इनरुवा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौँमा सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।
सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपूर्ण भद्र अवज्ञाको रूपमा अघि बढ्ने दाबी गरे । ‘निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र मान्दिन धर्म निरपेक्षता मान्दिन भन्ने अधिकार संविधानले नै दिएको छ, धारा २७४ ले यसको विकल्प खोज्ने अधिकार स्वीकार गरेको छ , गणतन्त्रको विकल्प खोज्ने कुरा संविधान विरोधी होइन’ उनले स्पष्ट पारे ।

अनावश्यक हस्तक्षेप गर्ने ,बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काममा सरकारले समय बर्वाद नगरोस् भन्दै अहिलेको कुशासन र भ्रष्टाचारको विरुद्धमा जनता जागिसकेको उनको जिकिर थियो ।‘यो राष्ट्रवादी आन्दोलन हो, नेपाल र नेपाली जनताको हितको लागि नेपाली जनता मिलेर गर्न लागेको आन्दोलन हो, कुनै विदेशी प्रभाव र उक्साहट छैन’ थापाले थपे , मुलुक युबाहिहिन भइसक्यो , भ्रष्टाचारको आहालमा देश चुर्लुम्म डुबेको छ, सिङ्गो गाउँका गाउँ धर्म परिवर्तनको चपेटामा छ , बेरोजगारी र कुशासन भनिसाध्य छैन , यस्तो बेलामा जनताले विकल्प खोज्छन् ’
जनतालाई रोक्ने दुष्साहस कतैबाट नहोस् भन्दै थापाले संवाद र सहमतिमा पनि निकास खोज्न सकिने भएकोले गणतन्त्रबादिहरुलाई सहमतिको बाटोमा आउन समेत थापाले आमन्त्रण गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य सुनसरी जिविसका पूर्व जिविस सभापति रमेश श्रेष्ठ , इनरुवाका पूर्व उपमेयर माधव पोखरेल लगायत दर्जनौँ व्यक्तिहरू राप्रपा नेपाल प्रवेश गरेका थिए ।
आन्दोलन तयारीको क्रममा थापा जिल्ला दौडाहामा छन् । कार्यक्रममा नेताहरू तारानाथ लुइँटेल , तेज कुरुङ्वाङ, वल्लभ दाहाल, माधव आचार्य , रामबिलास मेहता लगायतले बोलेका थिए ।

Leave a Reply