डोटी । डोटीका सामुदायिक विद्यालयमाहरुमा सञ्चालित दिवा खाजालाई स्थानीय कृषि उत्पादनमा आधारित बनाउने भएको छ । नेपाल सरकारले बाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका बालबालिकाहरूलाई विद्यालयमा दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजालाई जिल्लामा उत्पादन हुने कृषि उपजमा आधारित बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
कृषि ज्ञान केन्द्र डोटीले आयोजना गरेको “स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमका लागि सरोकारवालासङको अन्तरक्रिया कार्यक्रम” सहभागी सरोकारवालाहरूले दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय उत्पादनसँग जोड्नु पर्ने बताए । डोटीमै उत्पादन हुने भटमास, कोदो, जौ, चिनो, आलु, मकैबाट विभिन्न प्रकार बनाउन सकिने बताउँछन् स्थानीय उत्पादनमा आधारित कोशेलीघरका सञ्चालक विजयराज ओझाले भने ‘स्थानीय उत्पादन संकलन गरी विद्यालयहरूमा आपूर्ति गर्न सकिन्छ तर त्यसका लागि वर्षभरिमा कति मात्रामा कुन कुन सामग्री आवश्यक हुन्छ भन्ने अध्ययन हुनु पर्छ ।’
स्थानीय कृषि उत्पादनको ढुवानीका लागि स्थानीय तहहरूले सहयोग गर्नु पर्ने बताउँछन् जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंह । ‘पोषणका हिसाबले पनि स्थानीय उत्पादनको बजारीकरणको हिसाबले पनि दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नु आवश्यक छ’ सिंहले भने ‘यसका लागि स्थानीय तहहरूले स्थानीय उत्पादनमा वृद्धि हुने खालका कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ ।’
डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी स्थानीय उत्पादनलाई बढवा दिने बानीमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउँछन् । उनले भने ‘भटमास बेचेर बजारबाट चाउचाउ किनेर खाने बानी छ समाजमा, यस्तो अवस्थामा स्थानीय उत्पादनलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनु जरुरी छ ।’
कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरूले स्थानीय उत्पादनमा वृद्धि र बजारीकरणका लागि आफूहरू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । स्थानीय बालिको संरक्षण, प्रवर्द्धन र किसानलाई हौसला प्रदान विद्यालय दिवा खाजालाई स्थानीय उत्पादनमा आधारित बनाउनुपर्ने ज्ञान केन्द्रका प्रमुख गङ्गादत्त अवस्थी बताउँछन् । उनले विद्यालयमा मात्रै नभएर जिल्लामा हुने सार्वजनिक कार्यक्रममा पनि स्थानीय उत्पादनमा आधारित खाजालाई प्रवर्द्धन गर्नुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा ज्ञान केन्द्रका प्रमुख अवस्थीले स्थानीय उत्पादनबाट बनेका परिकारलाई दिवा खाजाको रूपमा प्रयोग गर्न सके वार्षिक १८ करोड भन्दा बढी रकम जिल्लामै रोक्न सकिने बताए । दिवा खाजाका रूपमा कोदो, भटमास, मास, फापर, चिनो, आलु, मकै, तिल, बासमती चामल लगायतका स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउन सकिने त्यसको लागी गर्नु पर्ने कार्यका बारेमा अवस्थिले प्रस्ट पारेका थिए । कार्यक्रमका सहभागीहरूलाई स्थानीय उत्पादनमा आधारित परिकारहरूको खाजा दिइएको थियो ।

Leave a Reply