एमालेका जिल्ला अध्यक्षलाई प्रदेश इन्चार्जको एसएमएस, अनेरास्ववियुमा तनाव र खैलाबैला

काठमाडौं । अनेरास्ववियुको आउँदो महाधिवशेनलाई लक्षित गर्दै एमालेका प्रदेश इन्चार्जहरूले प्रत्येक पार्टीका जिल्ला अध्यक्षहरूलाई पठाएको एसएमएसले अनेरास्ववियुभित्र खैलाबैला मच्चिएको छ । प्रदेश इन्चार्जहरूले अनेरास्ववियुको राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट भइरहेको सन्दर्भमा ३२ वर्षमुनिको प्रतिनिधि छान्न एसएसएमएस पठाएका छन् ।

कर्णाली प्रदेश इन्चार्ज गोरखकुमार बोगटीले एक जिल्ला अध्यक्षलाई पठाइएको एएसएमएसमा भनिएको छ, ‘सबै प्रतिनिधिहरू ३२ वर्षमुनिको र नियमित अध्ययन गरिरहेको हुनुपर्ने महासचिव कमरेडको निर्देशन भएकोले सोही अनुसार प्रतिनिधि छनोटमा विशेष ध्यान दिनुहोला ।’

यसरी जिल्ला अध्यक्षलाई सातै प्रदेशका इन्चार्जहरूबाट एकै प्रकृतिको एसएमएस आएपछि अखिलभित्र खैलाबैला मच्चिएको हो । आसन्न राष्ट्रिय सम्मेलनमा केन्द्रीय अध्यक्षको तयारी गरिरहेका माहासचिव नरेश रोकाया, उपाध्यक्ष नारायण घर्तीहरूलाई उल्लेखित एसएमएसले दबाब सृजना गरेको छ ।

३२ वर्षे उमेर हद लगाइएको खण्डमा उनीहरू स्वतः अखिल बाहिर रहनुपर्ने हुन्छ । त्यसैले यी नेताहरू उमेर हदको विपक्षमा छन् । उनीहरू लामो समयदेखि संगठनमा रहेर काम गरिरहेका नेताहरू उमेर हद लागू हुँदा एकैपटक बाढारिनुपर्ने भन्दै उमेर हद तत्काल लागू गर्न नहुने पक्षमा छन् ।

यदि उमेर हद लगाउने हो भने विधान नै पहिले शंसोधन गर्नुपर्ने ३२ कटिसकेका नेताहरूको भनाइ छ । विधानमा एकपटक जिल्ला अध्यक्ष नभई केन्द्रीय सदस्य हुन नपाइने, केन्द्रीय सदस्य नभई सचिवालय सदस्य हुन नपाइने, सचिवालय सदस्य नभई पदाधिकारी हुन नपाइने प्रावधानका कारण पदाधिकारी बन्दासम्म डेढ दशक सकिइसक्ने उनीहरूको भनाइ छ ।

तर, उमेर हद लागू भएको खण्डमा नेतृत्वको तयारी गरिरहेका नेताहरूले आ-आफ्नो टीम पनि तयार गरिरहेको अनेरास्ववियुका एक नेताले बताए । ती नेताका अनुसार यदि ३२ वर्षे उमेर हद लागू भएको खण्डमा वर्तमान अध्यक्ष समिक बडालले अहिलेका प्रवक्ता प्रकाश पौडेल र महासचिव रोकायाले डा. सुजन कडारियालाई अघि बढाउने कसरत गरिरहेका छन् । तर, सकेसम्म उमेर हद नलगाउनमै रोकायालगायत नेताहरूको जोड रहेको ती नेताले बताए ।

त्यस्तै म्यासेज पार्टी महासचिव शंकर पोखरेलले देशभरिका जिल्ला कमिटीका सचिवहरूलाई गरेका छन् । एमाले सुनसरीका सचिव राम कोइराला शिक्षण संस्थामा नियमित अध्ययनरत र ३२ वर्ष उमेर पूरा नभएको प्रतिनिधि तोक्ने महासचिवको म्यासेजअनुसार नै छनौटकार्य शुरू गरिने बताउँछन् ।

तर, काठमाडौंमा पार्टीको भूगोल जिल्ला कमिटीलाई त्यस्तो म्यासेज नआएको अध्यक्ष दिपक निरौला बताउँछन् ।

‘काठमाडौंमा विद्यार्थी हेर्ने अलग्गै जिल्ला कमिटी भएकाले होला, हामीलाई केही भनिएको छैन’, उनले भने ।

नेविसंघ र अखिल क्रान्तिकारीले उमेरहद लागू गरिरहेका कारण अनेरास्ववियुमा पनि उमेर लागू गर्नुपर्ने दबाब छ । अनेरास्ववियुको २५ औं राष्ट्रिय सम्मेलन आउँदो २५ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

उमेर हद लाग्दा अनेरास्ववियुको अध्यक्षमा अहिलेका सचिवहरु प्रकाश पौडेल,डा.सुजन कडरिया,दीपक धामी,अन्जना शिवाकोटी,आरती भट्टराई दाबेदार हुन् । सचिवभन्दा माथिका पदाधिकार उमेर हदका कारण विदा हुने अवस्था आउँछ ।

तर एकैपटक उमेर हद लगाउनु प्राकृतिक न्यायको सिद्धान्तविपरित हुने र संगठन पनि कमजोर बन्ने भन्दै अहिले विधान पारित गरेर अर्कोपटकदेखि लगाउन दबाब पनि छ । तर सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेका नेताहरु प्रतिस्पर्धा सीमित गर्न अहिलै नै उमेर हद लगाउने पक्षमा उभिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *