हिमानी र हृदयन्द्र कमलादी जाँदाको रौनक र राजावादी-माओवादी तनाव (तस्बिर/भिडिओ)

काठमाडौं । दिवंगत राजपरिवारको सम्झनामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रममा आज साँझ राजावादीहरु ठूलो संख्यामा कमलादीस्थित गणेश मन्दिरमा पुगे । त्यहाँ नजिकै रहेको प्रज्ञा भवनमा वाइसीएलको पनि कार्यक्रम थियो ।

यसअघि नारायणहिटी दरवारभित्रको मन्दिरमा गर्ने भनिएको दीप प्रज्ज्वलन त्यहाँ निषेधाज्ञा लागेपछि हिमानी ट्रस्टले कमलादीस्थित गणेश मन्दिरमा सारेको हो । साँघुरो ठाउँमा हजारौं संख्यामा राजसंस्था समर्थकहरु भेला भएका थिए । राजावादी शीर्ष नेताहरु सबैजसो आएर दिवंगत राजपरिवारलाई श्रद्धान्जली र दीप प्रज्ज्वलनमा सहभागी भए ।

पूर्वयुवराज्ञी हिमानी र उनका सुपुत्र पूर्वनवयुवराज हृदयेन्द्रको इन्ट्रीपछि सबैको ध्यान उनीहरुतिर सोझियो । मोबाइल र क्यामरा निकालेर सबैले उनीहरुको तस्बिर खिच्न र भिडिओ बनाउने होडमा लागे । भीडलाई छिचोलेर उनीहरुलाई मन्दिर प्रवेश गराउन स्वयम्सेवकलाई हम्मे हम्मे परेको थियो ।

आजकाे कार्यक्रममा पूर्वयुवराज पारसकाे उपस्थिति हुने बताइएकाे थियाे । हिमानी र पारसलाई एकसाथ क्यामेरामा कैद गर्न सञ्चारकर्मीहरु पनि बाक्लाे संख्यामा उपस्थित भएका थिए । तर पारस भने कार्यक्रममा आएनन् ।

कमलादी मन्दिरभित्र प्रहरीको कुनै उपस्थिति थिएन । बाहिर प्रहरी परिचालन भएका थिए, तर उनीहरुले पूर्वराजपरिवारलाई सुरक्षा दिएनन् । हिमानी र हृदयन्द्र भित्र छिर्दा सुभेच्छुकहरुले उनीहरुको जयजयकार गरेका थिए । ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ को नारा समेत लागेको थियो ।

यता बाहिरको माहोल निकै संवेदनशील थियो । माओवादीनिकट वाइसीएलको राष्ट्रिय सम्मेलन चलिरहेको थियो नजिकै प्रज्ञा भवनमा । हिमानी र हृदयेन्द्र आएको थाहा पाएपछि बन्दसत्रबाट निस्किएर वाइसिएल कार्यकर्ता सडकमा आए । उनीहरुले राजपरिवारविरुद्ध नारावाजी गरेपछि माहोल बिग्रियो । त्यस क्रममा धकेलाधकेल र ढुंगा हानाहान पनि भएको थियो ।

झडपको अवस्था आएपछि प्रहरीले हस्तक्षेप गर्यो । उनीहरुले राजावादी कार्यकर्तालाई माओवादी सभास्थलतिर आउन दिएनन् भने वाइसीएललाई पनि मन्दिरतर्फ जान रोके । केहीबेरमा स्थिति नियन्त्रणमा आएको थियो ।

झडपको अवस्था निम्तिनुमा दुवै पक्षले एक अर्कामाथि आरोप लगाएका छन् । राप्रपा नेतृ खुस्बु ओलीले राजावादीले ढुंगामुढा र राजपरिवारविरुद्ध नारावाजी गरेको आरोप लगाइन् ।

भिडिओ

उनले सञ्चारकर्मीसँग भनिन्, ‘अहिले प्रज्ञा प्रतिष्ठानबाट वाइसीएलको साथीहरुले ढुंगामुढा प्रहार गर्नुभयो । यो चरित्र र आचरणको कुरा हो । उहाँहरुले हाम्रो कार्यक्रममा ढुंगामुढा गर्नुभयो, हामीले त गणतन्त्र दिवसको कार्यक्रममा ढुंगामुढा गरेका थिएनौं नि ।’

नेपाल प्रेससँग कुरा गर्दै एक वाइसीएल कार्यकर्ताले भने राजावादीले नै आफूहरुको कार्यक्रम स्थलमा ढुंगामुढा गरेको आरोप लगाए । उनले राजावादीहरुलाई कोठाकोठाबाट थुतेर गोद्ने धम्की पनि दिए ।

हेर्नुस् भिडिओ:

तस्बिरहरु:

 

Comments

2 responses to “हिमानी र हृदयन्द्र कमलादी जाँदाको रौनक र राजावादी-माओवादी तनाव (तस्बिर/भिडिओ)”

  1. samir Avatar
    samir

    १७००० हजार नेपालीको बर्बर हत्यारा माओवादीहरु जंगलीहरु यो देशको लागि अभिशाप हुन!

  2. Mania Thompson Avatar
    Mania Thompson

    १७हजारेले लुटेको पैसा बाट यी वाई स्यालहरुलाई जाँड खुवायो अनि त्यसैको बलमा एकछिन आतंक मच्चाउन खोजे।राछ्यसका बाहन स्यालहरु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *