चैनपुर । ललितपुरको बागडोलमा हत्या भएको २२ वर्षपछि सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठको जन्मस्थान चैनपुरमा उनको शालिक राखिएको छ । श्रेष्ठको श्रीमती नुडुप श्रेष्ठसहित अङ्गरक्षक सूर्य रेग्मीको २०५९ माघ १२ गते ललितपुरको बागडोलमा बिहान मर्निवाकका बेला हत्या भएको थियो ।
स्वर्गीय श्रेष्ठको जन्मस्थान संखुवासभाको ऐतिहासिक बजार चैनपुरमा कृष्णमोहन र उनकी श्रीमती नुडुप श्रेष्ठको शालिक सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्थालले एक भव्य समारोहका बीच अनावरण गर्नुभयो । शालिक अनावरण समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालका साथै स्थानीय चैनपुरबासीले शालिकमा फूलमाला चढाएका थिए ।
शालिक अनावरण समारोहलाई सम्वोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र द्वन्द्वकालमा सशस्त्र प्रहरी बलको स्थापनामा स्वर्गीय कृष्णमोहन श्रेष्ठको ऐतिहासिक भूमिका रहेको बताए । ‘द्वन्द्वका बेला सशस्त्र प्रहरी बलको स्थापना भएता पनि वर्तमान सन्दर्भमा समेत मुलुकको राष्ट्रिय सुरक्षाका दृष्टिले सशस्त्र प्रहरी बलको स्थापना अझ महत्त्वपूर्ण रहेको स्पष्ट भएको छ,’ महानिरीक्षक अर्थालले भने, ‘त्यस दृष्टिले हेर्दा स्वर्गीय कृष्णमोहन अत्यन्तै दूरदर्शी सुरक्षा नेतृत्व रहेको स्पष्ट हुन्छ ।’
‘सबै मानिसले शालिक बन्ने अवसर पाउँदैनन्, त्यसका लागि त्याग र बलिदानको आवश्यक पर्छ, स्वर्गीय कृष्णमोहन राष्ट्रका लागि बलिदान दिएर राष्ट्रिय सपुत बनेर सधैँ सधैँ बाचिरहनु भएको छ’ महानिरीक्षक अर्यालले भने, ‘कृष्णमोहन श्रेष्ठ एक सक्षम र दुरदर्सी नेतृत्व हुनुहुन्थ्यो, त्यही कुरालाई हामीले अनुसरण गरिरहेका छौँ ।’
माओवादी सशस्त्र द्वन्द्व चरमउत्कर्षमा पुगेका बेला तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारले २०५७ साल माघ १९ गते सशस्त्र प्रहरी बलको स्थापना गरेको थियो । सरकारले पहिलो सशस्त्र प्रहरी महानिरीक्षकको जिम्मेवारी नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कृष्णमोहन श्रेष्ठलाई दिएको थियो । आधुनिक तालीम र आधुनिक हातहतियारले सुसज्जित सशस्त्र प्रहरी बल स्थापना कालदेखि नै तत्कालीन द्वन्द्वरत माओवादीलाई नियन्त्रण गर्न सफल हुँदै गएको थियो । जसका कारण सशस्त्र प्रहरी बल माओवादीको उच्च निशानामा र आक्रमणको तारो बनेको थियो । जसको निशाना सशस्त्र प्रहरी ब प्रमुख कृष्णमोहन श्रेष्ठ स्वयं बन्न पुगेका थिए । सशस्त्र माओवादी द्वन्द्वकालमा मारिनेमा स्वर्गीय कृष्णमोहन नै सबैभन्दा उच्च अधिकृत थिए ।
कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानका उपाध्यक्ष तथा स्वर्गीय कृष्णमोहन श्रेष्ठकी बहिनी निर्मला प्रधानले सशस्त्र प्रहरी वलको नेतृत्व गरेकै आधारमा या अन्य के कारणले आफ्नो दाजुको हत्या गरेको हो भन्ने कुराको कही कतैबाट चित्तबुझदो जवाफ नपाएको बताइन । ‘हत्याबारे राष्ट्रका तर्फबाट कुनै चित्तबुझदो अनुसन्धान गरी हत्यारालाई कारबाही गर्ने गहकिलो काम पनि भएन’ समारोहमा भावुक हुँदै उनले आफ्नो परिबारको पीडा सुनाइन्, ‘आफ्नो दाइको हत्यारालाई कारबाही नभई उन्मुक्ति दिइरहेको देख्दा परिवारका सदस्यलाई थप पीडा महसुस हुन्छ ।’
‘तर हामी परिवारका सदस्यले त्यो हत्याको बदला भाव कहिल्यै राखेनौँ । देशमा शान्ति कायम होस भन्ने चाहना व्यक्त गरी राख्यौँ’ उनले भनिन्, ‘त्यो शान्तिमा दण्डहीनता होइन, न्याय हुने छ भन्ने हाम्रो चाहना थियो । त्यो चाहना प्राकृतिक न्यायको सिद्धान्तमा आधारित चाहना थियो । जुन स्वभाविक चाहना हो । जुन अहिलेसम्म पूरा हुन सकेको छैन ।’
समारोहमा चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार श्रेष्ठले स्वर्गीय श्रेष्ठ चैनपुरको मात्र नभएर मुलुककै गहना भएको बताउँदै स्वर्गीय श्रेष्ठको स्मृतिमा चैनपुरमा शालिक राखेर ‘द्वन्द्व होइन, शान्ति’ को सन्देश प्रवाह भएको बताए । स्वर्गीय श्रेष्ठको बलिदानले मुलुकमा शान्ति स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह भएको उनले आफ्नो धारणा राखे ।
स्वर्गीय श्रेष्ठको शालिक अनावरण समारोहमा चैनपुर नगरपालिकाका उपप्रमुख एलिना श्रेष्ठ, सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक दुर्जकुमार राई, पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष पूर्व एआईजी नारायणबाबु थापाले स्वर्गीय श्रेष्ठको योगदानबारे चर्चा गरेका थिए ।
स्वर्गीय श्रेष्ठ २००३ सालमा संखुवासभाको चैनपुरमा जन्मेका थिए । संवत २०२७ सालमा नेपाल प्रहरीको अधिकृतमा भर्ना भएका थिए । प्रहरी अधिकृत हुनु अघि उनी स्थानीय सरस्वती हाइस्कूलेका प्रधानाध्यापक थिए । उक्त शालिक कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठानले चैनपुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरेको हो । भविष्यमा पनि प्रतिष्ठानले चैनपुमरा युवाहरू माझ सकारात्मक सन्देश प्रवाह हुने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।


Leave a Reply