काठमाडौं । अभिनेता राजेश हमालले आठ वर्षपछि कमब्याक गरेको चलचित्र ‘नरसिंहाः अवतार’ले पिकअप लिने संकेत गरेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले डेढ करोडमाथि ग्रस गरिसकेको स्रोतले बतायो । आज बुधबारको दिन पनि हलहरुमा ६०/७० प्रतिशत अकुपेन्सी छ । यद्यपि आज बुधबार टिकट दरमा पचास प्रतिशत छुट लागू हुने गरेको छ ।
अपेक्षित ओपनिङ गर्न नसके पनि चलचित्रले विस्तारै पिकअप लिने अपेक्षा निर्माताहरुको छ । तथापि ‘नरसिंहा : अवतार’का लागि आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ भारी पर्न सक्छ । सहाकारी पीडितको जल्दोबल्दो मुद्दा उठाएको ‘महाभोज’मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अन्जना बराइली लगायत कलाकार छन् ।
त्यस्तै, दुई सातअघि प्रदर्शनमा आएको मल्टीस्टार चलचित्र ‘के घर के डेरा : घर नम्बर २’ले पनि औसत व्यापार गरेको छ । वितरक करण श्रेष्ठ क्रेजीका अनुसार दुई सातामा चलचित्रले एक करोडमाथि मात्रै ग्रस कलेक्सन गरेको छ । खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल लगायत कलाकार रहेको यो चलचित्रले दुई सातामा गरेको व्यापार अपेक्षित होइन ।
तत्कालको बक्स अफिस कलेक्सन हेर्दा यी दुवै चलचित्रलाई लगानी उठाउन निकै गाह्रो हुने देखिन्छ । यद्यपि आउँदा दिनमा चलचित्रले गर्ने व्यापार कस्तो हुनेछ, त्यसले लगानी सुरक्षित हुने कि नहुने भन्ने निक्र्यौल गर्नेछ ।
‘के घर के डेरा : घर नम्बर २’ का निर्माता आज साँझसम्ममा दुई साताको कलेक्सन सार्वजनिक गर्ने तयारीमा छन् । भोलि बिहीबार ‘नरसिंहा : अवतार’ बक्स अफिस कलेक्सन सार्वजनिक गर्ने योजनामा यस चलचित्रका निर्माता छन् । भोलिसम्ममा चलचित्र दुई करोड ग्रस कलेक्सन गरिसक्ने अँँकलन निर्माताहरुको छ ।

Leave a Reply