लुम्बिनी अस्पतालमा ब्लड बैंक सञ्चालनका लागि किनिएको मेसिन ४ वर्षपछि सञ्चालनमा आउँदै

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा ब्लड बैंक संचालनार्थ चार वर्षअघि बुटवलका व्यवसायीहरुले सहयोग संकलन गरेर उठाएको रकमबाट किनेर दिएको मेशिन बल्ल संचालनमा आउने भएको छ ।

रुपन्देही व्यापार संघको अगुवाईमा यस क्षेत्रको मुख्य सरकारी अस्पतालका रुपमा रहेको यो अस्पतालमा आउने बिरामीहरुको सहजताका लागि ब्लड बैंक संचालन गर्न १ करोड ५८ लाख २० हजार रकम संकलन गरेर ०७८ सालमा मेशिन खरिद गरेर अस्पताललाई बुझाइएको थियो तर अस्पताल विकास समिति र मेसुसहितका केही कर्मचारीको स्वार्थले अहिलेसम्म त्यो मेशिन अलपत्र पारिएपछि ब्लड बैंक संचालन नै नहुने खतरा बढेर गएको थियो ।

प्रदेशको गौरवको योजनाका रूपमा अगाडि सारेर १२ सय सैयामा निर्माण थालिएको अस्पतालमा यो परियोजना संचालनका लागि चार वर्षअघिको समझदारीलाई आधार मान्दै पुनः नयाँ समझदारी गरिएसँगै यसको संचालनको निश्चित भएको हो ।

जेठ १७ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबाट यसलाई औपचारिक उद्घाटन गर्ने तयारी अस्पतालले गरिसकेको छ । संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले लामो समय विविध कारणले रोकिएको ब्लड बैंक अब संचालनमा आउने निश्चित भएको जानकारी दिएका हुन् ।

‘विवादका सबै विषय समाधान भए, अब त्यता नलागौं, नयाँ समझदारी भएको छ, त्यसैका आधारमा अब संचालन हुनेछ, हामीले किनेर दिएको ४ वर्षपछि संचालन हुने भयो’ उनले भने । उनका अनुसार उद्घाटनकै दिन बिहान ८ बजे अस्पताल प्राङ्गणमै बृहत रक्तदान कार्यक्रम पनि आयोजना गरिने छ ।

‘रक्तदान जीवनदान भन्ने भावनाका साथ सेवा भावमा आधारित रहेर यो केन्द्र स्थापना गर्न लागिएको हो’, अध्यक्ष अधिकारीले भने, ‘एकै पटक १ हजार युनिट रगत संकलन र भण्डारण गर्नसक्ने क्षमतायुक्त केन्द्र नेपालकै नमूना बन्नेछ ।’

संघका अनुसार उक्त केन्द्रमा जर्मन प्रविधिका अत्याधुनिक मेशिनहरु जडान गरिएका छन् । अस्पतालको भोगाधिकारमा रहेको हाताभित्र आवश्यक संरचना अस्पतालले निर्माण गर्नेछ भने उपकरण संघले उपलब्ध गराएको हो । संघ र अस्पतालबीचको सहकार्यमा सञ्चालित हुने यो ब्लड बैंकको दिगो संरक्षण, मर्मत, व्यवस्थापन र नियमनका लागि सरकारी नीति अनुरूप कार्यविधि, नियमावली र समितिहरु गठन गरिने जनाइएको छ ।

०७८ सालमा ब्लड बैंक स्थापनाका लागि लुम्बिनी प्रादेशिक अस्पताल र रुपन्देही व्यापार संघबीच संस्थागत रुपमा सम्झौता भएर मेशिन आएपनि अहिलेसम्म अलपत्र पारिएको थियो ।

ब्लड बैंक स्थापनाका लागि तत्कालीन समयमा भएको १० बुँदे सम्झौता पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालका तत्कालीन अध्यक्ष सूर्यबहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र मेसु डा. राजेन्द्र खनाल तथा रुपन्देही ब्यापार संघको तर्फबाट तत्कालीन अध्यक्ष यमलाल लोहनी, महासचिव दयानिधि भण्डारी र कोषाध्यक्ष दिपक अधिकारीले हस्ताक्षर गरेका थिए ।

तर सम्झौता भएको केही समयमै अस्पतालको नेतृत्व र मेसु फेरिएसँगै अनावश्यक विवाद निकालेर यसलाई रोक्ने काम भएको थियो । जग्गाको विवाद र मेशिन सप्लायर्सले समय अगावै समान पठाएर अस्पताल प्रशासनसँग समन्वय नहुँदा अहिलेसम्म रोकिएको थियो ।

‘संघले सबै रकम नपठाउँदै सप्लायर्सले मेशिन पठाएको थियो, मेशिन आएपछि अस्पतालले नै बुझ्यो तर संघले तत्काल त्यसलाई राख्ने व्यवस्थापन नहुँदा केही समय केही रकम रोकेको थियो, तर अस्पताल प्रशासनकै कारण अहिलेसम्म रोकिएको थियो, अब सबै विवाद समाधान भएर संचालनमा आउने भयो’ संघले भनेको छ ।

सम्झौता पत्रमा अस्पतालको हाताभित्र स्थापना हुने ब्लड बैंकको लागि भौतिक संरचना अस्पतालले बनाउने र त्यसलाई आवश्यक पर्ने उपकरण रुपन्देही व्यापार संघले उपलब्ध गराउने उल्लेख छ ।

ब्लड बैंक सञ्चालनका लागि ७ सदस्यीय सञ्चालक समिति गठन गर्ने जसमा रुपन्देही व्यापार संघको तर्फबाट ३, अस्पताल विकास समितिबाट २, स्थानीय सरकार बुटवल उपमहानगरपालिकाबाट १ र जिल्ला प्रशासनबाट १ जनाको प्रतिनिधित्व रहने छ । यसैगरी अस्पताल प्रशासन र लेखा शाखाबाट १–१ जना अनिवार्य आमन्त्रित सदस्य राख्ने व्यवस्था गरिएको छ ।

सो परियोजना केन्द्रबाट आर्जन हुने आय सोही परियोजना सञ्चालन, मर्मतसम्हार र विकासका लागि खर्च गरिने बताउँदै आयव्यवलाई पारदर्शी राख्न र चलाउन छुट्टै बैंक खाता खोलिने छ भने गरिब, असाय र अशक्त बिरामीलाई निःशुल्क सेवा दिने प्रतिबद्धता सम्झौतामा जनाइएको छ । यो ब्लड बैंकमा अत्याधुनिक प्रविधिको प्रयोग र व्यवस्थापन रहेको छ । तर अहिले सरकारले नै यो रकम निःशुल्क बनाएपछि नयाँ समझदारी भएको हो ।

नेपालमा नै सीमित स्थानमा रहेका बहुउपयोगी खालका मेसिनहरुबाट रगतको विविधिकरण गरी प्रयोगमा ल्याउने विधि यसमा छ । नेपालमा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालनमा रहेको ब्लड बैंकले मात्र रगत वितरण गर्दै आएकोका अब त्यो एकाधिकार पनि तोडिने भएको छ । यो रक्तसंचार केन्द्रमा १ हजार युनिट रगत संकलन क्षमता रहेको छ ।

अस्पतालमै यो व्यवस्था भएसँगै नेपालका कुनै एक समूहको कब्जामा रहेको ब्लड बैंकले जनअपेक्षाअनुसार सेवा नदिएरहेको गुनासो अब कम हुने अपेक्षा स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा उपचाररत बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने घोषणा यसअघि नै गरिसकेको छ ।

केन्द्र स्थापनाको सुरुवात गरेका रुपन्देही ब्यापार संघका तत्कालीन अध्यक्ष यमलाल लोहोनीले अस्पतालसंग पवित्र कार्य गर्नको लागि सहकार्य गरेको तर विविध कारणले रोकिएकोमा अहिले सुचारु हुन लागेको सुन्दा निकै खुसी लागेको बताए ।

‘०७५ सालमा मेरो नेतृत्वमा रहेको संघले सामाजिक क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेर यस्तो नयाँ कामको योजना बनेको थियो, ०७८ सालसम्म संघबाट यो रकम जुटाउन सकियो र मेशिनका लागि सम्झौता भएर रकम गएको हो, तर केही स्वार्थी समूहको प्रभावले अहिलेसम्म अड्काइयो, तर यस्ता गलत तत्वको आयु लामो हुँदैन, अहिले उनीहरु फेल भएर यो संचालनको तहमा पुग्यो’ उनले भने ‘नागरिकको जीवनसँग जोडिएको रगत व्यवस्थापन गर्ने कामलाई रोक्न खोज्नेहरुलाई कहिल्यै राम्रो हुने छैन, उनीहरुले पश्चाताप गर्ने दिन आउने छ ।’

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले स्वास्थ्य क्षेत्रको सुधारका लागि यो महत्वपूर्ण काम भएको बताए । उनले प्रदेश सरकारकै गौरवको आयोजनामा रहेको यो अस्पतालमा ब्लड बैंकको स्थापनापछि उपचार गर्ने बिरामीको लागि ठूलो राहत पुग्ने जनाए ।

‘०८५ सालमा आफ्नै ठूलो भवन तयारी हुँदैछ, सरकारी अस्पतालमा आफ्नै ब्लड बैंक चाहिन्छ भन्ने छ नै, त्यसको प्रारम्भिक अभ्यास यसले गरेको छ, यहाँका सामाजिक संस्थाहरुको अग्रसरतामा यो संभव भएको हो, अस्पतालभित्रै रगतको व्यवस्था भएपछि उपचारमा धेरै सहज हुनेछ’, उनले भने ।

उनका अनुसार ब्लड बैंक संचालनका लागि चार वटा मुख्य संस्था नेपाल रेडक्रस, ब्लड बैंक, दाताका रुपमा रुपन्देही व्यापार संघ र अस्पताल प्रशासन बसेर संचालन समझदारी सोमबार नै भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *