कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको आगामी लगानी तथा विकास सम्मेलनको पूर्वतयारीस्वरूप ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलन २०८२’ (प्रि–समिट) बुधवारदेखि धनगढीमा सुरु भएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, प्रदेश सरकारका अन्य मन्त्रीहरू, सांसदहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, विज्ञ, लगानीकर्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
‘सुदूरपश्चिमको सशक्तीकरण : लगानी, नवप्रवर्तन र उन्नति’ भन्ने नारासहित प्रदेश सरकारले आगामी असोज १ र २ गते मुख्य लगानी सम्मेलन आयोजना गर्न लागेको छ। उक्त सम्मेलनको तयारीस्वरूप प्रि–समिट आयोजना गरिएको हो ।
प्रदेशको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र रणनीतिक भौगोलिक अवस्थिति उजागर गर्दै दीगो तथा रुपान्तरणकारी आर्थिक विकासको आधार तयार गर्न लगानी सम्मेलनको आयोजना गरिएको र त्यसको पूर्वतयारी गरिएको मुख्यमन्त्री शाहले बताए ।
सम्मेलनमार्फत उद्योग, खानी तथा खनिज, शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, कृषि, ऊर्जा, सूचना प्रविधि र पर्यटन जस्ता क्षेत्रमा लगानीको सम्भावना प्रस्तुत गरिनेछ। सरकारको लक्ष्य मुख्य सम्मेलनमार्फत दीगो विकास, रोजगारी सिर्जना र नविन उद्यमशीलता प्रवर्द्धन गर्दै सुदूरपश्चिमलाई समृद्धिको दिशामा अघि बढाउनु रहेको छ।
पहिलोपटक आयोजना भएको यो प्रि–समिटले दीगो विकासका सम्भावनाहरू उजागर गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply