विद्या भण्डारीको चीन भ्रमण : सरकार र सीपीसी उच्च अधिकारीसँगको भेटवार्ता तय

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको शनिबारदेखि सुरु हुने चीनका भ्रमणका क्रममा जेठ १५ गते बिहीबार डुनहुङ शहरमा उच्चस्तरीय चिनियाँ नेतासँग भेट हुने कार्यक्रम तय भएको छ ।

ती उच्चस्तरीय नेता राष्ट्रपति सि चिनफिङ वा अरु कोही हुन् भन्नेबारेमा काठमाडौंस्थित चिनियाँ दूतावास स्रोतले केही बताउन चाहेन ।

नेपालमा त्यसदिन गणतन्त्र दिवस पर्छ । सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

नेपाल प्रेसलाई प्राप्त कार्यक्रम तालिकामा ‘चीनका वरिष्ठ नेताले आयोजना गर्ने स्वागत कार्यक्रम’ मात्रै भनिएको छ । उक्त कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका पदाधिकारी, त्यहाँको विदेश मन्त्रालय र चिनियाँ सरकारका अन्य पदाधिकारी सहभागी हुने तालिकामा उल्लेख गरिएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावास स्रोतका अनुसार, उच्चपदस्थ व्यक्तिहरु सहभागी हुने कार्यक्रम तालिकामा ती व्यक्तिको नाम उल्लेख गर्ने प्रचलन छैन ।

पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।

चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन् । सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम भने सोमबार विहान आयोजना गरिने तालिकामा उल्लेख छ ।

शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।

भ्रमणमा भण्डारीबाहेक अन्य १४ व्यक्ति सहभागी हुँदैछन् ।

शनिबार राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै उक्त टोली आइतबार विहान ११ः५ बजे राजधानी बेइजिङमा अवतरण गर्ने भएको छ ।

भ्रमणमा सहभागी विभिन्न राजनीतिक व्यक्तिलाई समेत विभिन्न कार्यक्रममा महत्वका साथ भूमिका दिइने तालिकामा उल्लेख छ । उक्त भ्रमणदलका सदस्य उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी, पूर्वमन्त्री रघुवीर महासेठ र कर्णबहादुर थापालाई विषय तोकेरै वक्ताका रुपमा राखिएको छ ।

सोमबार आयोजना हुने विभिन्न देशका राजनीतिक दलका प्रतिनिधीबीचको संवाद कार्यक्रममा उनीहरुका निम्ति मन्तव्यको शीर्षक नै छुट्याइएको हो ।

मन्त्री भण्डारीले उच्चस्तरीय खुलापन र एसियाको एकीकृत विकास कार्यक्रमबारे मन्तव्य व्यक्त गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पूर्वमन्त्री रघुवीर महासेठले रणनीतिक पारस्परिक विश्वास सुदृढीकरणका लागि संवाद र परामर्श शीर्षकमा मन्तव्य राख्ने भएका छन् ।

अर्का पूर्वमन्त्री कर्णबहादुर थापाले फरक फरक देशका नागरिकस्तरमा अनुभव आदान प्रदानलाई विस्तार गर्ने विषयमा मन्तव्य दिने कार्यक्रम छ ।

यसबाहेक मन्त्री भण्डारीले मंगलबार चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) का नेतासँग भेट्ने कार्यक्रम तय भएको छ ।

भ्रमण दलका अर्का सहभागी सार्वजनिक सेवा प्रशारण (पिएबी) का कार्यकारी अध्यक्ष महेन्द्र विष्टले मंगलबार नै चाइना मिडिया ग्रुप (सीएमजी) का प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ ।

को-को जाँदैछन् ?

१. रघुवीर महासेठ, विदेश विभाग प्रमुख, नेकपा एमाले

२. दामोदर भण्डारी, मन्त्री– उद्योग, बाणिज्य तथा आपुर्ति

३. कर्णबहादुर थापा, स्थायी कमिटी सदस्य, नेकपा एमाले

४. गोमा देवकोटा, केन्द्रीय सल्लाहकार, नेकपा एमाले

५. देवीप्रकाश भट्टचन, प्रतिनिधिसभा सदस्य

६. कैलाशकुमार भण्डारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

७. भेषराज अधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

८. विनय केसी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन

९. महेन्द्र विष्ट, कार्यकारी अध्यक्ष, सार्वजनिक सेवा प्रशारण (पिएसबी)

१०. राजेश प्रसाईं, पूर्वरजिष्ट्रार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

११. कल्याणराज शर्मा, महासचिव, फ्रेण्ड अफ स्किल रोड क्लब नेपाल

१२. टेकबहादुर खड्का, क्यामेरा पर्सन, नेपाल टेलिभिजन

१३. मधु शाही, क्याप्टेन, नेपाली सेना

१४. सरस्वती जिरेल, निजी सुरक्षा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *