प्रकृतिसँग मन जोड्नसके मानिसले जिउँदै स्वर्गीय आनन्द प्राप्त गर्नसक्छ । बाल्यकालदेखि नै म प्रकृतिप्रेमी थिएँ । १६ वर्षे उमेरमा पहिलो पटक अन्नपूर्ण बेसक्याम्प (एबीसी) पुगेको थिएँ । त्यसबेला एउटा पर्यटकको भारी बोकेर गएको थिएँ । अन्नपूर्णका हिमालसँग मेरो पहिलो भेट त्यसै बखत भएको थियो । सन् १९९९ मे महिनाको थियो त्यो भ्रमण ।
भरियाबाट म पथप्रदर्शक बनेँ । अन्तिम पटक सन् २००४ मा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किएको थिएँ । त्यतिबेला बास बस्ने लज थियो अन्नपूर्ण सेन्चुरी लज । म जहिले जाँदा पनि त्यही बस्थेँ । मेरा पाहुनाहरूलाई त्यही बस्न अनुरोध गर्थें । अन्नपूर्ण सेन्चुरी लज बेसक्याम्पका सुरुवाती लजहरूमध्ये एक हो । त्यस लजका सञ्चालक जेबी गुरुङ आज पनि मेरो सम्झनामा छन् । उनले कहिल्यै पाहुनाको व्यवहार गरेनन्, सधैँ दाजुभाइको झल्को दिए ।

२१ वर्षपछि केही दिनअघि म फेरि त्यही अन्नपूर्ण बेसक्याम्प पुगेँ । एक खुड्किलो के उक्लेको थिएँ, पहिलो नजर त्यही लजमा पर्यो । आफ्नै घरमा जसैगरी सरासर भित्र छिरेँ । लजभित्र छिर्दा, जेबी गुरुङ पुरानै मुस्कानसहित पाहुनासँग हिसाब गर्दै थिए । मलाई देख्नेबित्तिकै हर्षित अनुहारले स्वागत गरे । कपाल फुलेको थियो, तर व्यवहार उस्तै । त्यो क्षण एक किसिमको आत्मीय पुनर्मिलन जस्तै थियो । बेस्कन अँगालोमा कसियो एक अर्कालाई । रगतको नाताभन्दा भावनाको नाता बलियो हुन्छ भनेको सत्य हो जस्तो लाग्छ ।

त्यसपछि म चुपचाप फोटो खिच्ने स्थानतर्फ लागेँ । ठिङ्ग उभिएर अन्नपूर्ण साउथ र माछापुच्छ्रेलाई हेर्दै थिएँ । लाग्यो– अन्नपूर्ण वनले नै मलाई सोध्यो, ‘होइन, बल्ल मेरो याद आयो ?’ माछापुच्छ्रे मलाई ढिलो आइपुगेकोमा थोरै रिसाए झैँ लाग्यो र अन्नपूर्ण साउथले भने हल्का मुस्कानसहित स्वागत गरे जस्तो लाग्थ्यो । हिमचुली र सिंगचुली हर्षित देखिन्थे । यो क्षण जिन्दगीमा कहिल्यै बिर्सन नसक्ने खालको थियो ।
हिमालका हिउँहरू पग्लिरहेका छन् । ग्लोबल वार्मिङको असर स्पष्ट देखिन्छ । यसमा हाम्रो दोष कम भए पनि क्षति भने हाम्रो हो । यदि यस्तै रहिरह्यो भने भोलिका पुस्ताले ‘हिमालमा हिउँ थियो’ भन्ने कथामात्र सुन्नेछन्, देख्न पाउने छैनन् ।
यात्रामात्र थिएन यो, आत्मा र प्रकृतिबीचको पुनः साक्षात्कार थियो, तर २१ वर्षको अन्तरालमा मैले केही दुःखद परिवर्तन पनि देखेँ । हिमालका हिउँहरू पग्लिरहेका छन् । ग्लोबल वार्मिङको असर स्पष्ट देखिन्छ । यसमा हाम्रो दोष कम भए पनि क्षति भने हाम्रो हो । यदि यस्तै रहिरह्यो भने भोलिका पुस्ताले ‘हिमालमा हिउँ थियो’ भन्ने कथामात्र सुन्नेछन्, देख्न पाउने छैनन् ।
यो यात्रामा बंगलादेशका ट्रेकरहरू पनि भेटिएँ । २० वर्षअघि एसियाली पदयात्रु कम देखिन्थे । आज भारत र बंगलादेशबाट उल्लेखनीय संख्यामा पर्यटक आइरहेका छन् । मसँगै अन्नपूर्ण बेसक्याम पुगेका पोल्यान्डका डाक्टर रेडेकले भने, ‘म संसारका धेरै स्थान घुमेँ, तर यो ठाउँमा जसरी हिमालको नजिक कहिल्यै पुगेको थिएन । आजको दिन मेरो जीवनको अविस्मरणीय दिन हो । म फेरि फर्कनेछु ।’

यही हो हाम्रो सम्पत्ति, हाम्रो हिमाल, हाम्रो प्रकृति । विदेशीहरू बारम्बार नेपाल फर्किन्छन्, तर हामी नेपाली भने विदेश लाग्नेबित्तिकै फर्किन बिर्सन्छौँ । अभिनेता सोनु सूदको भनाइ यहाँ अत्यन्त सान्दर्भिक लाग्छ– ‘देश बुझ्नेलाई सबैथोक, नबुझ्नेलाई केवल दुई शब्द ।’ देश घुमौँ, प्रकृतिसँग रमाऔँ । हिमाल जोगाऔँ, भविष्यका पुस्तालाई देख्न दिऔँ । नेपाल जस्तो सुन्दर देश संसारमा छैन, त्यसको म एउटा साक्षी आफैं पनि हुँ ।


Leave a Reply