारिक कामले जनक उतै रहे । उतै रहँदारहँदै काठमाडौं जानै नपाई भयानक दुर्घटनामा परे ।
निर्देशकले निर्माता खोज्छन्, जनकले निर्देशक खोजिहिँडे
रोल्पामा बाल्यकाल गुजारेका जनकको नोस्टालजियामा अहिले पनि राजेश हमालको ‘अर्जुन’ नामक चलचित्रका धमिला दृश्यहरू छन् । उनी चलचित्रको मोहमा परेको पहिलो चलचित्र नै त्यही थियो । अलि पछि दाङ झरे जनक । दाङ झरे पनि चलचित्रको नशाले छाडेको थिएन- हिरो हुनलाई के चाहिन्छ ? त्यही डान्स गर्न जान्नुपर्यो । फाइट हान्न आउनुपर्यो । अभिनय गर्न जान्नुपर्यो ।
उनले तेक्वान्दो सिक्न थाले । तेक्वान्दो खेल्दाखेल्दै थाहै नपाई जनकले ब्ल्याकबेल्ट हासिल गरे । सेकेन्ड डनसम्म पुगे । खेलाडीको रूपमा राष्ट्रियस्तरको खेलहरू पनि खेले । एसएलसीपछि काठमाडौं आए । पिनाकल एकेडेमीमा साइन्स पढे । दिमागबाट हिरोको भूत भने उत्रिसकेको थिएन । एक दिन एक साथीले सुनाए, ‘फिल्म पढ्ने कलेज पनि छ ।’
जनकलाई के चाहियो ! ओस्कार कलेजमा भर्ना भए, आठौं ब्याजको रूपमा ।
‘सेकेन्ड इयर पढ्दा मैले रोल्पा रोग भन्ने चलचित्र नै बनाएँ । दीपक ओलीले निर्देशन गर्नुभएको थियो’, जनक सुनाउँछन्, ‘चलचित्र खेलिसकेपछि लाग्यो, कलाकार भइखान सकिँदैन । बरु निर्माता हुन्छु, राम्रो चलचित्र बनाउँछु ।’
पारिवारिक अवस्था राम्रै भएकाले चलचित्र निर्माता बन्ने आँट थियो जनकसँग । चलचित्र बनाउन दुईचार जना निर्देशकसँग समेत छलफल गरे । स्क्रिप्ट लेख्नलाई रोल्पा पुर्याए । दुईचार लाखसमेत खर्च गरे । जनक सुनाउँछन्, ‘अरु निर्देशकहरू निर्माता खोजेर हिँड्छन्, म चाहिँ निर्देशक खोज्दै हिँडेँ, तर ती निर्देशकहरूले मलाई धोका दिए । अहिले पनि उहाँहरूले चलचित्र बनाउन सक्नुभएको छैन ।’
निर्देशकबाट धोका पाएर बसिरहेको बेला जनकको भेट अनिल बुढासँग भयो । डकुमेन्ट्रीहरू बनाइसकेका अनिल चलचित्र बनाउने तयारीमा थिए । निर्देशकबाट धोका खाएका जनक लगानी गर्न तयार थिए । अनि दुवैको भेटको उपज बन्यो- ‘घरज्वाइँ’ ।
अस्पतालको बेडबाट नयाँ चलचित्र ‘मितज्यू’ घोषणा
घरज्वाइँको सफलता राम्रोसँग सेलिब्रेट नगरी जनक दुर्घटनामा परे । जनकलाई दुर्घटनाअघिसम्म कुनै रोग लागेको थिएन । ज्वरोसम्म आएको थिएन । जनक सुनाउँछन्, ‘त्यस्तो मान्छे थिएँ म, अहिले अचम्म भयो । अब जिउँदो भनेको टाउकोमात्रै बाँकी छ ।’
जनक १३ दिन आईसीयूमा बसे । दुई दिन नर्मल वार्डमा बसे । डाक्टरले भन्यो, ‘हामीले गर्नसक्ने यतिमात्रै हो ।’
यसपछि उनी थेरापीमा गए । थेरापीमा गएको दुईतीन दिनमै घोषणा गरे, नयाँ ‘मितज्यू’ । अनिल बुढाले नै निर्देशन गर्ने यस चलचित्रमा दयाहाङ र तेरिया मगर मुख्य भूमिकामा छन् ।
‘मैले चलचित्र घोषणा गरेपछि सबैले मेरो दुर्घटना सामान्य रहेछ भन्ने सोच्नुभयो । फोनमा पनि म सामान्यतया जिस्किएर कुरा गर्थें । केटो निको भएर काममा लागिसकेछ भन्ने सोचेछन्’, ह्वीलचेयरको चक्का घुमाउँदै ३० वर्षीय जनक हाँस्दै सुनाउँछन्, ‘मैले चलचित्र घोषणा गरेपछि परिवार पनि अचम्ममा परेको थियो ।’
सुरुमा अनिल र जनक यही ‘मितज्यू’मा काम गर्न तम्सिएका थिए, तर लकडाउनले उनीहरूको योजना फरक बन्यो । ‘मितज्यू’को बजेट पनि अलि धेरै थियो । त्यसैले दुवैले ‘घरज्वाइँ’मा काम गरे । अहिले त्यही ६ वर्ष पुरानो ‘मितज्यू’लाई दुवैले व्युँताएका छन् ।
‘जिउनुको अर्थसहित जिउनुपर्छ भन्छु म । यहाँ अमर कोही छैन, सबैजना एक दिन मर्ने नै हो । मर्दा केही न केही काम छाडौँ भनेर काम गरिरहेको छु’, जनक आत्मविश्वासी सुनिन्छन्, ‘मैले बनाएको धेरै सम्बन्ध पैसाका कारण थिएछ, ती काम लागेनन् । परिवारले मात्रै तपाईंलाई हरतरहले साथ दिन्छ । यो कुरा पछिल्लो समय झनै बुझ्दैछु ।’
अहिले घरमै बसेर थेरापी गरिरहेका छन् जनक । एक्सरसाइज गर्छन्, घरको भुईंतलामा बसिरहेका छन् । छातीभन्दा मुनि पूर्ण प्यारालाइज भएकाले समय हेरेर दिसापिसाब निकाल्नुपर्छ ।
चलचित्रका कामहरू मोबाइलबाटै गर्छन् । बाँकी फाइनान्सियल काममा एक जना प्रोडक्सन म्यानेजरले साथ दिइरहेका छन् । कलाकारसँग सम्झौता गर्ने, कागजपत्र मिलाउने काम तिनै भाइको हो । अहिले ‘मितज्यू’को प्रि-प्रोडक्सनको काम भइरहेको छ । आउँदो मङ्सिरमा सुटिङमा जाने योजना छ ।
अनि चलचित्र रिलिज कहिले गर्ने ?
‘आउँदो नयाँ वर्षमा’, जनकले सुनाए ।

Leave a Reply