नेपाली कम्युनिष्ट आन्दोलनले उग्रवामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादका विरुद्ध संघर्ष गरेर नै आफूलाई सही सावित गरेको छ । हाम्रो पार्टी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले अवसरवादका विरुद्ध संघर्ष गर्नुपर्ने नारा तय गरेको छ । अवसरवादका विरुद्धको संघर्षलाई राजनीतिको केन्द्र भागमा राखेको छ । अवसरवादविरोधी संघर्षमा नेपाली जनताले सदैव नेपाली वामपन्थीहरूलाई साथ र समर्थन दिएका छन् । निर्वाचित गरेका छन् र सरकारमा पुर्याएका पनि छन् । अवसरवादसँग संघर्ष गरेर नै नेपालीमा जनवादी पुँजीवादी क्रान्ति सम्पन्न गर्न नेपाली कम्युनिष्टहरूलाई सफलता मिलेको हो । नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद विभिन्न रूपमा प्रकट भएको छ ।
अवसरवाद भनेको मौका छोपेर स्वार्थ पूरा गर्न आफ्नो सिद्धान्त नै फेर्ने, अडान फेर्ने निम्न पुँजीवादी चरित्र हो । राजनीतिक क्षेत्रमा सैद्धान्तिक, वैचारिक तथा व्यावहारिक अडान बदल्ने चरित्र नै अवसरवाद हो । यो प्रवृत्तिले जता फाइदा देख्यो, उतै लाग्ने व्यक्ति वा समूहको प्रतिनिधित्व गर्छ । स्वयं मार्क्सले ‘दक्षिणपन्थी, मध्यपन्थी र वामपन्थी’ गरी तीनखाले अवसरवादको रूप हुन्छ भनेका छन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले पार्टीमा दक्षिणपन्थी अवसरवाद खतराका रूपमा देखापरेको स्वीकार गरेको छ । नेपालको वामपन्थी आन्दोलनमा वामपन्थी र दक्षिणपन्थी अवसरवाद बेलाबेला प्रकट भएको छ ।
दशौं महाधिवेशनमा आइपुगेपछि दक्षिणपन्थी अवसरवाद प्रकट रूपमा देखिएको सत्यलाई महाधिवेशनले स्वीकार गरेको छ । वामपन्थी आन्दोलनमा दक्षिणपन्थी अवसरवाद कसरी व्यक्त हुन्छ भन्ने सन्दर्भमा एँल्गेसले यो प्रवृत्तिलाई ‘सोझो र इमानदार देखिए पनि लक्ष्य बिर्सन्छ, आत्मकेन्द्रित स्वार्थमा रमाउँछ, क्षणिक फाइदाका लागि मरिहत्ते गर्छ । वर्तमानका लागि भविष्य छोड्छ, साथीभाइ र आन्दोलन विभाजन गरेर पुँजीवादी शक्तिसँग गठबन्धनमा रमाउँछ’ भनेका छन् । एँगेल्सको यो विश्लेषण नेपालमा विगतमा रायमाझी प्रवृत्तिलाई भनियो । नेकपाकालमा माधव नेपाल र प्रचण्डमा यो प्रवृत्ति देखियो । यो प्रवृत्तिले कम्युनिष्ट पार्टीको सरकारका विरुद्ध सत्ता राजनीतिबाट किनारामा धकेलिएका विपक्षीलाई सत्तामा पुर्याउने काम गर्यो ।
दक्षिणपन्थी अवसरवादी प्रवृत्ति दलाल पुँजीवादसँग मिलेमतो गरेर, गठबन्धन गरेर र श्रमजीवीको विरोधमा उभिन्छ । कम्युनिष्ट पार्टीको विभाजनमा शक्ति देख्छ । भ्रष्ट आचरणका माध्यमबाट आन्दोलनमा वितृष्णा ल्याउँछ । आन्दोलनमा भ्रमको सिर्जना गर्छ । अवसरवादले आन्दोलनको लक्ष्यबाट धेरै युवा पङ्क्तिलाई भ्रमित बनाइ पपुलिजममा रमाउन खोज्ने बनाउँछ । आत्मकेन्द्रित र कुण्ठाग्रस्त नेतृत्वले पार्टी र आन्दोलनलाई दूषित बनाउँछ । यसैले दशौं महाधिवेशनले यो अवसरवादलाई परास्त गरेरमात्र विजय सम्भव हुने किटान गरेको छ । यो पार्टी निर्माणको आधारभूत काम पनि हो ।
वामपन्थी आन्दोलनमा दक्षिणपन्थी अवसरवाद कसरी व्यक्त हुन्छ भन्ने सन्दर्भमा एँल्गेसले यो प्रवृत्तिलाई ‘सोझो र इमानदार देखिए पनि लक्ष्य बिर्सन्छ, आत्मकेन्द्रित स्वार्थमा रमाउँछ, क्षणिक फाइदाका लागि मरिहत्ते गर्छ । वर्तमानका लागि भविष्य छोड्छ, साथीभाइ र आन्दोलन विभाजन गरेर पुँजीवादी शक्तिसँग गठबन्धनमा रमाउँछ’ भनेका छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादभित्र निम्नानुसार गलत चिन्तन प्रवृत्ति र दृष्टिकोण देखापरेका छन् । यो प्रवृत्ति र चरित्रलाई बुझ्नु जरुरी छ । के कस्ता विधि र व्यवहारमा दक्षिणपन्थ प्रकट हुन्छ भन्ने जानेर नै यो प्रवृत्ति र चरित्रलाई समयमै चिन्न र बुझ्न सकिन्छ । दक्षिणपन्थी विचारलाई चिनेपछि यसविरुद्ध लड्न र आन्दोलनलाई जोगाई अघि बढ्न सजिलो हुन्छ । हरेक मुलुकको विशिष्टतामा दक्षिणपन्थीहरू प्रकट हुन्छन् । कम्युनिष्ट पार्टीभित्र देखापर्ने दक्षिणपन्थीहरू आफूलाई सिद्धान्तनिष्ठ, क्रान्तिकारी, अत्यन्त सज्जन भएको स्वाङ रच्छन्, तर व्यवहारमा सिर्जनात्मकताका विरोधी, डरपोक, स्वार्थी, फाइदाका लागि मरिहत्ते गर्ने पदलोलुप हुन्छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका दक्षिणपन्थी प्रवृत्तिलाई निम्नानुसार चर्चा गर्न सकिन्छः
जडसूत्रवाद
जडसूत्रवादीहरू सिद्धान्तप्रति घनघोर माया र आस्था देखाउँछन्, तर त्यसको गतिशीलता र सिर्जनशीलतालाई बुझ्दैनन् र सिद्धान्तलाई जड बनाउँछन् । देश, काल, परिस्थितिअनुसार यसलाई बुझ्ने, विश्लेषण गर्ने, प्रयोग गर्ने कुराको विरोध गर्छन् । जडसूत्रवाद गैरमार्क्सवादी विचार र प्रवृत्ति हो । यसले कुनै पनि सिद्धान्त, विचार, नीति, वस्तु र सामाजिक गतिशीलतालाई बोध गर्दैन । यसले सिर्जनशीलतालाई अवरोध गर्छ ।वास्तवमा जडसूत्रवादीहरू एकांगी हुन्छन् । उनीहरू छद्मभेषी र गफाडी मार्क्सवादी हुन् । उनीहरू आफूलाई अब्बल सिद्धान्तनिष्ठ, जनताको सेवक ठान्छन्, तर अनुभवहीन नादान युवा पंक्तिलाई आफ्नो गफले भुलभुलैयामा राख्छन् ।
यिनका क्रान्तिका रोमान्टिक कुरा मुलुकको वस्तुगत अवस्थासँग मेल खाँदैन, तर आत्मगत अवस्थाका कारण आफूलाई क्रान्तिको प्राधिकार घोषणा गर्न पनि पछि पर्दैनन् । यिनीहरू सिद्धान्त र व्यवहार बीचको एकरूपतामा जोड दिँदैनन् । सिद्धान्तलाई व्यवहारसँग जोड्न नजान्नेहरू नै वास्तवमा जडसूत्रवादीहरू हुन् । उनीहरू सिद्धान्तका लागि जीवनको वकालत गर्छन् । जबकि मार्क्सवादीहरू जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्छन् । सिद्धान्तलाई जडतामा बुझ्ने र सोहीअनुसारको व्यवहार गर्ने भएकाले जडसूत्रवादीका व्यवहारले अन्ततः जनताका वैरीलाई सहयोग पुग्छ । प्रकारान्तरले जडसूत्रवाद दक्षिणपन्थी अवसरवाद हो ।
व्यक्तिवाद
कम्युनिष्ट पार्टी सामूहिक हितमा प्रतिबद्ध पार्टी हो । समाजमा रहेका चरित्रहरूले पार्टी राजनीति र संगठनात्मक जीवनमा पनि प्रभाव पार्छ । व्यक्तिहरू आफ्नो प्रभाव र स्वार्थमा पार्टीका नीतिहरूमा हस्तक्षेप गर्न खोज्छन् । जसका कारण पार्टी र आन्दोलन गलत दिशातर्फ मोडिने खतरा हुन्छ । यो प्रवृत्ति पनि अवसरवादी प्रवृत्ति हो । आन्दोलनमा देखापर्ने यस्ता चरित्रको पार्टी संगठनमा आलोचना गर्नेहरूलाई पार्टीभित्र र बाहिर बदला लिने, दागा धर्ने गलत प्रवृत्ति व्यक्तिवादी प्रवृत्ति हो । व्यक्तिवादका पक्षधरहरू आफ्नो हितमा आत्मलिप्त हुने, गुट वा सानो समूहको मात्र स्वार्थ हेर्ने, तर सिंगो पार्टी, पार्टीका सदस्यहरू वा कमिटीको हितलाई नर्हेने प्रवृत्तिका हुन् ।
व्यक्तिवादले कुनै पात्रलाई आदर्शीकरण गर्छ र आफ्नो स्वार्थको रोटी सेक्ने गर्छ । यो प्रवृत्तिले पार्टीका सदस्यहरू र स्वयं पार्टीलाई मार्क्सवादी-लेनिनवादी बन्नमा समस्या सिर्जना गर्छ । पार्टी जीवनमा गडबडीमात्र नित्याउँछ ।
यी क्रान्ति, वर्ग वा पार्टीप्रति बफादार नहुने, तर कुनै अमूक नेता वा व्यक्तिप्रति बफादार रहने, चाकडी, चाप्लुसी गर्ने प्रवृत्तिका हुन्छन् । व्यक्तिवादले कुनै पात्रलाई आदर्शीकरण गर्छ र आफ्नो स्वार्थको रोटी सेक्ने गर्छ । यो प्रवृत्तिले पार्टीका सदस्यहरू र स्वयं पार्टीलाई मार्क्सवादी-लेनिनवादी बन्नमा समस्या सिर्जना गर्छ । पार्टी जीवनमा गडबडीमात्र नित्याउँछ । सिंगो क्रान्ति, वर्ग र पार्टीको हितमा नभई आफ्नो व्यक्तिगत हितमा, खुसीमा, स्वार्थमा लिप्त रहने र आफूले भनेको जस्तो भएन भने पार्टी छाड्ने, निष्क्रिय रहने, धम्की दिने प्रवृत्ति व्यक्तिवाद हो । व्यक्तिवादको चरित्रलाई यसरी बुझ्न सकिन्छ ।
- यो प्रवृत्तिले आलोचनालाई स्वीकार्ने र आफूलाई रूपान्तरित गर्न चाहन्न । बरु कसैले आलोचना गरेको खण्डमा पार्टीभित्र वा बाहिर प्रतिशोध वा बदला लिने गर्छ । यो प्रवृत्तिले वर्ग, वर्गसंघर्ष र पार्टीलाई नजरअन्दाज गर्ने भएकाले यो प्रवृत्ति ध्वंसात्मक हुन्छ । आफ्नो स्वार्थ पूरा गर्न प्रतिशोधपूर्ण व्यवहार देखाउँछ ।
- व्यक्तिवाद साना समूह मानसिकतामा रमाउँछ । ससाना गुट निर्माण गर्ने, तर समूहमा ध्यान नदिने स्वभाव देखाउँछ । हरदम आफ्ना प्रशंसकसँग रमाउने गर्छ, तर वर्ग र पार्टीको सामूहिक हितमा भन्दा व्यक्तिगत हितमा निर्लिप्त हुने भएकाले स्वार्थ पूरा गर्नमात्र ध्यान दिने प्रवृत्ति हुन्छ । स्वार्थ पूरा नहुने देखेमा ध्वंसात्मक र केन्द्रविरोधी प्रवृत्ति प्रकट गर्छ ।
- व्यक्तिवादको घिनलाग्दो चरित्र दास मानसिकता हो । यसले पार्टी र क्रान्तिप्रतिको उत्तरदायित्व भुल्ने गर्छ, तर गुटको वा आफ्नो स्वार्थ समूहको नेताप्रतिको वफादारितालाई ठूलो ठान्ने प्रवृत्ति देखाउँछ । स्वार्थ मिलेपछि सिद्धान्त र आदर्शलाई तिलाञ्जलि दिन्छ ।
- व्यक्तिवादी सोचले केवल आफूलाई केन्द्रमा राख्छ । आफूलाई अजंगको क्रान्तिकारी ठान्छ । अवसर, सुख, सहुलियत खोज्ने प्रवृत्ति विभिन्न बहानामा प्रकट गर्छ । पार्टीभित्र सजिलो, रमाइलो र सुरक्षित ठाउँ र पदमा मात्र काम गर्ने प्रवृत्ति देखाउँछ । चुनावमा आफैंमात्र जित्ने दाबी गर्छ । टिकट नपाएमा, नजितेमा, चाहेको जिम्मेवारी नपाएमा निष्क्रिय हुने, निराश हुने र काम नगर्ने प्रवृत्तिका रूपमा व्यक्तिवाद प्रकट हुन्छ ।
- आफ्नो इच्छाअनुसारको काम वा जिम्मेवारी भएन भने काममा निष्क्रिय हुने प्रवृत्ति पनि व्यक्तिवादी प्रवृत्ति हो । यी पाँच प्रवृत्तिहरू व्यक्तिवादी प्रवृत्ति हुन् । व्यक्तिवाद अवसरवाद हो । पार्टीभित्र देखापरेको व्यक्तिवादी अवसरवादलाई वैचारिक शिक्षादीक्षा र प्रशिक्षणका माध्यमबाट सुधार गर्नुपर्छ । जिम्मेवारी दिने, काममा लगाउने र अनुशासन पालना गर्न प्रेरित गरेर व्यक्तिवादी प्रवृत्तिमा सुधार गर्न सकिन्छ र सामूहिक हितमा काम लगाउन सकिन्छ ।
मनोगतवाद
पार्टी र आन्दोलनमा आफूलाई ठीक लागेका कुरा गर्ने, सामूहिकतामा विश्वास नगर्ने, खुकुलो आधारहीन कुरा गर्ने, शंका गर्ने प्रवृत्ति मनोगतवाद हो । महत्वपूर्ण कुरामा गल्ती कमजोरीको आलोचना नगर्ने, तर मामुली, ससाना कुरामा आलोचना गर्ने प्रवृत्ति मनोगतवाद हो । तीललाई पहाड बनाउने प्रवृत्ति हो, यसले आफैंभित्र शंकाको पहाड सिर्जना गर्छ र शत्रुतापूर्ण व्यवहार प्रदर्शन गर्छ । जसका कारण पार्टी र आन्दोलनमा क्षति पुग्छ । यो गैरमार्क्सवादी प्रवृत्ति हो ।
व्यक्तिवादको घिनलाग्दो चरित्र दास मानसिकता हो । यसले पार्टी र क्रान्तिप्रतिको उत्तरदायित्व भुल्ने गर्छ, तर गुटको वा आफ्नो स्वार्थ समूहको नेताप्रतिको वफादारितालाई ठूलो ठान्ने प्रवृत्ति देखाउँछ । स्वार्थ मिलेपछि सिद्धान्त र आदर्शलाई तिलाञ्जलि दिन्छ ।
मनोगतवाद अन्त्य गर्न पार्टी कार्यकर्ता र सदस्यहरूलाई राजनीतिक अवस्थाको विश्लेषण गर्न, वर्ग शक्तिको मूल्यांकन मार्क्सवादी, लेनिनवादी र जजबवादी दृष्टिकोणको आधारमा गर्न प्रशिक्षित गर्नुपर्छ । सामाजिक तथा आर्थिक क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न सिकाउनुपर्छ । यसबाट संघर्षका कार्यनीति र कामका तरिकाहरू निर्धारण गर्न सहयोग पुग्छ । अध्ययन, अनुसन्धानविना वास्तविक अवस्था थाहा हुँदैन । आन्दोलनमा वस्तुगत अवस्थाको ठोस जानकारीविना नै आत्मगत अवस्थामा भर गरेर, परिस्थिति परिपक्व बनेको विश्लेषण गरेर असम्भव र काल्पनिक कुराहरूका भरमा गतिविधि सञ्चालन गर्छन् ।
आन्दोलन वा संघर्ष सञ्चालनमा ‘वामपन्थी’ हुन पुग्छन् र हिसांत्मक गतिविधि गर्न प्रेरित हुन्छन् । यस प्रवृत्तिबाट पार्टी र आन्दोलनलाई खाल्डोमा पुग्नबाट जोगिन र जोगाउन हरदम वैचारिक काममा केन्द्रित रहनुपर्छ । सदस्यहरू र कमिटीका कामलाई वस्तुगत अवस्थाको कसीमा परीक्षण गर्नुपर्छ । वस्तुगत अवस्थालाई ख्याल नगरी मनोगत अवस्थामा केन्द्रित हुँदा पार्टी र आन्दोलनमा क्षति पुग्छ । अवसरवादीहरू मनोगतवादी हुन्छन् । यो प्रवृत्ति मार्क्सवाद-लेनिनवाद र जबजविरुद्ध छ । यो कम्युनिष्टविरोधी शैली हो ।
उदारतावाद
यो शान्ति र स्थिरताको नाममा गल्ती ढाकछोप गर्ने प्रवृत्ति हो । सांगठनिक होइन, व्यक्तिगत ढंगले गैरजिम्मेवारी हुने प्रवृत्ति उदारवाद हो । उदारवादका अन्य उदाहरण निम्न छन्ः
- वैचारिकताको अभावमा व्यक्तिगत आलोचना गर्ने ।
- आफूलाई हानि नहुने द्वन्द्व र अन्तर्विरोध हल गर्न ध्यान नदिने ।
- विशेष सहुलियतको माग गर्ने, अनुशासन पालना नगर्ने ।
- पार्टीको प्रगति र एकताको लागि भन्दै व्यक्तिगत स्वार्थ केन्द्रित आक्रमण गर्ने, बदला लिने ।
- गलत विचारप्रति आनन्द मानेर बस्ने, अध्ययन र छानबिन गरी समस्या समाधान गर्नुपर्नेमा गलत दृष्टिकोणप्रति केही नभए झैं गरी बेवास्ता गर्ने ।
- जनताबीच नपुग्ने, सही कुराको प्रचार नगर्ने, सोधपुछ तथा अनुसन्धान नगर्ने, जनताको समस्यामा कुनै पर्वाह नगर्ने ।
- जनतालाई नोक्सान हुने काम नरोक्ने बरु निरन्तर गरिरहन दिने ।
- योजनाविहीन ढंगले, अर्धमनले काम गर्ने तथा आफूलाई मात्रै क्रान्तिकारी ठान्ने र आफ्ना स्वार्थ पूरा हुँदा वर्ग दुश्मनसँगपनि साखुल्ले हुने ।
- वस्तुस्थितिको अध्ययन नगर्ने, महत्वपूर्ण काममा ध्यान नदिने ।
- आफ्नो गल्तीप्रति सचेत नहुने र सच्च्याउन प्रयत्न नगर्ने ।
उदारतावादले मार्क्सवादी क्रान्तिकारी सामूहिकतावादलाई हानि पुर्याउँछ । पार्टीको एकता कमजोर पार्छ । एकताबद्ध हुने कुरामा बेवास्ता गर्छ । आन्दोलन र पार्टीभित्र उदासीनता भित्र्याउँछ । संगठनात्मक अन्तरद्वन्द्व सिर्जना गर्छ । गडबडीमात्र सिर्जना गरिरहन्छ ।
उदारतावादले मार्क्सवादी क्रान्तिकारी सामूहिकतावादलाई हानि पुर्याउँछ । पार्टीको एकता कमजोर पार्छ । एकताबद्ध हुने कुरामा बेवास्ता गर्छ । आन्दोलन र पार्टीभित्र उदासीनता भित्र्याउँछ । संगठनात्मक अन्तरद्वन्द्व सिर्जना गर्छ । गडबडीमात्र सिर्जना गरिरहन्छ । अनुशासनहीनता बढाउँछ । पार्टीलाई जनताबाट अलगथलग गर्छ । नीति कार्यक्रम कार्यान्वयन गर्न अवरोध पैदा गर्छ । यो एकदम गलत प्रवृत्ति र दृष्टिकोण हो । यो प्रवृत्ति निम्न पुँजीवादी स्वार्थीपनाबाट जन्मन्छ । यसले व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन्छ । क्रान्तिको स्वार्थलाई गौण ठान्छ । यसबाट सैद्धान्तिक, राजनीतिक र सांगठनिक उदारतावाद जन्मन्छ ।
उदारवादी व्यक्तिहरूले मार्क्सवादलाई अमूर्त सूत्रको रूपमा हेर्छन् । मार्क्सवाद मान्ने स्वाङ रच्छन्, तर कार्यान्वयन गर्दैनन् । उदारवादलाई मार्क्सवादको आलोकमा प्रतिस्थापन गर्न तयार हुँदैनन् । यो प्रवृत्तिले वकालत त मार्क्सवादको गर्छ, तर अभ्यास उदारतावादको गर्छ । उदारतावाद दक्षिणपन्थी अवसरवादको आधार हो । जुन मार्क्सवादविपरीत छ । यसले पार्टीलाई हानि पुर्याउँछ र शत्रुलाई फाइदा पुर्याउँछ ।
अवसरवादविरुद्ध काम गर्ने कौशल
१- आन्दोलन र पार्टीभित्र देखापर्ने गलत प्रवृत्ति र व्यक्तिविरुद्ध बेलैमा संघर्ष गर्नु र क्रान्तिकारिता जोगाइरहनु हरेक क्रान्तिकारीको जिम्मेवारी हो । यसका लागि पार्टी कमिटीका अगुवाहरूले आफ्नो कार्यकौशल प्रदर्शन गर्नुपर्छ । पार्टी कमिटीहरूको काम गर्ने तरिकामा फरकपन देखाउनुपर्छ । पार्टीलाई क्रान्तिकारी विचारधाराले लैस गराइरहनु र पार्टीलाई हरदम जनताको पार्टीका रूपमा अनुमोदित गराउन कमिटीका प्रमुखहरूले गर्ने कामहरू अरुभन्दा फरक तरिकाले गर्नुपर्छ । हाम्रा पार्टी कमिटीका प्रमुखहरू असल हुनुपर्छ । यो आमचरित्र हो, तर उनीहरूले आम र विशिष्ट नीतिहरू चिन्नु, बुझ्नु, कमिटीमा पारित गर्नु र लागु गर्नुमा आफूलाई पोख्त बनाउनुपर्छ ।
बैठकहरूको आयोजना गर्न, त्यसको तयारी र सम्पन्न गर्ने कुरामा आफ्नो कुशलता देखाउनुपर्छ । बैठकले लिएका निर्णयहरूको कार्यान्वयनमा ख्याल पुर्याउन कमिटीका सदस्यहरूलाई उत्प्रेरित गरिरहनुपर्छ । कमिटिका सदस्यहरू समाजका विभिन्न क्षेत्र, वर्ग र समुदायबाट आएका हुन्छन्, तिनका सिकाइ, बुझाइ र कार्यशैलीमा एकरूपता ल्याउन स्कुलिङ सञ्चालनमा ध्यान दिनु पार्टी प्रमुखहरूको दायित्वभित्र नै पर्छ ।
२- पार्टी र समाजमा समस्याहरू हुन्छन् । व्यक्तिका पनि समस्याहरू हुन्छन् । समस्याको समाधान हुन्छ । कमिटीका प्रमुखहरूले समस्यालाई चिन्नु र बुझ्नुपर्छ । व्यक्तिगत समस्या र सामाजिक समस्या वा पार्टीगत समस्यालाई एकापसमा घोलमाल गर्नुहुन्न । गर्न दिनु हुन्न । छुट्ट्याउनुपर्छ र समाधान गर्नुपर्छ । समस्याहरू आम र विशिष्ट हुन्छन् । सबै समस्या कमिटीमा राख्नुपर्छ । कमिटीले नै समस्या समाधान गर्नसक्छ । कमिटी प्रमुखले माथिल्लो र तल्ला कमिटीका बीच समन्वय गर्नुपर्छ । माथिल्ला कमिटीका निर्देशन र योजनाहरू विशिष्टताका आधारमा कार्यान्वयन गर्ने योजना निर्माण गर्ने र कमिटीलाई सोहीअनुसार क्रियाशील बनाउने जिम्मेवारी पार्टी प्रमुखको नै हुन्छ ।
३- सूचनाको आदानप्रदान गर्नुपर्छ । यो सूचनाको समय हो, हरेक सदस्य र प्रत्येक कमिटीले सूचना प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्छ । सूचनाका विश्लेषण गर्ने र सदस्यहरूबीच सम्प्रेषण गर्नुपर्छ । कमिटी र कमिटी प्रमुखहरूले सही सूचना समयमै कमिटी सदस्यहरूबीच आदानप्रदान गरिरहनुपर्छ । सबै समस्याहरूमा समान धारणाको निर्माण गर्नुपर्छ । यसो गर्दामात्र गलत सूचनाले प्रभाव पर्नसक्दैन । ठीक समयमा ठीक निर्णयमा पुग्न सूचनाले सहयोग पुग्छ ।
दक्षिणपन्थी अवसरवादलाई परास्त गर्न वैचारिक रूपमा नै सक्षम नेता कार्यकर्ताहरूको पङ्क्ति तयार गर्नुपर्छ । आफ्ना विचार र व्यवहारलाई जनताको नजरमा परीक्षण गरेर अब्बल हुनुपर्छ ।
४- सबै मान्छे सबै कुराको विज्ञ बन्दैन । आफूले नबुझेका नजानेका कुरा कमिटी सदस्यसँग सोध्ने गर्नुपर्छ । कुनै पनि विषयमा कमिटीका प्रमुख र सदस्यहरूले ती हल्काफुल्का टिप्पणी नगर्ने गर्नुपर्छ । बोल्दा, भाषण गर्दा वा लेख्दा तथ्यमा आधारित भएर गर्नुपर्छ । कुनै विषयको समर्थन वा विरोधमा आफ्ना विचार राख्नुअघि ती विषयको गहिराइमा अध्ययन गर्नुपर्छ । छलफल र कुराकानीहरू व्यक्ति केन्द्रित होइन, नीति केन्द्रित गर्नुपर्छ । यसो हुँदा व्यक्तिहरूलाई सच्याउन, तिनका गलत बुझाईलाई सुधार गर्न र क्रान्तिप्रति प्रतिबद्ध बनाइरहन सकिन्छ । माओले ‘शिक्षक बन्नुअघि विद्यार्थी बन’ भनेकोबाट धेरै कुरा सिक्न सकिन्छ ।
५- चिनियाँ कम्युनिष्ट पार्टीमा माओले पियानो बजाउन सिक भनेका छन् । सुमधुर संगीतको सिर्जनाका लागि हातका १० वटा औंलाहरूको कुशलतापूर्ण सञ्चालनले सिर्जना हुन्छ । राम्रो संगीत बजाउन १० वटा औंला सबै लयमा चल्नुपर्छ र समन्वयमा चल्नुपर्छ । यसैगरी पार्टी पनि पार्टी विधानको व्यवस्थाबमोजिम सञ्चालन गर्नुपर्छ । कमिटीका प्रमुखहरू आदेशका पालक होइनन्, उनीहरू सिर्जनकर्ता, निर्णयकर्ता र कार्यान्वयनकर्ता समेत हुन् । सबै जनसङ्गठन समन्वयात्मक लयमा चल्नुपर्छ । जनसंगठनहरू काममा स्वायत्त हुन्, ती स्वतन्त्र होइनन् । हिजो संयन्त्र बनाएर सञ्चालन गरिएका जनसंगठनहरू अहिले समन्वयात्मक ढाँचामा क्रियाशील छन् । तिनको स्वतन्त्र र सिर्जनशील गतिविधिलाई समन्वयात्मक बनाउन कमिटी प्रमुखहरूले ध्यान दिनुपर्छ । एउटै सुर, ताल र लयमा चलेका संगठनहरूमार्फत नै शक्ति आर्जन हुन्छ । आमजनताका बीचमा पार्टी काम पुर्याउन सकिन्छ ।
६- कामलाई दरोसँग समात्नुपर्छ । ओठले समातेको छुट्छ, तर दाँतले समाउँदा बलियो हुन्छ । विचारले परिपक्व नहुँदा कुनै पनि कामलाई दरो गरी समाउन सकिन्न । के ठीक, के बेठीक छान्न नसक्दा कतिपय सदस्य र कार्यकर्ताहरू समाते झैं मात्र गर्छन् । समस्याको समाधान गर्न वा नयाँ कामको थालनी गर्न कमिटी प्रमुखहरूले नै दरोसँग समाउनुपर्छ । विचार निर्माण र कार्यान्वयनमा कमिटीका प्रमुखहरू उदासीन भए भने पार्टीले सफलता प्राप्त गर्न गाह्रो हुन्छ । दरोसँग नसमात्नु भनेको नसमात्नु नै हो ।
७- कमिटी प्रमुखहरूले आफ्नो कार्यक्षेत्रको तथ्यांकको जानकारी राख्नुपर्छ । तथ्याङ्कको जानकारी राख्नु भनेको कार्यक्षेत्रको वस्तुस्थितिको जानकारी राख्नु हो । राम्रो जनकारीले कामलाई राम्रोसँग सम्पन्न गर्न सकिन्छ । कामका क्षेत्रको संख्यात्मक जानकारीले गुणहरू पर्गेल्न, योजना निर्माण गर्न कार्यक्षेत्रको आधारभूत तथ्यांक त्यसको प्रतिशत तथा परिमाण थाहा पाउनुपर्छ । संघर्षका समर्थक र विरोधीहरू चिन्नुपर्छ । सोहीअनुसार योजना बनाउनुपर्छ ।
८- कमिटीमा निर्णयहरूमा एकरूपता कायम गर्नुपर्छ र कार्यान्वयनमा पुग्नुपर्छ । यसका लागि पर्याप्त तयारीका साथ बैठक आयोजना गर्नुपर्छ । कमिटीका सबै सदस्यहरूप्रति न्यायपूर्ण र हार्दिक हुनु जरुरी हुन्छ । विनापूर्वाग्रह सबै सदस्यहरूसँग न्यायसंगत हुनु कमिटी प्रमुखको दायित्वभित्र पर्छ, तर विविधतायुक्त वर्गीय समाजबाट आएका सदस्यहरूबीच सबै विषयमा समान धारणा हुँदैन, फरक मत पनि हुन्छ । फरक मत राख्नेसँग मिलेर काम गर्न ध्यान दिनुपर्छ । पार्टीभित्र वा पार्टी बाहिर, देशभित्र वा बाहिर पूर्वाग्रह दुराग्रह नराखेर मिलेर काम गर्न तयार हुनुपर्छ । हरदम लक्ष्य केन्द्रित भएर काममा लाग्नुपर्छ । तबमात्र सफलता प्राप्त हुन्छ । कमिटी प्रमुखहरू अहङ्कारमुक्त हुनुपर्छ र हरेक वस्तु र घटनाहरूलाई द्वन्द्वात्मक ढंगले हेर्नुपर्छ । वैचारिक रूपमा स्वस्थ कमिटी सञ्चालन गर्न पहिलो शर्त भनेको कमिटी प्रमुखहरू हरदम सिक्न तत्पर रहनुपर्छ ।
दक्षिणपन्थी अवसरवादलाई परास्त गर्न वैचारिक रूपमा नै सक्षम नेता कार्यकर्ताहरूको पङ्क्ति तयार गर्नुपर्छ । आफ्ना विचार र व्यवहारलाई जनताको नजरमा परीक्षण गरेर अब्बल हुनुपर्छ ।
(दवाडी नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव हुन् ।)

Leave a Reply