पोखरा । शिक्षा सेवा आयोगको निम्न माध्यमिक तहको जाँच दिन पोखरा आएका पर्साको वीरगञ्जका एमडी सरोजलाई शनिबार दिउँसो नै घर फर्किनुपर्ने थियो । त्यसैले जाँच सक्नेबित्तिकै सीधै बसपार्क पुगेका उनले गाडी पाएनन् । दिउँसो साढे २ बजे बसपार्क पुगेका सरोज साँझ ६ बजेसम्म त्यही थिए ।
‘साढे २ बजेदेखि हामी यहाँ घाममा बसिराखेका छौं । जाने साधनहरु नै छैन । हामी कसरी फर्किने भन्ने थाहा छैन । सबै विजोक अवस्थामा छौं’, सरोजले भने ।
साँझ ६ बजेपछि उनी जसोतसो स्कुल बसमा मुग्लिङसम्मका लागि हिँडे ।
सल्यानकी कमला केसी ओलीलाई आइतबारको कक्षा भेट्टाउनुपर्ने बाध्यता छ, तर गाडी नचल्दा उनलाई भोलिको कक्षा भेट्टाउन कठिन देखिन्छ ।
‘विद्यालयबाट बिदा लिएर आएको हो । अब गाडी नपाउँदा अस्तव्यस्त नै हुने भयो । सकेसम्म हाम्रो लागि गाडीको व्यवस्था भए राम्रो हुन्थ्यो’, उनले भनिन्, ‘भोलिको कक्षा भेट्टाउन कठिन छ ।’
गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ तथा सेल्फ ड्राइभसम्बन्धी नियमावलीको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प पार्दा सरोज र कमलासहित परीक्षा दिन पोखरा आएका करिब १ हजार ५०० परीक्षार्थी अलपत्र परे ।
उनीहरुमध्ये प्रहरीको सहयोगमा केही ट्रकमार्फत गन्तव्यतर्फ लागे । केही प्रहरीको स्कर्टिङमार्फत पर्यटन बस र स्कुल बसमा गन्तव्यतिर लागे ।
पर्यटक बस, स्कुल बससहित ट्रकमा समेत यात्रु राख्दै प्रहरीले स्कर्टिङ गर्दै मुग्लिङ पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेत बताउँछन् ।

उनी भन्छन्, ‘करिब १५-१६ सय परीक्षार्थी गाडी नपाएर अलपत्र पर्नुभएको थियो । उहाँहरुलाई सबैसँग सहकार्य गरेर स्कुल बसहरुमा प्रहरीको स्कर्टिङमा मुग्लिङसम्म पठाएका छौं ।’
नवलपुरकी दीपा थापा, सल्यानका भीमसेन ओली र सीताराम थारु पनि गाडी पाउने आशमा पृथ्वीचोकमा बसिराखेका थिए । पर्खाइमा बसिरहेका उनीहरु कुनै गाडी आउँदा हत्तपत्त त्यहाँ पुग्ने गर्थे । बस कुरिरहेकी दीपाले गाडी नपाउँदा धेरै जनाको परीक्षा छुटेको बताइन् ।
परीक्षा दिएपछि पनि फर्किने गाडी नपाएको उनको गुनासो थियो । बन्दको कारणबारे भने दीपाले अनभिज्ञता प्रकट गरिन् । सल्यानका भीमसेनले समयमा गाडी नपाउँदा आइतबारको अफिस भेट्टाउन कठिन हुने सुनाए ।
‘परीक्षार्थीहरु कुनै न कुनै ठाउँमा कार्यरत हुनुहुन्छ । भोलिदेखि विद्यालयमा जानुपर्ने बाध्यता छ । हामी आफ्नो गन्तव्यमा पुग्ने तयारीमा छौं, तर पनि यो बन्दका कारण अवस्था नाजुक बन्दै गएको छ’, उनले भने ।
बन्दका कारण फर्किन कठिन भइरहेको सीतारामले सुनाए । उनले भने, ‘बन्दका कारण गाडी पाइएको छैन । फर्किन पनि पाएका छैनौं । यातायात व्यवसायीले बन्द गरेको छ भन्ने जानकारी आएको छैन । त्यसैले गाडी कुर्दै बसेका छौं ।’
राइड शेयरिङ तथा सेल्फ ड्राइभसम्बन्धी नियमावली खारेजीको माग राख्दै यातायात व्यवसायीले शुक्रबारदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प पारेका छन् । योसँगै उनीहरुले माग पूरा नभए १९ गतेदेखि देशैभरका सार्वजनिक यातायात ठप्प पार्ने चेनावनी दिएका छन् ।
सार्वजनिक यातायात सेवा बचाउ अभियान गण्डकीका प्रवक्ता योगेन्द्र केसीले व्यवसायीलाई विस्थापित गर्ने गरी ल्याएको नीति भएका कारणले सडकलाई प्रयोग गर्न बाध्य भएको बताए ।
पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिका अध्यक्षसमेत रहेका केसीले हचुवाका भरमा निर्णय गर्दा यो अवस्था सिर्जना भएको प्रतिक्रिया दिए ।
‘हचुवाका भरमा यिनलाई जे गरे पनि हुन्छ भन्ने अभिप्रायका साथ आएका कारणले पनि यो बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । यसबाट यात्रुलाई पर्न जाने असुविधाप्रति क्षमाप्राथी छौं’, उनले भने ।

Leave a Reply