रुपन्देही । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत राजस्व चुहावट सम्बन्धी कसूरमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८, लुम्बिनी गेट स्थित सुन्दर प्लाईउड सेन्टर संचालक आकाश अग्रहरीविरुद्ध १ करोड ६ लाख रुपैयाँ विगोजरिमानासहित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ ।
प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार ५३ लाख २७ हजार ६४६ रुपैयाँ बिगो कायम गरी शतप्रतिशत जरिवाना ५३ लाख २७ हजार ६४६ रुपैयाँसँगै हदैसम्मको सजाय मागदाबी लिई आज मुद्दा दायर गरिएको हो ।
उनले जारी गरेको विज्ञप्तिमा अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बिल बिजक, खरिद खाता, विक्री खाता, लगायत अन्य आवश्यक कागजातहरु तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण गर्दा उक्त फर्मको मौज्दात किताबमा प्रविष्टि गरेबमोजिमको परिमाणभन्दा भौतिक निरीक्षणबाट प्राप्त परिमाण बढी देखिएको तथा केही मालवस्तुको परिमाण कम देखिनु जस्ता विभिन्न पक्ष समेतलाई हेर्दा सो फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएको मालवस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगर्नु, पेश गरेको मौज्दात विवरण भन्दा अधिक मालवस्तु गोदामबाट फेला पर्नु, बढी फेला परेको मालवस्तुको खरिद तथा भन्सार पैठारी गरेको कुनै निस्सा प्रमाण निजसँग नहुनु तथा कारोबार छल्ने उद्देश्यले न्यून बिक्री देखाई निजले राजस्व चुहावट गरेको उल्लेख छ ।
केही समययता बुटवल कार्यालयमा आएका घिमिरेले कर छलेका यहाँका प्रतिष्ठित व्यवसायीहरुलाई धमाधम कारबाहीको डण्डा चलाएका छन् ।


Leave a Reply