केन्द्रको निर्देशनविपरीत जनजाति महासंघ जापानको महधिवेशन, गुरुङ समाजको आपत्तिपछि विवाद

टोकियो । नेपाल आदिवासी जनजाति महासंघको घटक संगठन तमू  धि र गुरुङ समाज जापानमध्ये को आधिकारिक भन्ने विवादले जापनको नेफिन महाधिवेशन विवादमा परेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १९औं महाधिवेशनको सम्पूर्ण क्रियाकलापहरू रोक्न माग गरेको छ । महाधिवेशनको अन्तिम चरणको प्रक्रियामा गम्भीर विवाद उत्पन्न भएपछि गुरुङ समाज जापानले महाधिवेशनको प्रक्रिया रोक्न माग गरेको हो ।

विधानसम्मत रूपमा उम्मेदवारी दर्ता गराउँदा पनि नेफिन जापानको निर्वाचन समितिले गुरुङ समाज जापानको उम्मेदारीता दर्ता गर्न अस्वीकार गरेको भन्दै आपत्ति जनाएको हो ।

नेफिन जापानमा पछिल्लो समय तमु धीं जापान र गुरुङ समाज जापानको विवाद नेफिनमा आएर अड़किएको छ । गुरुङ समाज जापानले तमू ह्युल छोँज धिको केन्द्रीय कार्यालयबाट नेपालबाट नै आधिकारिकता पाएको छ ।

समाजले नेफिन जापानको सदस्य संस्थाको टुंगो लगाएर मात्र महाधिवेशनको क्रियाकलापहरू गर्न समाजले अपिल गरेको छ । आदिवासी जनजाति महासंघ केन्द्रले समाजलाई मान्यता दिँदा दिँदै पनि जापान शाखाले अन्यथा गरेको भन्दै विवाद उत्पन्न भएको हो ।

समाजले यस कार्यलाई नेफिनको विधान, नियमावली र आदिवासी जनजाति आन्दोलनकै उपहास भएको टिप्पणी गरेको छ ।

गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्– नेफिन जापानको अध्यक्ष, सचिव र सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिनका लागि सम्पूर्ण प्रावधान पूरा गरी तोकिएको दस्तुरसहित विधिवत् मनोनयन दर्ता गराएको थियो । तर, भोलिपल्ट निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्न असमर्थ भएको लिखित जानकारी दिइएको छ ।

गुरुङ समाज जापानले आफू तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, नेपालको आधिकारिक जापान शाखा भएको र उक्त मातृसंस्था नेफिन नेपालको विधानको अनुसूची ६ को ७ नम्बरमा उल्लिखित सदस्य संस्था रहेको स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ– नेफिन नेपालको प्रवास संगठनको नियमावली २०७९ को दफा ४ को उपदफा ‘क’ मा ‘विदेशस्थित महासंघहरूको हकमा नेपालमा आदिवासी जनजाति महासंघ आबद्ध अनुसूची ७ मा उल्लिखित जातीय संगठनहरू मातृसंस्था मानी सोही मातृसंस्थाले आधिकारिकता प्रदान गरेको जातीय सदस्य संगठनलाई विदेशस्थित आदिवासी जनजाति महासंघमा आबद्धताको लागि योग्य मानिनेछ यस संवैधानिक व्यवस्थाअनुसार गुरुङ समाज जापान नेफिन जापानमा आबद्ध हुन र निर्वाचनमा भाग लिन पूर्णतः योग्य रहेको तर नेफिन जापानले उम्मेदवारी अस्वीकार गर्नु नेफिनको विधान २०६७ र उक्त विधान अन्तर्गत बनेको नियमावलीविपरीत भएको ठहर समाजको छ । तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आधिकारिक जापान शाखाको रूपमा गुरुङ समाज जापान हो भन्ने प्रमाण र कागजातसमेत नेफिन जापान सचिवालय र अध्यक्षसमेतलाई आधिकारिक रूपमा पटकपटक जानकारी गराइसकेका छौं ।’

नेफिन जापानको यस कदमले मातृसंस्था नेफिन केन्द्रलाई नै अपमान गरेको र समग्र आदिवासी जनजाति आन्दोलनमाथि नै प्रहार गरेको गुरुङ समाजले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘नेपाल आदिवासी जनजाति महासंघ जापानमा आदिवासी जनजाति आन्दोलन विरोधीहरूको कब्जा त भएको छैन ? नेफिन जापानलाई गलत मनसाय र उद्देश्यमा प्रयोग त गरिएको छैन ?’

नेफिन जापान शाखालाई नेपाल संघीय परिषदले समेत प्रवास संगठनको दफा ५ को उपदफा ख बमोजिम विवाद समाधान नगरी महाधिवेशन गरे वैधानिकता नदिने गरी पत्र पठाएको छ ।

यसैबीच आदिवासी जनजाति महासंघका बरिष्ठ उपाध्यक्ष तथा विदेश विभाग प्रमुख बुद्ध घर्तीले घटक संगठनको केन्द्रीय समितिले आधिकारिकता दिएको संगठन नै महासंघले मान्यता दिने बताए । गुरुङ समाज जापानलाई तमू ह्युल छोँज धिले आधिकारिकता दिएकाले उक्त संगठनको सहभागिता नभएको अधिवेशनले मान्यता नपाउने उनले बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *