मेयर-उपमेयर नै भ्रष्टाचार मुद्दामा डामिएको सर्लाही नगरपालिकामा साढे २० करोड बेरुजु

वीरगञ्ज । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनले सर्लाही जिल्लाका तीन स्थानीय तहमा गम्भीर प्रकारको बेरुजु औँल्याएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को उक्त प्रतिवेदनअनुसार सर्लाहीका २० स्थानीय तहमध्ये सबैभन्दा बढी बागमती र गोडैत नगरपालिकामा बेरुजु देखिएको छ । गाउँपालिकामध्ये अहिलेसम्मकै सबै भन्दा बढी बेरुजु बसवरियामा छ ।

सर्वाधिक बेरुजु देखिएको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र उपमेयर लीलाकुमारी मुक्तान दुवै भ्रष्टाचार मुद्दा लागेर निलम्बित छन् । ‘मानव निर्मित ताल’ का रूपमा प्रख्यात भरत तालकै प्रकरणमा उनीहरू निलम्बित भएका हुन् ।

सरकारसँग स्वीकृत नलिई बागमती नगरपालिका ४ र १२ मा अवस्थित सागरनाथ वन विकास परियोजनाको स्वामित्वमा रहेको मूर्तिया सेक्टरअन्तर्गत कर्मैया क्षेत्रको वनमा गैरकानुनी तवरले १७३ हेक्टर जमिन अतिक्रमण गरी बागमती माछा पोखरी (भरत ताल) बनाइएको थियो । वन पैदावार निकासीपछि परेको खाल्डोमा माछापोखरी बनाइयो र पछि त्यही पोखरीलाई ‘मानव निर्मित ताल’ का रूपमा प्रचार गर्दै बाह्य र आन्तरिक पर्यटकको घुइँचो लगाइयो ।

परियोजनाले संरक्षण गरिरहेको राष्ट्रिय वन क्षेत्रमा नेपाल सरकारको स्वीकृतिबिना सामाजिक तथा भौतिक संरचना निर्माण गर्न पाइँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रावधान उल्लंघन भएको ठहर गरेपछि उनीहरुविरुद्ध मुद्दा चलेको हो ।

महालेखाको ६२ औँ प्रतिवेदनले सोही नगरपालिकाको २० करोड ४२ लाख ३४ हजार बेरुजु रहेको उल्लेख गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को जम्मा विनियोजित बजेटको १३.३१ प्रतिशत रकम बेरुजु भएको तथ्यांकमा उल्लेख छ ।

भरत तालको व्यवस्थापन र संरक्षणका नाममा गरिएको खर्चका कारण नगरपालिका उच्च बेरुजुको शिकार भएको त्यहाँका कर्मचारी बताउँछन् । सरकारले वर्षेनि बेरुजु निकाल्दै वातावरणीय प्रभाव मूल्यांकनबिना नै बनाइएको भरत ताल सञ्चालन गर्ने कि नगर्ने भन्नेमध्ये कुनै पनि कुराको टुंगो लगाएको छैन । यद्यपि, भरत तालको भविष्य भने धरापमा छ ।

बेरुजुका अन्य विवरण

गोडैता नगरपालिका अत्यधिक बेरुजुको दोस्रोमा परेको छ । विनियोजित कूल बजेटको १२.२५ प्रतिशत बजेट जनही १३ करोड ३५ लाख ८३ हजार रकम बेरुजु रहेको प्रतिवेदनमा भनिएको छ । सर्लाहीका गाउँपालिकामध्ये सबै भन्दा बढी बेरुजु बसवरियामा देखिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को जम्मा बजेटमा ८.४० प्रतिशत बजेट बेरुजु देखिएको हो । ५ करोड ९६ लाख ४६ हजार रकम बेरुजु देखिएपछि बसवरिया अन्य ९ गाउँपालिकामध्ये अगाडि देखिएको हो । बेरुजु निकाल्नमा जिल्लाका २० स्थानीय तहमध्ये यो तेस्रो भएको छ ।

११ वटा नगरपालिकामध्ये सबभन्दा कम बेरुजु लालबन्दीको छ । त्यहाँ ०.६६ प्रतिशत, अर्थात् १ करोड ३९ लाख ७५ हजार रहेको छ । दोसोमा बेरुजु कम हुनेमा हरिवन नगरपालिका हो । त्यहाँ बेरुजु रकम ०.८७ प्रतिशत, अर्थात् १ करोड ६१ लाख ७१ हजार छ ।

त्यस्तै तेस्रोमा हरिपूर्वा नगरपालिका छ । त्यहाँको बेरुजु १.८९ प्रतिशत, अर्थात् १ करोड ७ लाख ५ हजार रहेको छ । तुलनात्मक रूपमा केही बढी बेरुजु देखिएको नगरपालिका ईश्वरपुर हो । जसको बेरुजु रकम ४.३० प्रतिशतले रहेको छ । त्यो भनेको ७ करोड ७१ लाख १७ हजार हो ।

कविलासी नगरपालिकाको बेरुजु ४।२५ प्रतिशतले जम्मा ६ करोड २६ लाख १४ हजार छ । बरहथवा नगरपालिकाको ३.१० प्रतिशतले बेरुजु रकम देखिएको छ । त्यसअनुसार, ५ करोड ८८ लाख ७४ हजार बेरुजु रहेको छ । बलरा नगरपालिकाको ३.८४ प्रतिशतले बेरुजु निकालेको छ । रकममा ५ करोड २५ लाख ३८ हजार छ ।

मलंगवा नगरपालिकाको २.३० प्रतिशतका दरले बेरुजु देखिएको छ । त्यो भनेको ३ करोड २० लाख ५८ हजार हो । हरिपुर नगरपालिकाको २.०६ प्रतिशत बेरुजु छ । रकममा २ करोड ५६ लाख ४७ हजार देखिएको हो ।

९ वटा गाउँपालिकामध्ये सबभन्दा कम बेरुजु विष्णु गाउँपालिकाको रहेको छ । त्यहाँ ०.२७ प्रतिशतले बेरुजु रकम देखिएको छ । रकममा २१ लाख ७१ हजार मात्र रहेको छ । त्यसपछि सबैभन्दा कम बेरुजु हुनेमा चक्रघटा गाउँपालिका छ । त्यहाँको ०.८५ प्रतिशतले बेरुजु रकम ८१ लाख २३ हजार छ ।

कौडेना गाउँपालिकाको १.२१ प्रतिशतले बेरुजु रकम १ करोड ८ लाख १० हजार छ । ब्रहम्पुरी नगरपालिकाको बेरुजु २।४४ प्रतिशतले २ करोड ४७ लाख ५० हजार छ ।

रामनगर गाउँपालिकाको २.७३ प्रतिशतले बेरुजु रकम २ करोड ३८ लाख ९९ हजार छ । पर्सा गाउँपालिकाको ३.८३ प्रतिशतले बेरुजु रकम २ करोड २८ लाख ७७ हजार छ ।

बसवरिया पछि बढि बेरुजु देखिएको गाउँपालिकाहरुमा चन्द्रनगर गाउँपालिकाको ६.१४ प्रतिशतले बेरुजु रकम ६ करोड २१ लाख ६० हजार रहेको छ । यस पछि धनकौल गाउँपालिका रहेको छ । धनकौलको ५.११ प्रतिशतले बेरुजु रकम ४ करोड ५३ लाख ३३ हजार रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *