साढे दुई दशकअघिको गीत पारिजात प्रतिष्ठानले ‘हटाइदिनू’ भनेर पत्र काटेपछि नयाँ शब्दहरू राख्ने सूरमा संगीतकार शान्तिराम (भिडिओ)

काठमाडौं । ‘तिमी तारे भीर’ बोलको गीत आफैंले किन गाइनँ होला ?’

कहिलेकाहीँ संगीतकार शान्तिराम राईको दिमागमा खेल्ने फन्टुस सवाल हो यो । साढे तीन दशकअघि निर्मित यो गीत अहिलेको जेन–जी पुस्ताको पनि प्रिय गीतमध्ये एक हो । रियालिटी शोहरूमा यो गीत प्रायःजसो बजेकै हुन्छ । गायक शान्तिरामले संगीतकारको अवतार लिएको पहिलो गीत यही नै हो ।

साढे तीन दशक पछाडि फर्कने हो भने त्यसवेला शान्तिराम सिर्फ गायक थिए । गायक बन्नलाई नै खोटाङको सोल्माबाट काठमाडौं हान्निएका थिए, २०४५ सालमा । २०४६ सालमा त रेडियो नेपालमा भ्वाइस टेस्ट नै पास गरेका थिए । गायक शम्भु राईको संगीतमा समेत गीत रेकर्ड गराउन भ्याइसकेका थिए ।

गायकको लय पक्रिएका शान्तिराम अन्ततः गीतहरूको लय निर्माणतिर लागे । गीतको गर्भ-कथा सुनाइरहँदा मैले फ्याट्टै प्रश्न गरेँ, ‘अनि आफैंले चाहिँ यो गीत किन गाउनुभएन ?’

एकछिन अकमकिए उनी । फिस्स हाँसेर बोले, ‘मैले यो गीत किन गाइनँ ? मैले म आफैंलाई गर्ने प्रश्न हो यो । सायद मैले गाएको भए यति मीठो हुँदैनथ्यो कि ? मैले गाएको भए यति धेरै बाजागाजाले सुसज्जित हुँदैनथ्यो कि ? गीतमा लगानी गर्ने पैसा नभएकाले पो आफैंले गाउनेबारे सोचिनँ कि ?’

अनि काठमाडौं

साढे तीन दशकअघिका उनका कतिपय सम्झना धमिला भइसके । कतिपय सम्झना मेटिएरै गइसके । कतिपय सम्झना रहलपहल छन् ।

काठमाडौं हान्निनुअघि उनी दिक्तेल बहुमुखी क्याम्पस पढ्थे । क्याम्पसमा पढाइतिर कम, गायनतिर ज्यादा लगाव थियो उनको । एक दिन क्याम्पसले गायन प्रतियोगिता गर्‍यो । प्रतियोगीको रूपमा शान्तिराम तेस्रो भए । स्वर सुनेर मोहित भएका साथीभाइले उक्साए, ‘तिमी काठमाडौं जाऊ, रेडियो नेपालमा गएर गाऊ !’

रेडियो नेपालमा चौतारी कार्यक्रम प्रख्यात थियो । यस कार्यक्रमको नियमित स्रोता थिए शान्तिराम । गाउनमा पनि असाध्यै रुचि राख्थे । आगोमा घिउ खन्याए झंै शान्तिरामको गायक बन्ने रुचिमा साथीभाइले हौसला खन्याइदिए । ‘सबैले राम्रो गाउँछस्’ भनेपछि उनी पनि हौसिए ।

अनि काठमाडौं हान्निए । काठमाडाैंमा लाजिम्पाट बस्थे । रेडियो नेपालको स्टेसनमा पुग्न सिंहदरबार धाउँथे । सिंहदरबारभित्र छिर्ने परिस्थिति निर्माण गर्नै समय लाग्यो उनलाई । केही समयपछि सिंहदरबार छिरे । चौतारी कार्यक्रममा आफ्नो नाम टिपाए ।

‘तीन महिनापछि मेरो पालो आयो, गएर गीत गाएँ’, शान्तिराम सम्झिन्छन्, ‘आफ्नै स्वर रेडियोमा सुन्दा ठीकै रैछ भन्ने लाग्यो ।’

अलि पछि दोस्रो पटक उनी चौतारीमा गीत गाउन गएँ । त्यहाँ उनको एक गायकसँग भेट भयो ।

‘रेडियो स्टेसनमा राई राई अनुहार परेको मान्छे देखियो । काठमाडौंमा राई भेट्नु भनेको घरै पुगे जस्तो हुने समय थियो । उनी गायक शम्भु राई रहेछन्’, शान्तिराम सुनाउँछन्, ‘बुलु मुकारुङ दाइलाई पनि चिनेँ, तर उहाँसित बोल्न अलि आँट आएन । कपाल पालेको, गोगो पाइन्ट लगाएको, मोटरसाइकल चढेर आउनुहुन्थ्यो । हेर्दै अलि गुन्डा जस्तो ! शम्भु दाइ चाहिँ नरम स्वभावको भएकाले छिटो घुलमिल भयो ।’

शम्भुको ‘आलु दम चना’ जस्ता गीतहरू चर्चित भइसकेका थिए । रेडियो नेपालमा तारादेवी, नातिकाजी, मीरा राणा, अम्बर गुरुङ, गोपाल योञ्जनहरूलाई पनि उनले भेटे ।

कलाकर्मीको माहोलमा कवि श्रवण मुकारुङसँग पनि शान्तिरामको चिनजान भयो । दिक्तेलमा हापेको क्याम्पसको पढाइ आरआर क्याम्पसबाट पुनः सुरुसमेत गरे ।

शान्तिराम-श्रवणको मैतीदेवीमा बसाइ पनि नजिक-नजिक नै थियो । राष्ट्रिय नाचघरमा पूर्वबाट आएकाहरूको जमघट हुन्थ्यो । शम्भु राई नाचघरमै जागिरे थिए । गणेश रसिक जीएम थिए ।

‘अनुहार पनि मिल्ने, गाला, आँखा मिल्ने । भाषा र लवज पनि मिल्ने भएपछि त्यहाँ जमघट हुन्थ्यो’, उनी थप्छन्, ‘असनमा गएर राँगाको छोयला, कचिला पनि खान्थ्यौं ।’

चर्चित गायिकाले रिजेक्ट गरेको ‘तिमी तारे भीर’

एक दिन श्रवणले दुई गीत लिएर आए- ‘तिमी तारे भीर’ र ‘बाटो हेरे हुन्छ आमा’ । संगत बढ्दै गएपछि श्रवणले बेलाबेला भन्थे, ‘कहाँ गीत गाएर हुन्छ शान्तिरामजी ? अम्बर गुरुङ, गोपाल योञ्जनजस्तो पो हुनुपर्छ ।’

श्रवणले ल्याएकामध्ये पहिलो गीतको कम्पोज सुरु गरे शान्तिरामले ।

‘श्रवणजीसँग हर्लिक्सको बोतलमा ल्याएको सेतो रक्सी खाँदै, भटमास र अदुवाको सितन लिँदै रातको १ बजेसम्म गीतको कम्पोज गरियो । म हार्मोनियम बजाउथेँ, उहाँ गितार बजाउनुहुन्थ्यो । गीत गाउँदै टेप रेकर्डमा रेकर्ड गर्दै सुन्थ्यौं’, उनी भन्छन्, ‘आफैंले कम्पोज गरेको गीत सुनेपछि आहा, खत्रा बनेछ भन्थ्यौं । गीतले खायो खायो भन्थ्यौं ।’

गीतको कम्पोज तयार भएपछि एक जना चर्चित गायिकालाई सुनाउन दुईजना कुपण्डोल पुगे । श्रवणले शान्तिरामलाई कन्भिन्स गरेका थिए, ‘मैले चिनेको छु उहाँलाई । एक सटमै मान्नुहुन्छ ।’

परिस्थिति श्रवणले भने जस्तो भएन । ती गायिकाले गीतलाई सीधै रिजेक्ट गरिदिइन् । गीत यतिकै थन्कियो । अलि पछि निर्देशक नवीन सुब्बाले गायिका पवित्रा सुब्बालाई गीतबारे बताएछन् । पवित्रालाई गीत सुनाउन दुवै जना गए । पवित्राले पनि गीत मन पराइन् ।

‘मन परेरै भन्दा पनि त्योवेला क्यासेटमा आठ वटा गीत राख्नुपर्ने थियो । उहाँ गीतको खोजीमा हुनुहुँदा हाम्रो गीत फेला परेको रहेछ’, शान्तिराम सुनाउँछन्, ‘गीत बनेपछि उहाँले क्यासेटको ‘बी’ साइडमा राख्नुभयो । ‘ए’ साइडतिर चाहिँ राम्रा र छानिएका गीत हुन्थे । ‘बी’ साइडमा फिलर गीत हुन्थे । त्यसवेला हाम्रो गीतलाई ‘ए’ साइडमै एक नम्बरमा राखेको भए के जान्थ्यो भन्ने भएको थियो ।’

तर शान्तिराम-श्रवणका लागि गीत रेकर्ड हुनु नै ठूलो कुरा थियो । उनीहरू यही एउटा कारणले खुसी भए । यो गीतलाई उस्तो प्रमोसन नगरिए पनि विस्तारै अरु गीतलाई थिच्दैथिच्दै लोकप्रिय हुन थाल्यो । यति लोकप्रिय भयो कि पवित्रा, शान्तिराम र श्रवण तीनै जनाको मास्टरपिस गीतमध्ये एक बन्यो ।

अर्को ‘बाटो हेरे हुन्छ आमा’ शान्तिरामको संगीतमा शम्भु राईले गाए । यो गीत पनि हिट भयो ।

पारिजातको गीत पारिजात प्रतिष्ठानले ‘हटाइदिनू’ भनेपछि…

डुल्न मन लाग्छ मायालु साँझसँगै बताससँगै
मर्न मन लाग्छ मायालु रातसँगै दिनसँगै
सधैं चिसो इनारभित्र हिउँदो वसन्त साँचिरहेछु
एकान्तमा सधैं एक्लै वारिसविना बाँचिरहेछु
डढ्न मन लाग्छ मायालु, घामसँगै आगोसँगै
जल्न मन लाग्छ मायालु रापसँगै खरानीसँगै

साढे दुई दशकअघि शान्तिरामले अञ्जानवश साहित्यकार पारिजातको यो गीत कम्पोज गरेका थिए । दिवंगत गायिका लासमीत राईको स्वरमा रेकर्ड भएको यो गीत पछि राजेशपायल राईले पनि गाएका छन् । उल्लेखित शब्द पारिजातको हो भन्ने शान्तिरामलाई थाहा थिएन । उनका एक साथी सिंगापुर प्रहरीमा कार्यरत थिए । उनैले एक दिन भने, ‘एल्बम गर्नु छ, गीत बनाइदिनुस् ।’

‘मैले गीतहरू कम्पोज गरिदिएँ । उहाँले उताबाट पैसा पठाइदिनुभयो । यता गीत रेकर्ड पनि गरेँ । क्यासेटको फ्ल्याप पनि बन्यो । एल्बममा उहाँको र मेरो फोटो पनि राखियो’, शान्तिराम सुनाउँछन्, ‘पछि गीतकार टीका चाम्लिङले यो गीतको सर्जक पारिजात भएको बताउनुभयो । म त छक्क परेँ ।’

शान्तिराम थप्छन्, ‘सम्भवतः पारिजातको शब्द हो भनेको भए म कम्पोज पनि गर्दिन थिएँ । कम्पोज गर्ने हिम्मत पनि आउने थिएन । म सानो बच्चाले त्यति ठूलो साहित्यकारको गीत कम्पोज गर्ने आँट नै आउँदैनथ्यो ।’

पछि ती गीतकारले पनि पारिजातकै शब्द भएको स्वीकार गरे । ‘यसरी अरुको शब्दमा आफ्नो नाम राख्दा मुद्दा लाग्छ’ भनेर गीतकारलाई सम्झाए । गीतकारले भने, ‘उसो भए उहाँकै नाम राखिदिनू, मेरो नाम हटाइदिनू ।’

पारिजातकै नाम राखेर गीत सार्वजनिक भयो । गीत अत्यधिक चल्यो । पछि राजेश पायलले समेत गाए । अहिले पनि यो गीत चर्चित छ, तर ५-६ महिनाअघि शान्तिरामलाई पारिजात प्रतिष्ठानबाट एउटा चिठी आयो । चिठीमा ‘आफूहरूलाई नसोधी गाएको’, ‘शब्दहरू हेरफेर गरेको’लगायत आरोप थिए । सँगै ‘यो गीत सबैतिरबाट हटाइदिनू’ भन्ने ‘आदेश’समेत थियो ।

‘पारिजात प्रतिष्ठानको चिठी हात पर्दा खुसी लागेको थियो । आहा, पुरस्कारको लागि पो हो कि भन्ने भएको थियो । गीत रेकर्ड गरेकै २०-२५ वर्ष भइसक्यो, बल्ल प्रतिष्ठानले सम्झिएछ भन्ने लागेको थियो’, शान्तिराम दुःखेसो पोख्छन्, ‘तर धम्कीपूर्ण चिठी देख्दा साह्रै दुःख लाग्यो । मैले राजेश पायललाई पनि भनेँ, उहाँलाई पनि त्यही व्यहोराको चिठी गएको रहेछ । अहिले यो गीतको शब्दहरू हटाइदिने सल्लाह भइरहेको छ, तर यसो गर्न बाध्य हुनुपर्दा बडो पीडा महसुस भइरहेको छ मलाई । पारिजातको सृजनामा अर्कै शब्द भर्दा कस्तो होला भन्ने सोचले पनि पीडा दिएको छ ।’

शान्तिराम थप्छन्, ‘अञ्जानमा त्यस्तो भयो । तपाईंहरू भन्नुहुन्छ भने गीत नै हटाइदिन्छु भनेर जवाफ पठाइदिएको छु । सम्भवतः सबै प्ल्याटफर्मबाट गीतहरू हटाउन बाध्य हुनुपर्ने अवस्था आउला जस्तो छ ।’

अनुमति नलिएको आरोपमाथि शान्तिरामले थप्छन्, ‘अहिले पो कपीराइटको कुरा आयो । रोयल्टी संकलन समाज हामीले नै स्थापना गरेका हौं । प्रतिलिपि अधिकारको मुद्दालाई हामीले नै कार्यान्वयन गरेको हो । त्यो समय नै बेग्लै थियो । रेडियो नेपालबाहेक अन्य ठाउँबाट पारिश्रमिक त पाउँदैनथ्यौं ।’

गीत हटाए पनि पारिजातप्रतिको अगाध सम्मानमा कुनै कमी नहुने, तर फाउन्डेसनले किन त्यस्तो चिठी लेख्यो भनेर अचम्ममा परेको शान्तिराम बताउँछन् । उनी थप्छन्, ‘उहाँहरूलाई मैले भयंकर कमाएँ भन्ने लागेको होला । पर्फमरहरूले कमाए होलान् । मैले त सन्तुष्टिमात्रै कमाएँ ।’

‘यहाँ गायकगायिकालाई फलानोको संगीत तथा शब्दमा निर्माण भएको गीत गाएर पैसा कमाइरहेको छु भन्नेसम्म त थाहा छैन । कृतज्ञता दिने चलनसम्म त छैन’, शान्तिराम आफैं दुःखेसो पोख्छन्, ‘मानौं तपाईंको घुर्यानमा फलेको सुन्तला बटुवाले लुड्याएर खायो, गयो । हाम्रो संगीत गायकगायिकालाई त्यस्तै भएको छ ।’

‘दुर्गेश थापा बन्न सक्दिनँ’ भन्न पाउनुपर्‍यो

शान्तिरामको संगीतमा दर्जनौं गायकगायिकाले पैसा कमाए । दर्शक, स्रोता कमाए । दुई हजार बढी गीतमा संगीत भरे ।

‘आइडी काडैले’ र ‘इन्टरनेटैमा’ बोलको गीतमार्फत सत्यकला राई संसार घुमिन् । अन्य गायकगायिकाको सन्दर्भ पनि सत्यकलासँगै मिल्छ । चर्चित गीत सृजना गर्ने शान्तिराम भने जहाँको तहीँ रहे । उनको ‘धोका दियौ तिमीले’ बोलको गीतको ट्र्याक बनाएर वरिष्ठ गायिका सुकमित गुरुङले पनि संसार विचरण गरिन् । बुद्धवीर लामाले लेखेको यो गीत इलामका लेखु विवश भन्ने गायकले शान्तिरामलाई कम्पोज गर्न लगाएका थिए, तर पछि लेखुलाई कम्पोज मनपरेन ।

एक दिन चाबहिलको डेरामा यही गीत गुनगुनाउँदै बसिरहेका थिए । औंलामा चुरोट च्यापेर धुवाँ उडाउँदै आएका घरभेटी सरोजकुमार श्रेष्ठले भने, ‘यो गीत म गाउँछु ।’

गायनको सौखिन भए पनि सरोजकुमारको स्वर भने थिएन । ‘घरभेटीले भनेपछि कसरी नमान्ने ? झनै अलि पर भट्टीमा लगेर छोयला, कचिला र रक्सी खुवाइहाल्यो, म खुश भइहालेँ’, शान्तिराम हाँस्दै सुनाउँछन्, ‘चारपाँच हजारमा गीत रेकर्ड नै गरियो ।’

गीत रेकर्ड भए पनि एक वर्षसम्म गीत चलेन । त्यही समयमा देविका बन्दनाको स्वर रहेको ‘यस्तै रहेछ यहाँको चलन’ बोलको गीत पुरुष गायकले पनि गाएका थिए । यही चलन पछ्याउँदै गीतकार बुद्धवीर लामाले शान्तिरामलाई भने, ‘सुकमित गुरुङको आवाजमा गीत रेकर्ड गरौं न ।’

सुकमित त्यो समयको सुपरहिट गायिका थिइन् । एकेडेमीमा जागिरे थिइन् । उनलाई भेटेर शान्तिरामले गीत गाउन अफर गरे । गीत सुनाए । सुकमित गाउन तयार भइन् ।

‘गीत रेकर्ड गराइयो । हप्तादिनपछि त रेडियोमा फर्माइस आउन सुरु भयो । दिनमा तीन पटकसम्म उहाँको गीत बज्न थाल्यो । पछि स्टेजमै डिमान्ड हुन थालेपछि उहाँले ट्र्याक बनाएर गाउन थाल्नुभयो’, शान्तिराम दुःखेसो पनि सुनाउँछन्, ‘हामीले त जमानामा साँच्चै दुःख गरेर गीत निर्माण गर्थ्यौं । अहिले संगीतमा दुर्गेश थापा जस्ता इन्टरटेनरहरू धेरै आए । हामीले संगीतको बगैंचा निर्माण गरेका थियौं । त्यहाँ उहाँहरू आएर रमाइरहनुभएको छ ।’

अनि दुर्गेशहरू चाहिँ संगीतमा आउन नहुने हो र ?

शान्तिराम भन्छन्, ‘मैले त्यसो भनेकै छैन । संगीतको कर्म र धर्मका लागि हामी छौं । यसलाई व्यवसाय बनाएर खान उहाँहरूले पाइरहनुभएको छ । अब मैले दुर्गेश थापा बन्न सक्दिनँ भन्न त पाइयो नि ! यति हो, म संगीतको न्यूनतम धर्म बचाउने काममा चाहिँ लागिरहन्छु । मैले यति भन्न त पाएँ नि !’

शान्तिराम नोस्टालजिक हुन्छन्, ‘एक पटक नेशनल इन्भाइरोमेन्ट म्युजिक कम्पिटिसन भएको थियो । मैले पनि भाग लिएको थिएँ, तर पुरस्कृत हुन्न जस्तो लागेपछि म निस्किएँ । पछाडि जजमा गोपाल योञ्जन दाइहरू हुनुहुन्थ्यो । मलाई फस्ट बनाउनुभएछ । पुरस्कार त मैले निकै पछि लिन गएको थिएँ । पछि गोपाल दाइसँग भेट हुँदा उहाँले भन्नुभएको थियो- चाउचाउ, चकलेट संगीततिर नलाग्नू । जिब्रोमा एकछिन चहकिलो हुने अनि हराएर जाने संगीत नगर्नू । तिम्रो संगीतमा माटोको सुवास छ । गुन्द्रुकको बासना छ र नेपालीपन छ । यसलाई निरन्तरता दिनू । गोपाल दाइले भन्नुभएको यो कुरा त्यसवेलाका मिडियाले पनि छापेका थिए । यस्तै यस्तै कारणले म आफ्नो संगीतको धर्म छाड्दिनँ ।’

Comments

One response to “साढे दुई दशकअघिको गीत पारिजात प्रतिष्ठानले ‘हटाइदिनू’ भनेर पत्र काटेपछि नयाँ शब्दहरू राख्ने सूरमा संगीतकार शान्तिराम (भिडिओ)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *