काठमाडौं । चीनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक रुपमै नेपालको वरिष्ठतम नेताको मान्यता दिँदै नेपालका वामपन्थी पार्टीहरुको एकताको नेतृत्व गर्न सुझाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ झियाचाओलगायतका नेताहरुले पूर्वराष्ट्रपति भण्डारीसँगको भेटवार्तामा नेपालको वरिष्ठतम नेता भन्दै वाम एकताको नेतृत्व गर्न सुझाव दिएको भ्रमण दलमा रहेका एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बताए ।
थापाले बेइजिङबाट नेपाल प्रेससँग भने, ‘उहाँले आज चिनियाँ नेताहरुसँग भेटवार्ता गर्नुभयो । हिजो पनि बैंक्वेट डिनरमा भेट भएको थियो । उहाँले म सामान्य नेपाली नागरिक भन्दा चिनियाँ नेताहरुले तपाईं नेपालको विशिष्ट नेता हो भन्दै उच्च सम्मान दिनुभयो । जनताको बहुदलीय जनवादको बारेमा पूर्वराष्ट्रपतिले औपचारिक समारोहको भाषणमा पनि व्याख्या गर्नुभयो । त्यही सिद्धान्तमा टेकेर नेपालको कम्युनिष्ट मुभमेन्टको नेतृत्व विद्या भण्डारीले गर्नसक्ने अपेक्षा चिनियाँ नेताहरुको छ ।’
चीनको १० दिने भ्रमणका क्रममा आइतबार राजधानी बेइजिङ आएकी पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनलाई समेत सम्बोधन गरेको थापाले बताए ।
सो सम्बोधनमा पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमाले जननेता स्वर्गीय मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्तमा अघि बढेको जानकारी विश्व समुदायलाई दिएको थापाले नेपाल प्रेसलाई बताए ।
उनका अनुसार भण्डारीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा नेपाल अघि बढेकोसमेत बताएकी छन् ।
याे पनि पढ्नुस् : विद्या भण्डारीलाई बेइजिङमा सरकार प्रमुखसरह सम्मान, सरकारी र कम्युनिस्ट नेताले गरे स्वागत
नेपाल सरकार र नेकपा एमालेको संयुक्त टोलीको नेतृत्व गरेर पुगेकी भण्डारीलाई चीनले उच्चस्तरीय नेताको सम्मान दिएको छ । राष्ट्रपति सी जिनपिङसहित चिनियाँ नेताहरूसँग व्यक्तिगतरूपमा पनि राम्रो सम्बन्ध भएकी पूर्वराष्ट्रपति भण्डारीलाई ग्वान्जाओमा चीनका सरकारी अधिकारी र कम्युनिस्ट पार्टीका नेताहरूले स्वागत गरे ।
को-को छन् भ्रमण दलमा ?
१. रघुवीर महासेठ, विदेश विभाग प्रमुख, नेकपा एमाले
२. दामोदर भण्डारी, मन्त्री– उद्योग, बाणिज्य तथा आपुर्ति
३. कर्णबहादुर थापा, स्थायी कमिटी सदस्य, नेकपा एमाले
४. गोमा देवकोटा, केन्द्रीय सल्लाहकार, नेकपा एमाले
५. देवीप्रकाश भट्टचन, प्रतिनिधिसभा सदस्य
६. कैलाशकुमार भण्डारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन
७. भेषराज अधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन
८. विनय केसी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन
९. महेन्द्र विष्ट, कार्यकारी अध्यक्ष, सार्वजनिक सेवा प्रशारण (पिएसबी)
१०. राजेश प्रसाईं, पूर्वरजिष्ट्रार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
११. कल्याणराज शर्मा, महासचिव, फ्रेण्ड अफ स्किल रोड क्लब नेपाल
१२. टेकबहादुर खड्का, क्यामेरा पर्सन, नेपाल टेलिभिजन
१३. मधु शाही, क्याप्टेन, नेपाली सेना
१४. सरस्वती जिरेल, निजी सुरक्षा

Leave a Reply