विराटनगर । प्रधानाध्यापक संघ नेपाल (पान) को दोश्रो कोशी प्रदेश सम्मेलन ६ बुँदे विराटनगर घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
सम्मेलनको प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङले प्रधानाध्यापकहरुले कोशी प्रदेशको आगामी शिक्षा नीति निर्माण महत्वपूर्ण सुझावसहित प्रस्तुत हुनुपर्ने बताए ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पोखरेल, प्रा.डा. बद्री बिलास पोखरेल र नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेल सम्मिलित प्यानल छलफल भएको थियो ।
सामुदायिक विद्यालय र गुणस्तर सुधार शीर्षकको छलफलमा निर्देशक कृष्ण पोखरेलले प्रचलित ऐन, कानुनको आधारमा मात्र नरही प्रधानाध्यापकहरुले सामाजिक परिवेश र आवश्यकताको आधारमा गुणस्तरीय शिक्षा प्रदान गर्न नेतृत्वदायी भुमिका खेल्नु पर्ने विचार व्यक्त गरे । प्रा.डा. बद्री विशाल पोखरेलले प्रधानाध्यापकहरु गैरराजनीतिक भएर सामाजिक अभियान्तको रुपमा काम गर्न सके मात्र विद्यालय सुधार हुने बताए ।

प्रधानाध्यापक संघ नेपाल संखुवासभाको अध्यक्ष कुबेर प्रसाद भेटुवालले सहजीकरण गरेको उक्त प्यानल छलफलमा नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेलले सार्वजनिक शिक्षा सुधारमा प्रचलित कानूनहरु कहिलेकाही बाधक भइदिने गरेको र विद्यालयहरु स्रोत साधानको हकमा स्वयत्त हुन नसकेको बताए ।
कोशी प्रदेशका चौध जिल्लाबाट सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सम्मीलित सम्मेलनमा मिडास र सजिलो शिक्षा नामक शिक्षा सम्बद्ध संस्थाले बाल कक्षाको सिकाइ र सिकाइमा सुचना प्रविधिको प्रयोग सम्बन्धी प्रस्तुति पनि गरेका थिए ।
पानका कोशी प्रदेश समिति अध्यक्ष विश्वरसिंह मेवाहाङको सभापतित्वमा भएको उक्त सम्मेलनले २३ सदस्यीय समितिलाई दुई जना समिती सदस्य चयन गरि २५ सदस्यीय प्रदेश समिति विस्तार गर्यो । आदर्श मावि विराटनगरका प्रधानाध्यापक सन्तोष पोखरेल र नरेन्द्र जनता मावि कमल गाउँपालिका झापाका प्रधानाध्यापक बद्री कार्कीलाई सम्मेलन सर्वसम्मत चयन गरेको थियो ।



Leave a Reply