उपाध्यक्ष घिमिरेद्वारा संविधानको मौलिक हक कार्यान्वयनमा जोड

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जनचाहनाअनुरूप नेपालको संविधानले मौलिक हकका रूपमा स्थापित अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेकी छन्, “नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै समाजवादोन्मुख आर्थिक प्रणाली निर्माण गर्न हामी सबै लाग्न आग्रह गर्दछु ।”

उपाध्यक्ष घिमिरेले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदप्रति श्रद्धा अर्पण गर्दै घाइते तथा अङ्गभङ्ग हुनुभएका सम्पूर्ण नेपालीप्रति उच्च सम्मान व्यक्त गरेकी छन् । गणतन्त्रलाई संस्थागत गर्न संविधानको कार्यान्वयन गर्ने र सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु सबैको कर्तव्य भएको पनि उनले उल्लेख गरेकी छन् ।

उपाध्यक्ष घिमिरेले शुभकामना सन्देशमा भनेकी छन््, “जननिर्वाचित संविधानसभाले राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै जनताको शासन सुनिश्चित गरेको आजको दिन केवल शासन व्यवस्थाको परिवर्तन मात्र नभई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि युगीन महत्व बोकेको ऐतिहासिक दिन हो । जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार हो ।”

गणतन्त्रविरुद्ध धावा बोल्ने र फेरि निरङ्कुश व्यवस्थातर्फ मुलुकलाई लैजान खोज्ने कुचेष्टा पनि हुन थालेको उल्लेख गर्दै उनले मुलुक फेरि निरङ्कुशतातर्फ फर्कन नसक्ने ठोकुवा गरिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *