अख्तियारले कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ, अहिले गृहमन्त्रीको राजीनामा माग्न मिल्दैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि अख्तियारले गरेको अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको बताएका छन् ।

संसद बैठक स्थगित भएपछि मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले देशका धेरै कर्मचारीमाथि अनुसन्धान र कारबाहीसमेत भएको अवस्थामा कर्मचारीसँग जोडेर मन्त्रीलाई जवाफदेही बनाउने काम उचित नभएको समेत बताए ।

राजनीतिलाई प्रतिशोधको मसला बनाउने गरी विपक्षी दलका केहि सांसदहरुले अभिव्यक्ति दिएको उनले बताए । बर्तौलाले राज्यका अंगहरुले स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनेको भन्दै विभिन्न पदमा रहेका व्यक्तिमाथि अख्तियारले छानविन गर्ने गरि प्रक्रिया अघि बढाएको धारणा राखे ।

उनले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीहरुलाई कारबाही गर्नुपर्नेमा एमाले दृढ रहेपनि अहिले नै हतारमा कसैलाई दोषि देखाउने काम उचित नभएको बताए ।

बर्तौलाले वर्तमान सरकार गठन भएपनि कानूनले काम गरेको र सुशासन प्रवद्र्धन भएकाले कुनै पनि प्रकरणमा जोसुकै दोषि देखिए उन्मुक्ति नपाउने स्पष्ट पारे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *