काठमाडौं । ‘करुणा’ पुस्तककी लेखक तथा प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले भनसुनका लागि आउने मान्छेहरुसँग हैरान भएर एउटा बहिनी गाउँबाट विस्थापित भएकोदेखि अर्की बहिनीले ट्याक्सी ड्राइभरसँग झगडा गरेको सम्मका पीडा सुनाइन् ।
सोमबार सुकेधारा हाइटस्थित मर्क्यौर होटलमा आयोजित विभिन्न सम्पादकसँगको अन्तरक्रियामा उनले त्यस्तो दुखेसो पेखेकी हुन् ।
शाक्य भएकै कारण थुप्रैले पूर्वराजदूत तथा राष्ट्रियसभाकी सांसद अञ्जान शाक्यदेखि पार्टी महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्यसम्मलाई ‘केपी ओलीका साली’ भन्ने गरेका छन् । हालै नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएका हितेन्द्रदेव शाक्यदेखि काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यलाई ओलीको सालो भनी चर्चा हुने गरेको छ । तर, ओलीका साँच्चैका सालीहरुको दुःख भने सोमबार पत्नी राधिकाले सम्पादकहरुका बीचमा सुनाइन् ।
नातागोताका मान्छेलाई नियुक्ति र विभिन्न सुविधा दिइएको भन्दै चर्चा हुने गरे पनि ती सबै अफवाह भएको उनले बताइन् । भनिन्, ‘कतै भेट्टाउन सक्नुहुन्छ भने खोज्न म अनुरोध गर्न चाहन्छु ।’
उनीद्वारा लिखित पुस्तक ‘करुणा’ सँग सम्बन्धित उक्त अन्तरक्रियामा आफूमा राजनीतिक स्वार्थ नभएका कारण त्यस विषयमा आफूले निष्पक्ष भएर लेख्न सक्ने उनले बताइन् । ‘म भोलि यस्तो हुन्छु भन्ने कुनै पनि महत्वाकांक्षा नभएको हुनाले राजनीतिलाई मैले बुझेअनुसार क्लियरली लेख्न सक्छु भन्ने विश्वास मलाई छ’, उनले भनिन् ।

उनको भनाइ जस्ताको तस्तैः
बालुवाटारमा कस्ता कस्ता मान्छे आउँछन् ? के–के माग लिएर आउँछन् ? तिनीहरुको व्यवस्थापन कसरी हुन्छ ? यस्ता विभिन्न प्रश्न आएका छन् ।
जहाँसम्म मलाई लाग्छ, कार्यकर्ताको व्यवस्थापन कसरी भएको छ ? के भएको छ ? म जान्दिनँ । किनभने, मैले कुनै पनि पोलिटिक्समा हस्तक्षेप गरेको छैन, गर्दिनँ ।
मैले सधैं भन्ने गरेकी छु, म राजनीति गर्दिनँ । तर, राजनीति सधैं बुझ्ने गरेकी छु । किनभने, मेरो पृष्ठभूमि पनि राजनीति नै हो । र, मलाई अलिकति बुझ्ने इन्ट्रेस्ट पनि हो । त्यसमाथि केपी ओलीसँगै बसेपछि त मैले अलिअलि राजनीति त नबुझ्ने हुँदैन होला ।
राजनीतिमा म भोलि यस्तो हुन्छु भन्ने कुनै पनि महत्वाकांक्षा नभएको हुनाले राजनीतिलाई मैले बुझेअनुसार क्लियरली लेख्न सक्छु भन्ने विश्वास मलाई छ ।
‘कुरो र कुलोलाई जता लगे पनि हुन्छ’ भनेजस्तो विभिन्न मान्छेका विभिन्न कुरा छन् । त्यसैले म धेरै कुरा भन्न चाहन्नँ ।
हाम्रो नातागोताले कहीँ, कतै सानो, ठूलो, पावरमा भएको हैसियतले राखिदिएको कतै भेट्टाउन सक्नुहुन्छ भने खोज्न म अनुरोध गर्न चाहन्छु । मैले उहाँसँग विवाह गरेको ३७–३८ वर्ष भयो । उहाँ चारपल्ट प्रधानमन्त्री हुनुभयो, गृहमन्त्री र परराष्ट्र मन्त्री हुनुभयो । तर, एकजना मान्छेलाई एउटा सानो पोष्टमा पनि हामीले पदको दुरुपयोग भनौं, सदुपयोग भनौं– गरेर राख्ने गरेको छैन ।
अर्को कुरा, कस्तो कस्तो माग लिएर आउँछन् भन्ने कुरा पनि आयो ।
मसम्म त खास त्यस्तो माग पनि आउँदैन । किनभने, मैले केही पनि गर्दैैन भन्ने सबैलाई थाहा छ । म कडा छु भन्ने पनि मान्छेलाई थाहा छ । मेरो अगाडि कोही पनि मान्छे यसो गरिदेउ, उसो गरिदेउ भनेर आउँदैन ।
हामीतिर आउनका लागि मान्छे खोज्दै खोज्दै हिँड्दा रहेछन् । कसलाई भन्यो भने त्यहाँ भित्र जान सकिन्छ, त्यहाँ कुरा पुर्याउन सकिन्छ भनेर खोज्दै हिँड्ने मान्छे छन् । खासगरी मेरो माइती पक्षका मान्छेहरुलाई, मेरो भाइ, बहिनी, ज्वाइँहरुलाई त्यसरी दुःख दिन आउने मान्छे छन् ।
मेरो स्वभाव थाहा पाएको हुनाले उनीहरुले मलाई भन्न आउन त सक्दैनन् । हुँदाहुँदा कतिसम्म भयो भने, एउटा बहिनी र ज्वाइँ गाउँमा बस्न नसकेर अर्को गाउँमा आएर बस्नुपर्यो । उनीहरु त्यस्तो लप्पन–छप्पन जान्ने, कुराकानी गरेर थामथुम पार्न जान्ने खालका होइनन् ।
घरतिरको त म भन्न सक्दिनँ । तर, मेरो माइतीतिरको कुरा गर्नुहुन्छ भने हामी यति इमानदार, यति सोझो र खाली आफ्नै काम गर्यो, खायो बस्यो भनेजस्तो । न कुनै लोभ, न कुन के…न के । हाम्रो आजसम्मको नेचर त्यस्तो छ ।
शायद पहिलोचोटि प्रधानमन्त्री हुँदा, मेरो कान्छी बहिनी स्टाफ नर्स छ, प्रसुति गृहमा । ऊ अफिसबाट साँझखेरी कुनै क्लिनिकमा काम गर्दिरहिछन् । त्यहाँ जान हतार भयो भनेर ट्याक्सी चढेर गइन् । त्यो ट्याक्सी ड्राइभरले ‘केपी ओली भन्ने मान्छे यस्तो, उस्तो । उसले त सारा आफ्ना आफन्तलाई गाडी सुविधा दिएको छ’ भन्दै बकबक गर्दै गएछ ।
मेरो बहिनीलाई यति रिस उठ्यो रे कि, उसैले चढेको गाडीमा केही बोल्न पनि भएन । सहँदै सहँदै गन्तव्यमा पुगेपछि ट्याक्सीबाट झर्ने बेलामा ड्राइभरलाई गाली गरेर आएँ भन्थिन् ।
‘मैले हुँ केपी ओलीकी साली, म तिम्रै ट्याक्सीमा आउँदैछु, कहाँबाट हामीले सुविधा पाएको छ ? हामीले सुविधा पाएको भए म तिम्रो ट्याक्सी चढ्नुपर्छ र ?’ भनिन् ।
यस्तो कहानीहरु थुप्रै छ ।

Leave a Reply