शाखा अधिकृत सस्मिताको व्यहाेरा- सापटी माग्दै, पच पार्दै

विराटनगर । इटहरी उपमहानगरपालिकामा शाखा अधिकृतको रूपमा कार्यरत सस्मिता लुइँटेल आर्थिक लेनदेनको गम्भीर विवादमा मुछिएकी छन् । सापट खाएर नतिरेको भन्दै उजुरीको ओइरो लागेपछि उनी एक महिनादेखि कार्यालयसमेत गएकी छैनन् ।

सस्मिताले व्यापारी, ठेकेदार र सर्वसाधारणसँग ६ करोड रुपैयाँभन्दा बढी सापट लिएर पच पार्न खोजेको आरोप लागेको हो । झापादेखि सुनसरीसम्मका व्यक्तिहरु उनीविरुद्ध उजुरी÷गुनासो लिएर प्रहरी प्रशासनमा धाइरहेका छन् । रकम फिर्ता पाउनका लागि इलाका प्रहरी कार्यालयमा उजुरीका साथै झापा र सुनसरी जिल्ला अदालतमा मुद्दा समेत दर्ता भएको छ ।

सस्मिता झापाको अर्जुनधारा नगरपालिकाबाट गत भदौ ६ गते इटहरी उपमहानगरपालिका सरुवा भएर आएकी हुन् । उनी अहिले वडा नम्बर १७ र २० को वडा सचिवका रूपमा कार्यरत रहेकोे इटहरी उपमहानगरपालिकाले जनाएको छ । तर, उनी एक महिनादेखि कार्यालयमा उपस्थित नभएको इटहरी उपमहानगरपालिकाको कर्मचारी प्रशासन शाखा प्रमुख दीपक पौडेलले जानकारी दिए । सस्मिताबाट ठगिएको भनेर सयौं गुनासोहरु आइरहेको पनि उनले बताए ।

पौडेलले भने, ‘हामीकहाँ आएका गुनासोहरू सय नाघिसकेका छन् । ५ लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म ठगिएको कुरा छ ।’

पौडेलका अनुसार अहिले सस्मिता विदा स्वीकृतबिनै एक महिनादेखि कार्यालयमा आएकी छैनन् ।

उनले भने, ‘प्रशासनको कर्मचारी भएका कारण प्रशासन शाखामा हुनुहुन्छ । उहाँले वडा सचिवको जिम्मेवारी ननिभाएपछि प्रशासनमा तानिएको हो ।’

सुनसरीको दुहबी घर भएकी सस्मिता पहिलो पटक अर्जुनधारा नगरपालिकामा नियुक्त भएकी थिइन् । त्यससँगै उनले व्यापारी, ठेकेदार र सेवाग्राहीसँग रकम सापटी माग्न थालेकी हुन् । झापा अर्जुनधारा नगरपालिका–८ की अर्की पीडित सस्मिताले आफूसँग २० लाख रुपैयाँ सापटी लगेको बताउँछिन् ।

श्रीमानलाई पैसा चाहिएको भन्दै सापटी मागेको र अहिलेसम्म फिर्ता नगरेको उनको भनाइ छ ।

उनले भनिन्, ‘पटकपटक रकम फिर्ता गर्छु भनेर कागज गरेकी छन्, तर अहिलेसम्म फिर्ता भएको छैन ।’

उनीसँगै स्थानीय कुमारी भण्डारीको पनि ९ लाख रुपैयाँ सस्मिताले चलाएकी थिइन् । उनले रकम फिर्ता नपाएपिछ कुमारीले झापा जिल्ला अदालतमा मुद्दा हालेकी छन्, जुन विचाराधीन अवस्थामा रहेको छ । अर्जुनधारामा मात्रै सस्मिताले विभिन्न व्यक्तिको ३ करोड रुपैयाँभन्दा बढी तिर्नुपर्ने देखिएको कुमारीले दाबी गरिन् ।

इटहरीका मोहन दंगालको नयाँ व्यवसायका लागि सर्जमिन गराउनु थियो । थोरै पैसा हातमा थियो । कार्यालयकै कर्मचारीले दुख पोखेर पैसा मागेपछि दंगालले भावुक भएर अढाइ लाख रुपैयाँ सापटी दिए ।

उनले भने, ‘जिम्मेवार सरकारी कर्मचारीले ठग्लिन् भन्ने लागेको थिएन । तर अहिलेसम्म पनि पैसा फिर्ता आएन ।’

इटहरी लबीपुरका व्यवसायी विपिन भट्टराईले सँगै पढेकी सस्मितालाई २४ लाख रुपैयाँ दिएका थिए । खोलाको ठेक्का पाउने आश्वासनमा सो रकम दिएको उनी बताउँछन् ।
उनले भने, ‘न खोला ठेक्का पाएँ, न त दिएको रकम नै फिर्ता भयो ।’

सस्मिताले आफ्नो खातामा मात्र नभएर अरूको खातामा पनि पटक–पटक पैसा हाल्न लगाएको उनले बताए ।

स्वास्थ्य चौकी खनारमा कार्यरत विकास पौडेलसँग सस्मिताले ४ लाख ५० हजार लिएकी थिइन् । उनले विकासलाई चेकसमेत दिएकी थिइन् । खातामा पैसा नभएर चेक साटिएको छैन । उनी अहिले प्रहरी र अदालत धाइरहेका छन् ।

को हुन् सस्मिता ?

सस्मिता लुइँटेलको माइती सुनसरीको दुहबीमा हो । उनी सानै छँदा बुबाको मृत्यु भएको थियो । सस्मिता मावलीमा हुर्किए पनि उनको माइती भने अहिले पनि दुहबीमा नै छ । नजिकबाट चिन्नेहरूका अनुसार उनको माइती पक्षको आर्थिक स्थिति त्यति राम्रो छैन ।

उनको विवाह दुहबी ८ मा भएको हो । श्रीमान् भुवन केसी केही समयअघिसम्म एउटा गैरसरकारी संस्थामा काम गर्थे । ससुरा भने नेकपा एमाले सुनसरीका जिल्ला सदस्य हुन् । यसअघिको निर्वाचनअघिसम्म उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । ०७९ को निर्वाचनमा वडा अध्यक्षको टिकट नपाउने पक्का भएपछि उनी एमाले प्रवेश गरे ।

सस्मिता अधिकृत भए पनि परिवारको आर्थिक हैसियत खासै गतिलो देखिँदैन । घर एकदमै सामान्य छ । करोडौं रकम सापट लिएर सस्मिताले केमा प्रयोग गरिरहेकी छिन् भन्ने अर्को कौतुहलको विषय हो । किनकी बाहिरबाट हेर्दा कुनै धनसम्पत्ति जोडेको देखिँदैन । परिवार स्रोतका अनुसार उनले सापटी रकमका बारेमा केही पनि बताएकी छैनन् ।

यसअघि अर्जुनधारामा छँदा उनी श्रीमानसहित बस्थिन् । इटहरीमा सरुवा भएपछि पनि उनी परिवारसहित इटहरीमै डेरा लिएर बस्न थालिन् । परिवारमा अंशबण्डा भइसकेको छ । ०७९ साल माघमै उनका ससुराले छोरा–बुहारीलाई अंश दिएको परिवार स्रोतले बतायो ।

सापटी नतिरेको विषयमा सस्मितासँग बुझ्न खोज्दा उनको फोनमा सम्पर्क हुन सकेन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *