मोदी सरकारका राफल दुःख– किन्दा भ्रष्टाचारको आरोप, युद्धमा खसालिएको अत्यास

काठमाडौं । नरेन्द्र मोदी सरकार आएपछि भारतले फ्रान्सबाट राफल किन्दा भारतको युद्ध मोर्चाको हवाई क्षेत्रमा सञ्जीवनी बुटीजस्तो गरेर व्याख्या गरिएको थियो।

सन् २०१५ अप्रिलमा फ्रान्स भ्रमणमा जाँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राफल किन्ने घोषणा गरेका थिए। सन् २०१६ मा फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्देले भारतको गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथि हुने मौका पाए। त्यही बेला भारत र फ्रान्सको राफल खरिदको साझेदारीपत्रमा हस्ताक्षर गरियो।

राफलको पहिलो किस्ताको भारत आगमन भने सन् २०१९ मा भएको थियो। ७.८ अर्ब युरोमा खरिद गरिएको भारतीय मिडिया ‘द वायर’ले उल्लेख गरेको छ।

राफल आउनु अगाडि नै भ्रष्टाचारको मुद्दामामिला

सन् २०१५ बाट सन् २०१९ सम्म राफल किन्ने तीव्र तयारी हुँदैगर्दा राफल मुद्दा भ्रष्टाचारमा जोडियो। विभिन्न मुद्दा मामिलाहरू भए। तर भारतको सर्वोच्च अदालतले सन् २०१८ नोभेम्बर, डिसेम्बर र सन् २०१९ मे महिनामा राफलबारेका सबै कुरा किनारा लगाइदियो।

भारतका पूर्व केन्द्रीय मन्त्रीहरू यशवन्त सिन्हा र अरुण शौरी तथा चर्चित अधिवक्ता प्रशान्त भूषणलगायतले गरेको न्यायिक अपिल पनि सर्वोच्चबाट खारेज भयो।

भारतीय राष्ट्रिय कंग्रेसले त बुँदागत रूपमा राफलमा भ्रष्टाचार भएको आरोप लगाउँदै पाँच बुँदाको आलोचना गरेको थियो। ३६ राफल जहाजको खरिदमा ६० देखि ८० करोडको भ्रष्टाचार भएको कंग्रेसले आरोप लगाएको थियो।

सन् २०२१ नोभेम्बर ९ मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार सन् २०१८ अक्टोबर २३ मा राफल भ्रष्टाचार छानबिन गर्न लागेका भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) का निर्देशक अशोक वर्मालाई रातारात हटाइएको, अन्तर्राष्ट्रिय टेन्डरबाट १२६ राफल खरिद गर्ने पूर्व योजनाबाट भारतीय हवाई सेनासँग छलफल नगरी ३६ राफल खरिदमा झारिएको, राफलको प्रविधि हस्तान्तरण नमागीकन ४१,२०५ करोड भारु तिरेर खरिद गरिएको, फ्रान्सेली मिडियामा पनि भ्रष्टाचारका समाचार आएको जस्ता आरोप कंग्रेसले लगाएको थियो।

पाकिस्तानसँगको युद्ध मोर्चामा राफल खसालिएको पिरलो

गत अप्रिल २२ मा कश्मीरको पहलगामको आतंककारी हमलाको औँला भारतले पाकिस्तानमा सोझ्यायो र मे ७ बाट १० सम्म हमलाहरू गर्यो। पाकिस्तानले पनि भारतीय भूमिमा हमला गर्यो। सोही क्रममा भारतका छ जहाज खसालिएको समाचार भारतबाहेक विभिन्न विश्व मिडियाहरूमा आइरहेका छन्।

पाकिस्तानले खसालिएको दाबी गरेका तीन राफल जहाज खसालिएकै हुन् भन्ने खालका समाचार अमेरिकी समाचार च्यानल सीएनएनदेखि बेलायती समाचार एजेन्सी रोयटर्ससम्ममा प्रकाशन भएका छन्।

चिनियाँ जे–१० जहाज तथा अमेरिकी एफ–१६ को समन्वयमा राफल खसालिएको समाचारहरू आएका छन्। भारत र पाकिस्तानको युद्धमा हवाई क्षेत्रमा पाकिस्तानको हातमाथि परेको विश्व मिडियाहरूमा आएका समाचारमा देखिन्छ।

फ्रान्सको France 24 च्यानलले समेत चिनियाँ विमान र प्रविधि प्रयोग गरेर पाकिस्तानसँगै चीन युद्धमा विजयी भएको लेखिएको छ। राफल बनाउने देशको सरकारले सहयोग गरेर सञ्चालित च्यानलमा आएको यो समाचारको अर्थ देखिन्छ। लिला जसिन्टोले लेखेको टिप्पणीमा फ्रान्स २४ च्यानलमा भनिएको छ, ‘चिनियाँ युद्ध विमानले भारत–पाकिस्तान युद्धमा उत्कृष्ट प्रदर्शन गरे।’

भारतमा राफलको कमजोर प्रदर्शनपछि खरिदबारे सोच्दै इन्डोनेसिया

राफल बनाउने कम्पनीको सेयर केही घटेको तथा जे–१० बनाउने चिनियाँ कम्पनीको सेयरमा व्यापक वृद्धि भएको छ। यो आर्थिक पक्षको पाटो भयो। खरिदको सवालमा पनि राफललाई तनाव भएको छ।

विभिन्न समाचारहरूका अनुसार ८/१ अर्ब अमेरिकी डलरको राफल खरिदको योजनामा रहेको इन्डोनेसियाले भारत–पाकिस्तान युद्धको युद्ध जहाजहरू जुध्ने ‘डग फाइट’ हेरेर खरिदको निर्णयमा हतार नगरेको बताइएको छ। पश्चिमी दुनियाँका प्रिमियर युद्ध विमान भनेर व्याख्या गरिएको राफलको कमजोर प्रदर्शनपछि इन्डोनेसियाले सोच्न बाध्य भएको बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *