काठमाडौं । पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउन प्रेस काउन्सिल नेपालले विभिन्न ८ भाषामा आचारसंहिता जारी गरी लागू गरेको छ ।
काउन्सिलले आचारसंहिता विभिन्न ५ मातृभाषामा अनुवाद गरी सार्वजनिक गरेको हो । यसअघि ३ मातृभाषाका आचारसंहिता कार्यान्वयनमा आइसकेको छ ।
नेपाली र अंग्रेजीबाहेक विभिन्न भाषाभाषीबाट आचारसंहितालाई बृहत बनाई देशभर लागू गर्ने र अहिलेको सामाजिक सञ्जालसमेतलाई आकर्षित हुने गरी यो अभियान चालिएको काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।
सुरुमा मैथिली, थारु र नेपालभाषामा पत्रकार आचारसंहिता लागू गरिएको थियो । अहिले भोजपुरी, राई वान्तावा, तामाङ, डोट्याली, लिम्बू गरी ५ भाषा थपिएको हो । अध्यक्ष बस्नेतले यी आचारसंहिताको सम्बन्धित समुदायमा पुगेर कार्यान्वयन गराउने काउन्सिल लागिपर्ने बताए ।
काउन्सिल अध्यक्ष बस्नेत, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले संयुक्त रुपमा नयाँ मातृभाषाका अनुवाद प्रति सार्वजनिक गरेका हुन् ।
भाषा आयोगका अध्यक्ष डा. ठाकुरले पत्रकारिताको माध्यमबाट मातृभाषाको संरक्षण गर्न जरुरी भएको उल्लेख गरे । उनले लेख्य रुप नभएका भाषाको प्रवर्द्धन गर्न प्रेस काउन्सिल नेपाल र भाषा आयोगबीच सहकार्य गर्न तयार रहेको बताए ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष झाले देशका धेरै भूभागमा अझै पनि नेपाली भाषा बुझ्ने समुदाय नभएकाले मातृभाषामा पत्रकारिता गर्नु जरुरी भएको उल्लेख गरे । आमजनता सुसूचित गर्न मातृभाषा पत्रकारिताको अर्को विकल्प नभएको भन्दै उनले मातृभाषा र स्थानीयपनलाई बेवास्ता गरिए देशको लोकतन्त्र नै नबाँच्ने बताए ।
कार्यक्रममा लेखक एवं पत्रकार डा. कृष्णराज सर्वहारी, नृपेन्द्रलाल श्रेष्ठ, पुष्कर माथेमा, पदम राई, अमर तुम्वाहाङ, विष्णुमाया सिङगक, गणेश राई, अर्जुन तामाङ, बुनु थारु, मनोज वर्मा, वीणा सिन्हा, धनबहादुर मगरलगायतले भाषागत पत्रकारिताको अवस्था र अनुभव सुनाएका थिए ।

Leave a Reply