रुपन्देही । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा निजी (संस्थागत) विद्यालयमा गरिब विपन्न परिवारका बालबालिका निःशुल्क पढ्ने व्यवस्था गरिएको छ ।
रामग्राम नगरपालिकाले निजी क्षेत्रलाई पनि थप जिम्मेवार र उत्तरदायी बनाउँदै बोर्डिङ स्कुलमा रामग्राम क्षेत्रभित्रका २५० जना बालबालिकालाई कक्षा ४ देखि कक्षा ११ सम्म पूर्ण छात्रवृत्तिमा पढ्ने व्यवस्था मिलाएको जनाएको छ ।
बुधवार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी मेयर छात्रवृत्ति कार्यक्रम बारे जानकारी गराउँदै यस्तो कार्यक्रम नेपालमै पहिलो पटक संञ्चालनमा आएको जानकारी दिएको छ । नगरभित्रका २४ वटा संस्थागत विद्यालयमा निःशुल्क विद्यार्थी अध्ययन गर्न पाउनेगरी मेयर छात्रवृत्ति कार्यक्रम लागू गरिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) र नगरपालिकाबीच मेयर छात्रवृत्ति कार्यक्रममा हस्ताक्षर भई चालु शैक्षिक सत्रबाट कार्यक्रम सञ्चालनमा आएको नगर प्रमुख धनपत यादवले बताए ।
मापदण्डअनुसार गरिब विपन्न, जेहेन्दार, सीमान्तकृत समुदाय, सहिद परिवारका बालबालिकाले कक्षा ४ देखि ११ सम्म पूर्ण रुपमा निःशुल्क पढ्न पाउनेछन् ।
‘निजी संघसंस्थाको पनि आफ्नै सामाजिक उत्तरदायित्व छ, सोही अनुरूप हामीले अनुरोध गरेअनुसार संस्थागत विद्यालयहरूले छात्रवृत्तिमा अध्यापन गराउन तयार हुनुभयो, यो निकै सुखद कुरा हो’, नगर प्रमुख यादवले भने ।
निजी क्षेत्रसंगको सहकार्य बढाउँदै जाने योजनाअनुरुप विद्यालयहरुसँग छात्रवृत्तिको कार्यक्रम ल्याइएको बताउँदै यादवले शैक्षिक सुधारको अभियानको रुपमा नगरले काम गरिरहेको उल्लेख गरे ।
प्याब्सनका रामग्राम नगर अध्यक्ष बलिराम यादवले नगरले सुरु गरेको शैक्षिक सुधारको अभियानमा संस्थागत विद्यालयको उत्तरदायित्व अन्तर्गत स्थानीय सरकारलाई सहयोग गरेको बताए ।
‘नगर प्रमुखले पटक पटक आग्रह गर्नुभयो, हामीले पनि उत्तरदायित्व बहन गर्दै विभिन्न समस्याका बिचबाट नगरपालिकालाई सहयोग गर्ने निर्णयमा पुगेका हौँ’, अध्यक्ष यादवले भने ।
रामग्राम नगरपालिकाले विद्यार्थी छनौटको मापदण्ड बनाएर मापदण्डअनुसार छनौट भएका बालबालिकालाई विभिन्न संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि पठाउने छ ।
एउटा संस्थागत विद्यालयमा बढीमा १६ जनासम्म विद्यार्थी निःशुल्क अध्यापन गराउनुपर्ने गरी मापदण्ड तय गरिएको शिक्षा अधिकृत सुन्दर खनालले बताए । साढे दुई सय विद्यार्थीका लागि संस्थागत विद्यालयको झन्डै वार्षिक एक करोड खर्च हुने बताइएको छ ।

Leave a Reply