आन्दोलनरत गण्डकीका यातायात व्यवसायीलाई वार्तामा आउन मन्त्रालयको आह्वान

पोखरा । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान गरेको छ ।

मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै आन्दोलनरत व्यवसायीलाई वार्तामा बोलाए पनि सहभागी नभएको जनाएको छ ।

मन्त्रालयका सचिव एवं वार्ता समितिका संयोजक कमलकुमार अधिकारीले बन्द हड्तालका कार्यक्रम स्थगित गरी वार्तामा आउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पुनः आह्वान गरे । उनले नियमावलीमा छलफल हुन सक्ने तर खारेज नहुने बताए । ‘नियमावलीका विषयमा छलफल हुन सक्छ । तर, नियमावली खारेज हुँदैन । प्रदेश सरकारले यसको अपनत्व लिएको छ,’ उनले भने ।

मन्त्रालयका उपसचिव प्रेम सुवेदीले नियमावली बनाउने विषय पटक पटक छलफल भएको सुनाए । ‘यो भर्खरै बनेको कुरा होइन । यो सुरु भएको एक वर्ष भइसक्यो । धेरै चरणमा छलफल भएको छ । उहाँहरूले पनि हस्ताक्षर गर्नुभएको छ । एकदुईटा कुरामा उहाँहरूको विमति छ । ती विमति भएका कुराहरूमा आउनुस् । छलफल गरौँ भनेको हौँ,’ उनले भने, ‘छलफल नै नगर्ने हो भने प्रदेश सरकारले उचित निर्णय गर्छ ।’

यातायात व्यवसायीसँग वार्ता गर्न मन्त्रालयले सचिव अधिकारीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । उक्त टोलीले जेठ १४ गते यातायात व्यवसायीलाई वार्तामा बोलाएको थियो । तर, व्यवसायीले ७ बुँदे मागसहित पत्रको जवाफ पठाउँदै वार्तामा सहभागी भएका थिएनन् । वार्तामा सहभागी नभएका उनीहरूले १६ गतेदेखि गण्डकी प्रदेशभरि सार्वजनिक यातायात ठप्प पारेका छन् । यस्तै सोमबारदेखि देशभर नै सार्वजनिक यातायात रोक्ने उनीहरूको तयारी छ ।

यातायात व्यवसायीको बन्दका कारण यात्रु मर्कामा पारेका छन् । ती यात्रुलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यतर्फ पठाएको छ । ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ सई किरण रानाभाटले बन्दका कारण आइतबार बिहान २५ वटा गाडीलाई स्कर्टिङ गरी पठाइएको जानकारी दिए ।

यातायात व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले औपचारिक वार्ता नभए पनि भेटेर कुरा राखेको बताए । ‘औपचारिक वार्ता नभए पनि भेटेर कुरा राखेकै छौँ । हामी वार्ता विरोधी होइनौँ,’ उनले भने, ‘कि हामीलाई पनि रातो प्लेट बनाइदिनुप¥यो । एउटै व्यवसाय गर्नेलाई किन विभेद रु हामी वार्ता विरोधी पनि होइनौँ । राइड शेयरिङ विरोधी पनि होइनौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *