युवा संघ निर्वाचनका अन्तरकुन्तर- भद्र सहमतिको ‘फ्युजन’, एमाले नेताका गुटमा ‘कन्फ्युजन’

काठमाडौं । एमालेसम्बद्ध राष्ट्रिय युवा संघको नयाँ नेतृत्व पार्टी निर्देशनअनुसारको प्यानलले जितेको छ । कतिपयले यो परिणामलाई पार्टी संस्थापनका उम्मेदवार क्षितिज थेबेले १८८ को झिनो मतान्तरसहित जितेको र सुमन पुरीले हारेर पनि जितेसरह मत पाएको भन्दै प्रतिस्पर्धीको प्रशंसा पनि गरेका छन् ।

तर, चुनावको वास्तविकता ती टिप्पणीभन्दा फरक थियो । क्षितिज थेबेको पक्षमा संस्थापन भनेर चिनिने एमालेका सबै नेता खुलेनन्, संस्थापनइतर भनेर चिनाइने गरेका कतिपय नेता क्षितिज जिताउन मैदानमा खटिएका थिए । सुमन पुरीको पक्षमा संस्थापनका भनेर चिनिने नेताहरू पनि उभिएको अनौठो दृष्य पोखरामा थियो ।

अध्यक्ष क्षितिज थेबे पुनः दोहोरिने पक्षमा थिएनन । युवा संघमा पकड राख्ने महेश बस्नेतसहित पूर्वअध्यक्षहरू पनि क्षितिजलाई बिदा गरेर महाराज गुरुङलाई अघि बढाउने तयारीमा थिए । त्यसबीचमा कृष्णहरि केसी र महाराजलाई आलोपालो मिलाएर लैजानेसम्मको अभ्यास पनि ती नेताहरूले गरेकै थिए । तर, सुमन पुरीले जति भोट आए पनि ढ्वाङ थाप्ने अडान लिएपछि क्षितिजलाई मैदानमा उतार्ने अवस्था बनेको नेताहरू बताउँछन् ।

महाराज उठ्दा चुनाव परिणाम के हुने भन्ने आशंकाले क्षितिजलाई ती नेताले अघि बढाए तर चुनाव सकिँदा सबैभन्दा धेरै मत महाराजकै आयो । चुनाव जित्ने र जिताउने टोली विहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुग्दा पार्टी अध्यक्ष ओलीले महाराजलाई ‘के छ त म्यान अफ दि इलेक्सनको’ भनेर केहीबेर माहौल नै परिवर्तन गराएको बताइन्छ ।

युवा संघको मामिलामा बालुवाटारबाट यसपटक धेरै ठूलो दबाब नपरेको नेताहरूको दाबी छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसहितको बालुवाटार छलफलमा क्षितिज थेबेको नाम पहिलो नम्बरमै थियो । सुमन पुरी हुँदै हुँदैन भन्ने तहमा बालुवाटार थिएन । तर, सुमन पुरीले आफ्नो पक्षमा सर्वसम्मतिको अवस्था नदेखेपछि निर्वाचनमा जाने अडान लिए ।

महेश बस्नेतलगायतका नेताहरू पनि क्षितिजलाई नै अघि सारेर निर्वाचन जित्न सक्ने अवस्था रहेकाले निर्वाचन रोक्नतर्फ लागेनन् । प्राविधिक कारणले ढिला भएबाहेक निर्वाचन रोक्न कुनै प्रयास नेतृत्वबाट नभएको बताइन्छ । त्यसो त बालुवाटार छलफलमा पार्टी महासचिव शंकर पोखरेलले महाराज गुरुङलाई अध्यक्ष बनाउनुपर्ने सुझाएका थिए ।

स्वयं थेबे पनि बालुवाटार सहमतिलाई ‘हुन्छ-हुन्छ’ भन्दै पोखरा पुगेका थिए । त्यहाँको चमकदमकले उनलाई चुनाव हार्छु भन्ने कतैबाट पनि लागेन । र, उठ्ने निधोमा पुगे । उनले पुरीलाई स्वीकार गरेनन् ।

टीम थेबे ।

पुरीलाई पनि पार्टी संस्थापनकै केही नेताहरूबीचको छलफलले ‘चुनाव उठ्ने स्थितिमा उम्मेवार बन्नू’ भन्ने निर्देशन थियो । थेबे उठेमा पछाडि हट्नू भनिएको थिएन । जब पोखरा पुगेर थेबेले चुनावै लड्ने मनस्थिति बनाए, त्यसपछि अध्यक्ष ओली थेबेका पक्षमा रहे । बरु बालुवाटारले सुमन पुरी प्यानलबाट महासचिव हारेका कुवेर अधिकारीको व्यवस्थापन चाहेको थियो ।

बालुवाटारका भान्जा भनेर चिनिने अधिकारीलाई महासचिव बनाउन बालुवाटारभित्रकै प्रधानमन्त्रीको सचिवालयले चाहेको थियो । बालुवाटारको चाहना बुझेर उनलाई उपमहासचिवमा राख्न महेश बस्नेतहरुले चाहेका थिए तर अधिकारीले महासचिव नै खोजेपछि कुरा मिलेन । अन्ततः उनले अध्यक्षको भन्दा कम मतान्तर (१०६) ले महेश चौलागाईंसँग हारे । चौलागाईको पक्षमा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललगायतका नेता दृढतापूर्वक उभिएको बताइन्छ । चौलागाईँ रियल स्टेट व्यवसायमा जमेका उद्यमी युवा भएकाले उनको पक्षमा नेताहरुको बलियो साथ थियो ।

अध्यक्ष क्षितिज थेबे पुनः दोहोरिने पक्षमा थिएनन । युवा संघमा पकड राख्ने महेश बस्नेतसहित पूर्वअध्यक्षहरू पनि क्षितिजलाई बिदा गरेर महाराज गुरुङलाई अघि बढाउने तयारीमा थिए । त्यसबीचमा कृष्णहरि केसी र महाराजलाई आलोपालो मिलाएर लैजानेसम्मको अभ्यास पनि ती नेताहरूले गरेकै थिए ।

जब प्रधानमन्त्री तथा पार्टी अध्यक्षको सचिवालय नै युवा संघ मामिलामा विभाजित भयो, त्यसपछि कोही नेता, तिनका सचिवालयहरू विभाजित हुन बाँकी भएनन् । बाहिरी प्रचारमा पुरीलाई पार्टी उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलको उम्मेदवारका रूपमा चित्रित गरिँदै थियो । तर, स्वयं पौडेल पुरीलाई उम्मेदवारी फिर्ता लिएर सर्वसम्मतको बाटो खोल्न अन्तिमसम्म आग्रह गरिरहेका थिए भन्ने चर्चा पोखरामा सुनिएको थियो । पौडेल अध्यक्ष ओलीको चाहनाविपरीत पार्टीमा कुनै गुट बनाउने पक्षमा छैनन् ।

स्वयं पूर्वराष्ट्रपति विद्या भण्डारीले चीन जानुअघि थेबेलाई सर्वसम्मत अध्यक्ष बनाउनु उपयुक्त हुने सुझाव दिएको भनिए पनि भण्डारीनिकट भनेर चिनिने नेताहरू पुरीका पक्षमा थिए । कर्ण थापा, गोकुल बास्कोटा, कृष्णप्रसाद दाहाल, विनोद ढकाललगायतका नेताहरूको सहानुभूति पुरीतिर थियो ।

महासचिव शंकर पोखरेल स्वयंले पनि पुरीलाई मैदान छाडेर पार्टीले गर्ने व्यवस्थापन स्वीकार्न अनुरोध गरिरहेका थिए । तर, उनीनिकट मानिने थुप्रै प्रतिनिधि पुरीका पक्षमा थिए ।

पूर्वअध्यक्षमध्ये रमेश पौडेल, बचन सिंह, पूर्वउपाध्यक्ष अमित लामाहरू पुरीका पक्षमा खुले । तर, रमेश पौडेल र वचन सिंहलाई महाधिवेशनस्थलमा छिर्न समेत वञ्चित गरेर अपमानित गरेको आरोप पनि लागेको छ । थेबेलाई जिताउने मुख्य भूमिकामा पूर्वअध्यक्ष महेश बस्नेत, राजीव पहारी, किरण पौडेल, निरुदेवी पालहरू सक्रिय भए । बुटवल महाधिवेशनदेखि युवासंघमा रहेको खील निकालिएको भन्दै महेश बस्नेतनिकट नेताहरूले अब युवासंघमा महेश समर्थकमात्र नेतृत्वमा आएको दाबी गरेका छन् ।

रमाइलो कस्तो भयो भने, प्रायः नेता पुरीलाई पछाडि हट्न भनिरहे, तीनिनिकटस्थ प्रतिनिधिचाहिँ पुरीकै पक्षमा खुल्दै थिए । यो घटनाले थेबेको स्थिति जोखिमपूर्ण हुन पुग्यो । फलतः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, मधेश र विशेष प्रदेशको मतमा पुरीले अग्रता हासिल गरे । थेबेले गण्डकी, बागमती, कोशी र आयोजकको बलमा चुनाव जिते । उनले जित निकालेका प्रदेशमा मतदाता संख्या बढी थियो ।

मूलतः गण्डकीले मतमात्र उल्ट्याएन नेताका मन पनि उल्ट्यादिएको चर्चा छ । संस्थापनलाई चुनौती दिएर प्रदेश अधिवेशनमा एकल प्यानल जिताएका पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ थेबेको पक्षमा खुलेरै लागे । उनीनिकट एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा पनि थेबे प्यानलको पक्षमा उभिँदा गण्डकीबाट थेबेले ८४ मत पाए भने सुमनले ३९ मात्र पाए ।

रोचक कुरा चाहिँ संस्थापनका कडा नेता मानिने खगराज अधिकारी, पदम गिरीहरू खुलेर थेबे जिताउन मैदानमा खटिएनन् । पार्टी अध्यक्षको चाहना थेबे भएको बुझेपछि उनीहरू पनि खुलेर सुमन जिताउन त लागेनन् तर खगराजपक्षका कार्यकर्ता सुमन जिताउन खटिएका थिए । खगराज र महेश बस्नेतबीचको सम्बन्धका कारण पनि एण्टी रियाक्सन भएको चर्चा पोखरामा चल्यो ।

किन खुले महेश ?

पछिल्ला राजनीतिक घटनाक्रममा ओलीसँग दूरी बढेको भनिएका युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले युवा संघको १० औं महाधिवेशनलाई सम्बन्ध सुधारको मौकाका रूपमा उपयोग गरेको नेताहरू बताउँछन् । बस्नेत थेबेको पक्षमा खुल्नुको कारणबारे युवा संघका एक नेता भन्छन्, ‘उहाँ युवा संघमा नयाँ नेतृत्व ल्याउने पक्षमा हो तर चुनावको अवस्था आउनु र पार्टी अध्यक्षले थेबेलाई जिताउनु भनेपछि दायाँबायाँ गर्ने उहाँको स्वभाव नै रहेन । केपी ओलीले भनेपछि मर्न पनि जान तयार रहने उहाँको बानी नै हो, त्यसैले उहाँले यो अधिवेशनमा पार्टी नेतृत्वको विश्वास जित्ने र संगठनमा आफ्ना बचेखुचेका विरोधीलाई चुनावबाटै बढार्ने दुवै मिसनमा सफल हुनुभयो ।’

थेबे चुनावबाट अध्यक्ष हुने बाटोमा नलागेको भए बालुवाटारको उम्मेदवार महाराज हुने निश्चित थियो । महाराज पनि महेशकै मान्छे हुन् । त्यसो त महाराजको पक्षमा पृथ्वीसुब्बा गुरुङ थिए । उनले महाराज नभएपछि थेबेलाई समर्थन गरेका हुन् । भेगीय दृष्टिले पनि महेशले कृष्णहरि केसी र महाराजलाई समदूरीमा राखेका थिए । तर, ओलीले ‘थेबेलाई अध्यक्ष बनाउने जिम्मा भयो’ भन्दै बालुवाटारमा महेशलाई धाप मारेपछि उनी दायाँबायाँ नलागेको एकजना पूर्वअध्यक्षले बताए ।

बालुवाटारका भान्जा भनेर चिनिने अधिकारीलाई महासचिव बनाउन बालुवाटारभित्रकै प्रधानमन्त्रीको सचिवालयले चाहेको थियो । बालुवाटारको चाहना बुझेर उनलाई उपमहासचिवमा राख्न महेश बस्नेतहरुले चाहेका थिए तर अधिकारीले महासचिव नै खोजेपछि कुरा मिलेन ।

तर, पूर्वअध्यक्ष रमेश पौडेलचाहिँ बालुवाटारकै, तर ससुराली खलक (शाक्य) को लाइनमा थिए । यो पक्ष सुमन पुरीप्रति सकारात्मक रहेको दाबी पौडेलहरूको छ । एमालेमा केपी ओलीको विकल्प अहिलेसम्म कुनै नेताले खोजेका छैनन्, तर ओलीकै पक्षमा उभिने नेताहरूका भने आ-आफ्ना गुटहरूको भ्रूण निर्माण भइरहेको पोखरामा पनि प्रकट भयो ।

तर, महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय हाँक्ने संस्थापन टीम र इतर टीमका गुट बनिरहेका बेला पोखरामा भने छासमिसे अवस्था देखिएकाले कन्फ्युजनमा परिएको युवा नेताहरू बताउँछन्। पीएस गुरुङहरू थेबे जिताउने र खगराजहरू सुमन पक्षमा उभिँदा कन्फ्यूजनको अवस्था आएको हो । यद्यपि नेतृत्व तहमा युवा संघमा निर्वाचन नरोक्ने र निर्वाचनपछि आलोपालो गर्ने भद्र सहमति भएकाले संगठनकै संस्थापन भने एक ठाउँमा उभिएको थियो ।

आलोपालो भद्र सहमति

निर्वाचित अध्यक्ष थेबेले ३ वर्षे कार्यकालको बीचमा ४० वर्षको उमेरहद काट्दैछन् । त्यो अवस्थामा महाधिवेशनको भद्र सहमतिअनुसार उपाध्यक्ष दोहोर्‍याइएका महाराज गुरुङलाई जिम्मेवारी दिइँदैछ । यसबीचमा विधान अधिवेशन गरेर थेबेले महाराजलाई छाड्ने भद्र सहमति भएको छ । निर्धारित समयभित्र ११ औं महाधिवेशन गर्दा २०८५ जेठमा पुग्छ । त्यसबेलासम्म गुरुङले पनि ४० को उमेरहद काटेर आफूले महाधिवेशन गराउन पाउने आशा अर्का उपाध्यक्ष विनय शाहले पनि राखेका छन् । तर, उमेर चुनाव लड्ने बेलामात्र लाग्ने व्यवस्था छ ।

जसरी २०६९ फागुनमा महेश बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि त्यही कार्यकालभित्र युवा संघका ६ जना अध्यक्ष भए, यो कार्यकालले पनि तीन अध्यक्ष पाउने चर्चा भइरहेको छ । बस्नेतको दोस्रो कार्यकालमा विधानद्वारा निर्धारित समयमा महाधिवेशन नगर्दै अध्यक्षहरू फेरिएका थिए । उक्त कार्यकालमा बस्नेतपछि निरुदेवी पाल,राजीव पहारी, रमेश पौडेल ,वचन सिंह र किरण पौडेल अध्यक्ष भए ।

पुरी प्यानलबाट पदाधिकारीमा एकजना सचिव अरुण कुँवर र केन्द्रीय कमिटीमा १३÷१४ जना सदस्य जितेको बताइन्छ । अरुण जित्दा महासचिव शंकर पोखरेलको गृहजिल्लाका देबु बस्नेत भने पराजित भएका छन् । महिला सचिवमा संस्थापकै रोजिना पाण्डे उम्मेदवार बनेर उल्लेख्य मत ल्याउँदा निशा लिम्बुको मतान्तर सबैभन्दा कम भएको छ।

हेर्नुहोस्, प्रतिस्पर्धाको गणितीय चित्र

कूल मत १४०४

सुमन पुरी ६०८

क्षितिज थेबे ७९६

कहाँबाट कति ?

१. सुदूरपश्चिम प्रदेश

सुमन पुरी ६४

क्षितिज थेबे ५२

२. कर्णाली प्रदेश

सुमन पुरी ५४

क्षितिज थेबे ५१

३. गण्डकी प्रदेश

सुमन पुरी ३९

क्षितिज थेबे ८४

४. विशेष प्रदेश

सुमन पुरी ३५

क्षितिज थेबे ३४

५. लुम्बिनी प्रदेश

सुमन पुरी ७९

क्षितिज थेबे ५२

६. आयोजक

सुमन पुरी १७६

क्षितिज थेबे २३४

७. कोशी प्रदेश

सुमन पुरी ३१

क्षितिज थेबे १५४

८. मधेश प्रदेश

सुमन पुरी ६२

क्षितिज थेबे ३९

९. बागमती प्रदेश

सुमन पुरी ६८

क्षितिज थेबे ९६

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *