काठमाडौं । नेपाल स्काउटको कार्यकारी भूमिका अन्तर्राष्ट्रिय आयुक्तको जिम्मेवारीबाट स्मृति बरालले राजीनामा दिएकी छन् ।
२०८० फागुन १३ मा निर्वाचित भई नेपाल स्काउटको अन्तर्राष्ट्रिय आयुक्तको जिम्मेवारी सम्हालेको १५ महिनामा राजीनामा दिएकी हुन् ।
उनले आफूले राजीनामा पत्र बुधवार नै नेपाल स्काउटका प्रमुख आयुक्त तथा कार्यालय प्रमुखलाई इमेलमार्फत बुझाएको जानकारी सामाजिक सञ्जालमार्फत गराएकी छन् ।
बरालले एक पटक स्काउट भएपछि सधैँका लागि स्काउट हुने भएकाले आफू जीवनभरि स्काउटकै भावना र सेवा भावमा समर्पित रहने भन्दै पदबाट बाहिरिँदा पनि आफ्नो स्काउट आत्मा कहिल्यै आफूबाट टाढा नहुने बताएकी छन् ।
नेकपा (एमाले) निकट अनेरास्ववियुको स्थायी समिति सदस्य एवम विदेश विभाग प्रमुख समेत रहेकी बरालले स्काउटको अन्तर्राष्ट्रिय आयुक्तको जिम्मेवारीमा रहँदा धेरै उतारचढावको सपना गर्नुपरेको बताएकी छन् ।
आफ्नो राजनीतिक यात्रालाई केन्द्रमा राखेर बारम्बार आत्मसम्मानमा ठेस पुग्ने व्यवहार भएको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, ‘नेपाल स्काउटको जीवनमा पछिल्लो समयमा संस्थाले र व्यक्तिगत रूपमा मैले पनि धेरै उतारचढावको सामना गर्नुपर्यो। ती मध्ये मेरो लागि सबैभन्दा पीडादायी अनुभव भनेको मेरो राजनीतिक यात्रालाई केन्द्रमा राखी बारम्बार मेरो आत्मसम्मानमा ठेस पुग्ने व्यवहार हुनु नै हो । चरित्रहत्या, भ्रामक सूचनाको खेती — यी त सामान्यजस्तै बनिसकेका छन् ।’
उनले आफूमाथि निरन्तर आक्रमण भइरहेपछि नेपाली समाज एक विशेष मानसिक रोगले ग्रसित भएको निष्कर्षमा पुगेको पनि दाबी गरेकी छन् ।
उनले लेखेकी छन्, ‘यी सबै भइरहँदा, मैले धेरै पटक सोच्न बाध्य भएँ ‘किन यस्तो भयो’ र अन्ततः म एउटा निष्कर्षमा पुगेँ आज हाम्रो समाज एक विशेष मानसिक रोगले ग्रसित छ, त्यो हो ‘राजनीतिमा लाग्नेहरू सबै स्वार्थी हुन्छन्, र पदका लागि जे पनि गर्न सक्छन्’ भन्ने सोच । तर हामीले बिर्सनु हुँदैन- एक साँचो राजनीतिज्ञ भनेको समाज परिवर्तन गर्ने सपना देख्ने, आफ्नो जीवन अरूको सेवा र समाजको हितमा समर्पित गर्ने विचारले प्रेरित व्यक्ति हो।’
आफू सक्रिय राजनीतिमा भएकै कारण आफूमाथि बारम्बार चरित्रहत्या गर्न हुन थालेपछि र नगरेको गल्तीको दोष थोपरिन थालेपछि नैतिकताको आधारमा राजीनामा दिएको बताएकी छन् ।
आफू नेपाल स्काउटको कार्यकारी भूमिकामा रहँदा आफ्नो कार्यकाललाई सफल बनाउन योगदान पुर्याउनेप्रति आभार व्यक्त गरेकी छन् ।

Leave a Reply