गैरबहरलाई गजल नै होइन भन्नु अतिवाद हो: शीतल कादम्बिनी (भिडियो)

काठमाडाैं।  ‘कहाँ थियौ तिमी रंगमन्च उठेपछि आयौ’, ‘धेरैचोटी मरेँ त म धेरेचोटी बाँचेँ’, ‘झुमा झुम्कावाली’ जस्ता लोकप्रिय गीत तथा गजलहरु पक्कै सुन्नुभएकै होला । दर्शक, स्रोताको हृदयलाई झंकृत बनाउने यस्ता कर्णप्रिय सृजनाका सर्जक हुन्, शीतल कादम्बिनी ।

शीतल आफ्ना गीत एवं गजलले मानिसहरुको भावनालाई सहजै छोएर जान्छन् । त्यसैले उनका सृजनाहरु विशेष हुन्छन् । गुरुङ संस्कृतिमा आधरित रहेर ‘सिन्का पाउँरु’ उपन्यास लेखिसकेकी उनी बहर, गैरबहर र छन्दमा समेत गजल लेख्ने विषेशताका कारण प्रख्यात छिन् ।

उनले लेखेको ‘कहाँ थियौ तिमी रंगमन्च उठेपछि आयौ’ गजल गायक शिव परियारको मास्टरपिस गजल गायनमध्ये एक हो । यो गजलबारे शीतल सुनाउँछिन्, ‘कतिपय सृजनाले आफ्नै भाग्य लिएर आउँदो रहेछ । २०६२ सालमै ल्याएको ‘सुगन्ध यात्रा’ गजलसंग्रहमा पनि यो गजललाई राखेको थिइनँ । मलाई यो गजल कमजोर गजल लाग्थ्यो । पछि शिव परियार भाइले यही गजल ठिक छ भनेर छान्नुभयो ।’
शिव परियारले छानेको यही गजल शिव–शीतल दुवैको विशेष गजल–गीत बन्यो ।

शीतलको गजल लेखनको सुरुवात भने सिनर्जी एफएमबाट भएको थियो । साढे दुई दशकअघि शीतल चितवनतिर बस्थिन् । भर्खरै खुलेको सिनर्जी एफएममा अर्जुनमणि पौडेलले ‘अनुराग’ नामक कार्यक्रम चलाउँथे । कार्यक्रममा अर्जुनमणिले गजलहरु बाचन गर्थे ।

‘रेडियोमा गजल सुन्दासुन्दा मलाई पनि गजल लेख्न मन लाग्यो । जसोतसो लेखेर खामबन्दी गरेर एफएमको ठेगानमा पठाइदिएँ,’ शीतल हाँस्दै सुनाउँछिन्, ‘मेरो गलल बाचन भयो । अन्तिममा उहाँले ‘शीतलको गीतल’ भन्नुभयो ।’

यसपछि शीतललाई लाग्यो, गजल लेखन नसिकी भएन ।

उनले छन्दकवि गोविन्दराज विनोदीलाई गजल सिकाइदिन अनुरोध गरिन् । गोविन्दराजले गजलको संरचना सिकाए । यसपछि शीतलले सुरु गरेको गजल लेखनले अन्ततः उनलाई बेग्लै पहिचान दिलायो ।

अहिले पनि गोविन्दराजलाई गुरु मान्छिन् शीतल । भन्छिन्, ‘उहाँलाई म अहिले पनि गुरु मानेर ढोग्छु । भेट नै भएन भने पनि गुरु पूर्णिमाको दिन फोन गर्छु ।’

त्यसरी गजल लेखन सुरु गरेर आएकी उनले पछिल्लो समय गजल लेखनमा बहर, गैरबहर भनेर विवाद निस्किएको पनि देखिन् । बहरमा लेख्नेले गैरबहरमा लेख्नेलाई नमानेको, गैरबहरमा लेख्नेले पनि बहरमा लेख्नेसँग विवाद गरेको देखिन् ।

यी विवादमाथि शीतलको टिप्पणी छ, ‘बहरमा गजल लेख्दा राम्रै हुन्छ । अनि गैरबहरमा लेखिएका गजललाई गजल नै होइन भन्नु पनि अतिवाद हो । बहरले संरचनालाई विकास गरेको छ । गैरबहरले भाव पक्षलाई शशक्त बनाएको छ । गैरबहरमा भाव पक्ष बहरमाभन्दा शशक्त भएर आउनुमा लेखनमा स्वतन्त्रता भएर पनि हो ।’

गजलकारहरुको विवाद व्यर्थ लाग्छ शीतललाई । मूल रुपमा पाठकलाई छुने खालको सृजना गर्नु नै सर्जकको धर्म भएको बताउँछिन् । बहर, गैरबहर दुवैमा गजल लेख्न सक्ने शीतल गीतकारको अलवा लेखक पनि हुन् । यसको पुष्टि उनको उपन्यास ‘सिन्का पाउँरु’ले गर्छ ।

यस उपन्यासमा शीतलले गुरुङ समुदायमा रहेको प्रथाजन्य कानुन सिन्का पाउँरुलाई केन्द्रमा राखेर उपन्यासको धरातल निर्माण गरेकी छन् । सिन्का पाउँरु भनेको छोडपत्र वा पारपाचुके हो ।

यस प्रथामा गुरुङ समुदायको आफ्नै कानुन, अदालत र न्यायाधीश हुन्छन् । गाउँको मुखिया न्यायाधीश, आँगन, चौतारी न्यायालय हुन्छ । अनि प्रत्यक्षदर्शीहरु पनि हुन्छन् ।

कुनै केटा र केटीबीच विवाहपश्चात् मनमुटाव हुन्छ । उनीहरुको सम्बन्धमा तीतोपन आउँछ र छुट्टिने हालतमा पुग्छन् भने यसको निर्णय गाउँ समाज र मुखियाले गर्छन् ।

‘मुखियाले उनीहरुलाई पटकपटक सँगै बस्न मन छ भने बस भन्छन् । छुटेर बसेको भन्दा मिलेर बसेको राम्रो भन्छन् । तर, केटा र केटीले नमानेपछि छलफल सुरु हुन्छ । केटाको गल्ती छ भने पाँच रुपैयाँ दिने, केटीको गल्ती छ भने नौ मोहर दिने चलन छ,’ शीतल सुनाउँछिन्, ‘यसपछि केटीले अर्को जीवन सुरु गर्नुपर्छ । उसलाई आफ्नो भागमा पर्ने सुन, गरगहना दिइन्छ । मुखियाले सिन्का भाँचेर आधा सिन्का एकातिर र आधा सिन्का अर्कोतिर फाल्छ । पाउँरु भनेको चाहिँ फल हो, त्यसालई फुटालेर आधा एकातिर, अधा अर्कोतिर फाल्छ । सिन्का चाहिँ पुरुष विम्ब हो भने पाउँरु चाहिँ महिला बिम्ब हो । यसपछि उनीहरु आ–आफ्नो बाटो लाग्छन् ।’

गुरुङ प्रथालाई केन्द्रमा राखेर उपन्यास समेत लेखिसकेकी गीतकार तथा गजलकार उनै शीतलसँग गरिएको कुराकानी हेर्नुहोस्:-

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *