डोटी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको तागत नपुगेका कारण दिपायल राजधानी हुन नसकेको जिकिर गरेका छन् ।
जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत डोटीमा भएको कार्यक्रममा उनले माओवादी केन्द्रको एजेन्डामा सुदूरपश्चिमको राजधानी डोटीमै बनाउने रहेको, तर बाध्यताले राजधानी सरेको बताए ।
‘ऐतिहासिक विरासत बोकेको डोटी जिल्ला बाइसे–चौबीसे राज्यकालमा सभ्यता र संस्कृतिको प्रतीकका रुपमा शक्तिशाली राज्य हुँदै कहिले विकास क्षेत्र त कहिले प्रदेशको केन्द्रका रुपमा आफ्नो इतिहास र गौरवलाई स्थापित गर्दै आएको थियो’, उनले भने, ‘राजधानी कैलाली भैसकेपछि डोटी छायाँमा पर्ने हो कि ? विकास निर्माणका दृष्टिले पनि डोटी र यहाँका जनताको भूमिका कमजोर पारिने हो कि भन्ने जनताको प्रश्न जायज छ ।’
विस्तृत शान्ति सम्झौतापछि डोटीको दिपायल पुगेर आफूले बोलेको कुरा सम्झँदै प्रचण्डले भने, ‘डोटी नै सुदूरपश्चिम प्रदेशको केन्द्र हुने र मेरो त्यसमा सहयोग हुने भने तापनि हाम्रो कुनै केही नचलेर अन्ततः प्रदेशको केन्द्र धनगढी कैलाली हुन पुग्यो ।’
उनले अखण्ड सुदूरपश्चिमको एजेन्डाका कारण आफ्नो पार्टीको एजेन्डा फेल भएको बताए ।
माओवादी केन्द्रले साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका ७ पहाडी जिल्लामात्रैको एक प्रदेश बनाउने र सोको राजधानी दिपायल राख्ने प्रस्ताव अघि सारेको थियो । सो एजेन्डामा तत्कालीन माओवादीकै एक समूहले विरोध गर्दै अखण्ड सुदूरपश्चिमको पक्षमा लागेको थियो ।
खुटिया–दिपायल–चैनपुर द्रुतमार्ग आफूले सुरु गरेको प्रचण्डको दाबी थियो । उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिमको विकासको लाइफलाइनको रुपमा रहेको उक्त द्रुतमार्गको थालनी गरेको बताए ।
उनले सुदूरपश्चिम विश्वविद्यालय, महाकाली कोरिडोर, दोधारा-चाँदनीमा सुख्खा बन्दरगाह, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको प्रस्ताव पनि आफैंले ल्याएको बताए ।
सुदूरपश्चिममा सबैभन्दा ठूला परियोजना ल्याउने पार्टी माओवादी केन्द्र नै रहेको प्रचण्डको दाबी थियो ।

Leave a Reply