जादुगर सर, जादु देखाउनू भन्दै पछि लाग्न थाले विद्यार्थी !

वीरगञ्ज । शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं गएका पर्सा जिल्लाका शिक्षक देवेन्द्रप्रसाद साह कानु जादु देखाएर भाइरल बने । मागहरूका ‘प्लेकार्ड’ बोक्ने हातमा देवेन्द्रसँग जादुका लागि सामान हुन्थ्यो ।

२९ दिनसम्म चलेको आन्दोलनको क्रममा उनले डेढ सयभन्दा बढी जादु देखाए । उनको जादु कला हेर्न शिक्षकहरू वरपर झुम्मिन्थे । पत्रकार र युट्युवरको पनि दिनहुँ ताती लाग्थ्यो । देशभरबाट आएका सहपाठीहरू उनलाई जादु देखाउन तारन्तार अनुरोध गर्थे । उनीसँग सेल्फी खिच्न पनि पालो कुर्थे ।

शिक्षक आन्दोलनको क्रममा बिजुलीबजारमा देखाएको जादुले उनी अहिले ‘सेलिब्रेटी’ जस्तै बनेका छन् । हिजोआज त विभिन्न महोत्सव, विद्यालयको कार्यक्रममा जादु देखाउन उनलाई निम्त्याइन थालेको छ ।

‘काठमाडौंमा देखाएको जादुले देशभरका मान्छेले मलाई चिने, मेरो जिल्लामा आइदिनुपर्‍यो सर प्रोग्राम छ भन्दै दिनदिनै फोन आउँछ । तर, पूर्णकालीन शिक्षक परियो, कहाँ जान भ्याउनू ?’, साहले सुनाए ।

जादुको ज्ञान भारतीय गुरुबाट

२०५० सालतिरको कुरा हो । देवेन्द्र गाउँकै विद्यालयमा कक्षा ८ मा पढ्दै थिए । एक दिन एक भारतीय जादुगर जादु देखाउँदै गाउँमा आए । पहिलोपटक जादु हेरेका उनलाई रमाइलोसँगै कौतुहल जाग्यो । त्यो रात जादुगर उनकै गाउँमा बसे । साह जादुगर बास बसेको घरमा पुगे र जादुकला बारे जिज्ञासाहरू राख्न थाले ।

आफ्नो जादु सिक्ने भोक देखेर उतिबेलै ती भारतीय ६ वटा जादु कला सिकाएको उनी सम्झिन्छन् । छिटो सिकाइले गुरु प्रभाति भएर अरु पनि जादुकला सिकाउने आश्वासन दिए ।

जादुगर गुरु भारत फर्किए, शिक्षक साहलाई अझै धेरै जादुकलाको ‘भूत’ चढ्यो । उनले आफैँले अभ्यास गरेर दुई हजार जति कला सिकेको बताए ।

पेशा शिक्षण, रुचि जादु

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका-५ निचुटा, मनिहर्वा घर भएका देवेन्द्रप्रसाद साह कानु पेशाले शिक्षक हुन् । २०६६/६७ मा राहत शिक्षक कोटामा आफू एसएलसी उत्तीर्ण गरेकै विद्यालय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटामा नियुक्ति लिए । स्वास्थ तथा शारीरिक शिक्षा र सामाजिक शिक्षामा अध्यापन गराउँदै आएका ४७ वर्षीय शिक्षक साह करिब ३ दशकदेखि जादुकला देखाउँदै आएका छन् ।

कक्षा ८ देखि सुरू भएको उनको जादुकला प्रदर्शन गर्ने यात्रा स्नाकोत्तर पढ्दासम्म र अहिले शिक्षक हुँदासम्म चलिरहेको छ । एसएलसी दिएर गाउँबाट करिब २५ किलोमिटर टाढा वीरगञ्जमा उच्च शिक्षा पढ्न आए । जादुमा पोख्त भइसकेका साह ठाकुरराम बहुमुखी क्याम्पस पढ्दा कक्षाकोठामा साथी र शिक्षकहरूलाई बेलाबेला जादु देखाइ बस्थे ।

निचुटादेखि वीरगञ्जसम्म विद्यालय-क्याम्पसको कुनै कार्यक्रम, बिहे-बटुलो, सांस्कृतिक कार्यक्रममा उनको खोजी हुन्थ्यो । उनको जादुले कुनैपनि कार्यक्रममा चारचाँद लगाउँथ्यो ।

शिक्षक, साथीभाइको प्रशंसाले आफू झन् उत्साहित हुने र अझ बढी जादुका आइटम सिक्ने देवेन्द्र सुनाउँछन् । शिक्षण पेशाले बुवा, आमा, श्रीमती र दुई छोराको जीविका चलाउन र पढाइ खर्च पुगिरहेको उनी बताउँछन् ।

‘विद्यालय छुट्टीको दिन बोलाएको ठाउँमा जादु देखाउन जाने र त्यहाँबाट अलि अलि कमाइ हुने उनले बताए । पैसा आउँछ’, उनी भन्छन्, ‘जादु देखाएर आउने पारिश्रमिकबाट घर परिवार चलेको छ । गाउँमा र वीरगञ्जमा घर जोडेको छु । शिक्षण पेशाले मात्र कहाँ हुन्थ्यो यो सब ।’

शिक्षक पेशाले घरपरिवार चलाउन सजिलो भएको उनी बताउँछन् ।

‘शिक्षण पेशाले मेरो घर चलेको छ । अझ १२-१३ वर्ष जागिर छ । अवकाश पाएपछि जादुकलालाई अझ व्यवसायिक बनाउने विचार छ’, उनले योजना सुनाए ।

जादु देखाएको निश्चित पारिश्रमिक नतोकेको अरुले इच्छाले जति दिन्छन् हात थाप्ने गरेको देवेन्द्रको भनाइ छ । ‘कहिले काहीँ आयोजकले सोचेभन्दा बढी नै पैसा दिन्छन्’, उनी सम्झिन्छन् ।

क्षणिक रुचिले जादु नसिकिने र निरन्तरको अभ्यास चाहिने उनको अनुभव छ । कहिँकहिँ दर्शकले उनलाई जादु सिकाइदिन आग्रह गर्छन् ।

दुई हजारभन्दा बढी कला सिकेको बताउने देवेन्द्रले निरन्तर तीन-चार सय प्रकारको जादु देखाउने गरेका छन् । ठूला-ठूला जादु देखाउन जनशक्ति र व्यवस्थापकीय पक्ष मजबुत हुनुपर्ने उनको भनाइ छ ।

‘जादुले म मान्छेलाई गायब गर्दिन सक्छु, बाख्रालाई बाघ बनाइदिन सक्छु, तर त्यसका लागि जनशक्ति र राम्रो व्यवस्थापन हुनुपर्छ ’, उनी भन्छन् ।

पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन, धनुषा र भारतका केही ठाउँ पुगेर उनले जादुकला प्रस्तुत गरिसकेका छन् । काठमाडौंको शिक्षक आन्दोलनमा ‘एक्सपोज’ भएपछि अहिले देशभरबाट फोन कल आइरहेको साह बताउँछन् ।

‘अहिले पनि विद्यालयमा मलाई देख्ने बितिकै जादुगर सर, जादुगर सर भन्दै जादु देखाउन विद्यार्थीहरू पछि लाग्ने गरेका छन्’, उनी भन्छन्, ‘सामान्य जादु त देखाइदिन्छु तर ठूलाठूला र नयाँ-नयाँ जादु देखाउन सामग्रीको अभाव छ ।’

लगानीको अभावले सानोसानो जादुमात्र देखाउने गरेको र पेशाकै रूपमा यसलाई अँगाल्न नसकेको देवेन्द्र बताउँछन् ।

‘टीम बनाएर जादु पेशातिर पनि लाग्ने इच्छा छ, तर यहाँ टीम बनाउन गाह्रो छ । एक/दुई दिन कोही आउँछन्, त्यसपछि गायब हुन्छन् । अहिले मलाई जिल्ला-जिल्लाबाट महोत्सवमा जादु देखाउन बोलाउने गर्नुहुन्छ ।’

जादुकला के हो ?

उनी भन्छन्, जादु भ्रम र चमत्कार हो । ‘मानिसलाई रहस्यको पोको खोलेर देखाउन सजिलो छैन । अनेक ट्रिक्स लगाउनुपर्छ । जादु देखाउन तन्त्रको बढी आवश्यकता पर्छ, तन्त्र भनेको तरिका हो, जुनसुकै जादुगरले जादु देखाउनुहुन्छ भने तन्त्रको ज्ञान लिएकै हुन्छ, तरिका सिको गरिएन भने जादु देखाउन सकिँदैन । अहिलेसम्म मैले कागजबाट रूपैयाँ, रुमालको रंग बदल्ने, कागज जलाएर परेवाजस्ता जादु देखाएको छु’, साह भन्छन् ।

मजाक उडाउँदा फरक पर्दैन

जादुकला देखाएर प्रशंसामात्र नपाएको उनको अनुभव छ । कहिले काहीँ साथीभाइले उनको जादुको मजाक पनि उडाउँछन् । शिक्षक भएर पढाउने भन्दा पनि जादुमै बढी ध्यान दिएको भन्दै मजाक उडाउने गरेको उनले बताए ।

‘म पढ्नमा पनि राम्रो थिएँ, जहिले पनि कक्षामा दोस्रो हुन्थेँ । पढाउन पनि विद्यार्थीहरूलाई राम्ररी पढाउँछु, आजसम्म कुनै गुनासो आएको छैन । तर, पनि कहिले काहीँ यस्तो नराम्रो सुन्नुपरेको छ । यसले मलाई खासै फरक पार्दैन’, उनी भन्छन्, ‘कसैसँग रिसराग राख्दिन् जोसँग जति ज्ञान छ त्यति नै बल्छ । यही सम्झेर आफूलाई सम्हाल्छु ।’

‘आन्दोलनको क्रममा दिनदिनै दर्जनौ पत्रपत्रिका, टेलिभिजन र अनलाइन माध्यममा अन्तर्वार्ता दिन भ्याई-नभ्याई हुन्थ्यो, अहिले पनि वीरगञ्जमा कुनै न कुनै मिडियाले बोलाइरहन्छ । सामाजिक सञ्जालमा फलोअर्स बढेका छन्, मलाई यति माया गर्ने मान्छे भएपछि केको तनाव नि !’, उनी भन्छन्, ‘मेरो अन्तर्वार्ताहरूमा मिलियनको मिलियन भ्यू गएको छ । साथीभाइ, विद्यार्थीहरू, शिक्षकहरूले राम्रो रेस्पन्स गर्नुहुन्छ, म यसमै खुसी छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *