नवराज सुवेदीको पत्रमा रास्वपाले छलफलै नगर्ने, जवाफ पनि नदिने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजसंस्था पुनर्स्थापना लागि हुने लागेको संयुक्त जनआन्दोलनमा संलग्न नहुने जनाएको छ । पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले उक्त आन्दोलनपछि रास्वपाको नैतिक समर्थन वा ऐक्यवद्धता पनि नरहने स्पष्ट पारे ।

संयुक्त जनआन्दोलन समितिका तर्फबाट संयोजक नवराज सुवेदीले हिजो रास्वपालाई १५ जेठबाट हुने आन्दोलमा सहभागीता र सहकार्यको प्रस्ताव गर्दै रास्वपालाई पत्राचार गरेका छन् । उनले कार्यवाहक सभापति डीपी अर्याललाई सम्बोधन गर्दै लेखेको पत्र हिजो रास्वपा कार्यालयमा पुगेको थियो ।
अर्यालले आफूलाई राप्रपाका एकजना केन्द्रीय सदस्यको फोन आएको बताए ।

‘नवराज सुवेदीले फोन गर्नुभएको होइन । राप्रपाको एक केन्द्रीय सदस्यले फोन गरेर एउटा पत्र दिनु छ भन्नुभयो । मैले पार्टी कार्यालय छोड्न भनेको थिएँ । पत्र मैले पाइसकेको छु । तर, उहाँहरुले गर्ने भनेको आन्दोलनमा हाम्रो कुनै पनि संलग्नता र सहकार्य हुँदैन’, अर्यालले भने ।

उनले पत्रका विषयमा पार्टीभित्र सहकार्य र बहससमेत नहुने बताए ।

अर्याललाई पठाएको पत्रमा सुबेदीले रास्वपा सभापति रवि लामिछानेले यो व्यवस्थामा आफूले निस्पक्ष न्याय पाउनेमा शंका व्यक्त गरेको तथा रास्वपा यो व्यवस्थाप्रति असन्तुष्ट रहेको आफ्नो बुझाइ उल्लेख गरेका छन् ।

यस विषयमा प्रश्न गर्दा अर्यालले जवाफ दिए, ‘त्यो उहाँहरुको बुझाइ होला । त्यसमा हाम्रो केही गुनासो छैन । हाम्रो दृष्टिकोण के छ भन्ने अरुले भनिदिने कुरा होइन । उहाँहरुको बुझाइलाई हामी सम्मान गर्छौं तर यो कार्यक्रममा हाम्रो कुनै पनि किसिमको आवद्धता वा सरोकार रहँदैन ।’

उनले रास्वपाभित्र अहिले राजसंस्थाको बहस नै नरहेको दाबी गरे ।

‘पार्टीमा यो विषयमा कुनै पनि इस्यू नै छैन । कोही अमुक नेताले चाहेर हुने कुरा पनि होइन । पार्टीमा बहस, छलफल हुनुपर्छ । त्यस्तो केही भएकै छैन’, अर्यालले थपे ।

अर्यालले पत्रको जवाफ दिइरहनुपर्ने आवश्यता नरहेको समेत बताए ।

‘पार्टीमा अनेक किसिमका पत्रहरु आउँछन् । सबैलाई जवाफ दिइराख्नुपर्छ भन्ने पनि छैन । यो पत्रको हामी जवाफ दिँदैनौं’, उनले भने ।

Comments

One response to “नवराज सुवेदीको पत्रमा रास्वपाले छलफलै नगर्ने, जवाफ पनि नदिने”

  1. bhupendra karki Avatar
    bhupendra karki

    जवाफ नदिनु एक प्रकारको दुबिधा, दोहोरो चरित्र भालेन पोथिको रुप, माछा माछा भ्यागुता हो। 84 मा सरकार बनाउने डिङ हाक्ने आफू दोग्ला चरित्रमा रहने???????
    छल्फल चाहिँ किन नगराउने? राजाका दास हरुको बहुमत पुग्ने डरले हि कि????

Leave a Reply

Your email address will not be published. Required fields are marked *