काठमाडौं । सत्तारुढ दलका नेताहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गरिरहेका विपक्षी दलहरूलाई आगामी बैठकहरू सहन ढंगले अगाडि बढाउन सहयोगी भूमिका खेल्न आग्रह गरेका छ।
सभामुख र कार्य व्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलका नेताहरूलाई सदन सहज ढंगले चलाउन आफूहरूले आग्रह गरेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए।
उनले भने, ‘हामीले सदनलाई अगाडि बढाउन तपाईँहरूले सहयोग गर्नुपर्छ, हरेक पटक सदन बन्द गर्नको लागि, साना मसिना कुराहरूलाई पनि मसला बनाएर जाने कुराले राम्रो गर्दैन। त्यसले संसदीय प्रणालीलाई सुदृढ गर्नको लागि निकै ठूलो चुनौती सिर्जना गर्छ। त्यो पार्टीमा तपाईँहरूले सोच्नुपर्छ।’
उनले बैठकमा सकारात्मक कुरा गरेको भएपनि बाहिर बाध्यताले कडा रूपमा प्रस्तुत भएको टिप्पणी गरे। विपक्षी दलका नेताहरूले सदन चलाउन आफूहरू नकारात्मक नभएको र शीर्ष नेताहरूसँग पनि परामर्श गर्नुपर्ने बताएको सुनाए।
उनले भने, ‘उहाँहरूको पनि थप छलफल होला, उहाँहरूले पनि विषयवस्तु बुझ्नुहोला, हतारमा सामान्य एउटा कर्मचारीको विषयलाई लिएर यसरी आन्दोलन गर्ने कुरा यो प्रणालीमाथि संसदीय व्यवस्थामाथि, संसदीय गतिविधिहरूलाई यसरी अवरोध गर्ने कुराले गलत दिशातर्फ जान सक्छ, गलत राजनीतिक नजिरहरू बस्न सक्छ, भन्ने कुरामा यो ४ दिनको बीचको समयमा उहाँहरूले समीक्षा गर्नुहुनेछ।’
२० गतेदेखि बैठक सहज ढंगले अघि बढ्ने वातावरण बनाउने विश्वास व्यक्त गरे। विपक्षले भने गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्री केपी ओलीको जवाफ र उच्चस्तरीय छानबिन आयोग बटमलाइनलाई बनाएर संसद् अवरोध जारी राख्ने अडान राखेका छन्।

Leave a Reply