त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघको तोडफोड, शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी

काठमाडौं।नेपाली कांग्रेस निकट नेविसंघकले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा. खड्क केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड र तालाबन्दी गरेका छन् ।

नेविसंघका विद्यार्थी नेताहरुले आज उपकुलपति केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् । साथै रेक्टर ढकालको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् । नेविसंघले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै त्रिवि पदाधिकारीहरुकाे कार्यकक्षमा ताेडफाेड र तालाबन्दी गरेका हुन् ।

त्रिविको शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहकाे प्रथम वर्षकाे परीक्षा असारभित्र गराउनुपर्ने उल्लेख गरिएको छ ।

सोही शैक्षिक क्यालेन्डर अनुसार त्रिविले स्नातक पहिलो वर्षकाे परीक्षाका लागि फारम खुलाएको थियो । तर, नेविसंघका कार्यकर्ताहरुले भने शैक्षिक क्यालेण्डर विपरित यतिबेला विद्यार्थीको भर्ना लिन दबाब दिएकाे छ ।

शैक्षिक सत्रको अन्तिममा आएर भर्ना नलिने र क्यालेण्डर अनुसार नै शैक्षिक गतिविधि गर्ने अडान भीसी र रेक्टरले लिएका थिए । दुबैजना आफनो अडानबाट टसमस नभएपछि नेविसंघको नेताहरुले भिसीको कार्यकक्षमा तोडफोड गरेका छन् भने रेक्टरको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

भिसी केसीले अवाञ्छित गतिविधिसँग झुकेर विश्वविद्यालयको क्यालेण्डर नबिगार्ने बताएका छन् ।

उनले नेपालप्रेससँग भने,‘त्रिविको शैक्षिक क्यालेण्डर अनुसार नै हामीले विद्यार्थीको भर्ना गर्ने समय दिएका थियौं । सोही अनुसार परीक्षा पनि गराउन लागेको हो । परीक्षा फारम खोलेर बन्द हुन लागिसकेको अवस्थामा फेरि भर्ना लिइ भनेर दबाब दिन मिल्दैन ।’

उनले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब आएको  बताए । अवाञ्छित गतिविधिसँग झुकेर विश्वविद्यालयको क्यालेण्डर नबिगार्ने उनको अडान छ ।

उनका अनुसार आफूखसी गर्न खोजियो भने सबै भद्रगोल हुन्छ ।’त्रिवि सुधारमा लाग्नुको साटो तोडफोड दादागिरिमा विद्यार्थी संगठन लागेको देखिन्छ।’ उनले भने ।

 भर्ना खाेल्न नेविसंघकाे चेतावनी

तोडफोड र तालाबन्दीमा शंकरदेव, भक्तपुर क्याम्पसलगायतका १९ वटा क्याम्पसका नेविसंघका कार्यकर्ताहरु सलंग्न भएका छन् ।

नेविसंघका विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको लागि भनेर त्रिविले गत माघ ११ गतेदेखि स्नातक तहको पहिलो वर्षको भर्ना रोकेकाले अहिले भर्ना हुन दिनुपर्ने माग गरेका छन् ।

स्ववियु निर्वाचनपश्चात भर्ना हुन पाउने विद्यार्थीहरुको अधिकार पहिलेदेखि नै चलिआएको उनीको भनाइ छ । विद्यार्थीहरु अध्ययन गरिरहेको पनि भर्ना हुन नपाएको उनीहरुको गुनासो छ ।

त्रिवि पदाधिकारहिरुले परीक्षाको नाममा विद्यार्थीहरुलाई सरकारी, सामुदायिक क्याम्पसमा पढ्न रोकी निजी क्याम्पसहरुलाई प्रसय दिएको उनीहरुको आरोप छ । उनीहरुले तुरुन्त स्नातक तहको प्रथम वर्षमा भर्ना खोल्न अनुरोध गरेका छन् ।

यदि भर्ना नखोलिएमा विद्यार्थीहरुलाई पढ्नबाट बन्चित गरेमात्रिवि पदाधिकारीहरुविरुद्ध जस्तोसुकै कदम चाल्ने उनीहरुले चेतावनी दिएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *